मकवानपुर / अधिकारमाथी हस्तक्षेप गर्नु सबैभन्दा ठूलो हिंसा भएको सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय अध्यक्ष भारती पाठकले बताएकी छन् । कानुनमा दुरगामी सोच भए पनि व्यवहारमा त्यो नहुंदा ग्रामिण महिलाहरूमाथी शोषण भएको केन्द्रिय अध्यक्ष पाठकले बताइन् ।
महिलाले बचाएको वन, जोगाएको जलासय, जमिनमा महिलाकै निर्णय लागू नहुनु महिलाको माथीको शोषण भएको पाठकले बताइन् । “लैङ्गिक हिंसा विरुद्धको अभियान मनाईरहदा सामुदायिक वन जोगाउन लागिपर्दा दुख भोगेका महिलाको सवाल किन नउठाउने ? ” उनले प्रश्न गरिन ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत आज हेटौंडामा आयोजित जिल्ला स्तरीय कार्यक्रममा पाठकले यस्तो बताएकी हुन् । सरकारले सामुदायिक वनलाई बेवास्ता गर्नु, बजेट नछुट्याईनु पनि हिंसा भएकोले यसको विरुद्धमा पनि लाग्नुपर्ने पाठकले बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमुख भगवती पुडासैनीले महिलाहरूले अधिकार माग्ने हैन, समान हैसियत बनाउन लागि पर्ने बताइन् । पदमा पुगेर जिम्मेवारी निर्वाह गर्न सक्ने बन्न र निजि वनमा पनि महिलाको अधिकार सुनिश्चित गर्न एकजुट हुनुपर्ने पुडासैनीले बताइन् । सामुदायिक वन हुँदै राजनैतिक नेतृत्वमा पुग्नको लागि अग्रसर हुन उनले आग्रह गरिन ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडा सहायक वन अधिकृत वसन्त गौतमले स्रोत माथिको अधिकार उपभोग गर्न सक्दा हिंसा कम हुने बताए ।

यसैगरी कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश सचिवालय सदस्य रामहरि चौलागाईंले घरमा छोराछोरी बिचमा आमा बाबाले प्रदान गर्ने संरक्षकत्वले पनि हिंसा बढाएको बताए । बालबालिकाको हुर्काइ, लालनपालनमा हुने फरक व्यवहारले विभेद निम्तने उनले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति मकवानपुर र प्राकृतिक स्रोत महिला अधिकार सन्जालको सयुक्त आयोजनामा कार्यक्रम भएको सन्जालको राष्ट्रिय महासचिव आरती पाठकले बताइन् । हिंसा न्यूनीकरणमा पहल गरे परिवर्तन संभव भएको महासचिव आरती पाठकले बताइन् ।

