मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट ८ सय ७८ प्रतिनिधिले भाग लिने भएका छन् । प्रदेशका १३ जिल्लाबाट ८ सय ७८ जना महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका हुन् ।
काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार मकवानपुरबाट बाट ५२ जना प्रतिनिधि चयन भएका छन् । यस्तै दोलखाबाट २७ जना प्रतिनिधि चयन भएका छन् भने रामेछापबाट २७ जना, सिन्धुलीबाट ५२ जना , रसुवाबाट २७ जना प्रतिनिधि चयन भएका छन् । रसुवाबाट जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी खुलातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
यसैगरी धादिङबाट ५४, नुवाकोटबाट ५३ प्रतिनिधि चयन हुँदा काठमाडौंबाट २ सय ६६ प्रतिनिधि चयन भएका छन् । भक्तपुरबाट ५४, ललितपुरबाट ८२ जना प्रतिनिधि चयन भएका छन् । यसैगरी काभ्रेबाट ५३, सिन्धुपाल्चोक ५२ जना प्रतिनिधि चयन हुँदा ७९ जना चितवनबाट चयन भएका छन् । बागमती प्रदेशमा भएको प्रदेश अधिवेशनमा देउवा पक्ष विजयी भएको थियो । यसै साता सम्पन्न अधिवेशनमा देउवा पक्षका इन्द्र बहादुर बानियाँ विजयी भएका हुन् ।

