मकवानपुर । थाहा नगरपालिका हुप्रचौरमा जारी अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा थाहा नगरले भीमफेदी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता भएकाे हाे ।
थाहानगरलाई जीत दिलाउन खेलको ३५ औँ मिनेटमा रोशन बलले सुरुवाती गोल गरेको थिए । यस्तै दोस्रो हाफको पहिलो मिनेटमै सन्देश बलले गोल गर्दै थाहालाई २–० गोलको अग्रता दिलाएका थिए । भीमफेदीका सबिन गोलेले खेलको दोस्रो हाफमा गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । म्यान अफ द म्याच थाहाका गोलरक्षक निशान थापा घोषित भए ।
प्रतियोगिताको शनिबार हुने फाइनलमा हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिका बीचको विजेतासँग थाहानगरले प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल मंशिर २३ गते बिहिबार हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

