मकवानपुर । मंसिर १८ गते शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उप–सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेत र महर्जन क्रमशः १ हजार ५९ र १ हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन् ।
उक्त पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेकामध्ये धर्मराम गौतम १ हजार ४ र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मत प्राप्त गरी पराजित भएका छन् । यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे ९ सय ९५ र राजु श्रेष्ठ ९सय १० मतसहित विजयी भएका छन् । सो पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जसमा माइकल रामचन्द्र अर्याल ८ सय ९९, तिलकप्रसाद रुवारी ७ सय ६०, गौरीप्रसाद दवाडी १ सय ८८ र सुरेश श्रेष्ठ १ सय ६३ मतसहित पराजित भएका छन् ।
यस्तै, महिलातर्फकोे सह–महामन्त्रीमा जीवन डंगोल विजयी भएका छन् । उनी ९ सय ४९ मतसहित महामन्त्रीमा विजयी भएका हुन् । सो पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । जसमा निर्मला वस्तकोटी (निरु खड्का) ७ सय ८६ र मोतिमाया तामाङ २ सय १८ मतसहित पराजित भएका छन् । यसैगरी, खुल्लातर्फको सह–महामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् । उनीहरु क्रमशः ९ सय १६ र ८ सय ३९ मतसहित विजयी भएका हुन् ।
उक्त पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ ८ सय ३५, महेन्द्र थिङ ८ सय १, राजकुमार पाठक २सय १७, जगन्नाथ धिमाल १ सय ५४ र जयनारायण सापकोटा ८५ मतसहित पराजित भएका छन् । कांग्रेस बागमतीको सभापतिमा भने इन्द्रबहादुर बानियाँ जगदिश नरसिंह केसीलाई हराउदै विजयी भएका छन् ।

