मकवानपुर । मकवानपुरकाे हेटौंडामा राष्ट्रिय नवसर्जक उत्सव हुने भएको छ । नवसर्जक उत्पादन तथा पठन तथा लेखन संस्कृतिको विकास गर्ने उद्देश्य उत्सव आयोजना गर्न लागिएकाे हाे ।
आयोजक नवसर्जक साहित्य चौतारी नेपालले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आगामी ९–१० फागुन मा हेटौंडामा राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशनको हुने जनाकारी दिएकाे छ । कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले साहित्य क्षेत्रमा नयाँ पुस्तालाई जोड्न उत्पादन र आकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे नवसर्जक उत्सव कार्यक्रम निकै फलदायी हुने बताए ।
२८ जेठ २०७७ मा पहिलो पटक बाल उत्सव कार्यक्रम आयोजना गरेकाे नवसर्जक साहित्य चौतारी नेपालले यस वर्ष नवसर्जक उत्सव कार्यक्रम आयोजना गर्न लागिएकाे संस्थापक तथा संरक्षक दीपक गौतमले जानकारी दिए । ‘फागुन ९ गते सिर्जनात्मक लेखन कार्यशाला तथा फागुन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता तथा रचना वाचन कार्यक्रम हुने छ’ उनले भने ।
पहिलाे दिन ९ फागुनमा हेटौंडा स्थित भुटनदेवी माध्यमिक विद्यालयमा ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला हुने उनले बताए । २ घण्टा सञ्चालन हुने कार्यशाला अन्तरगत मुक्तक लेखन, गजल लेखन, लोक लयमा कविता लेखन, गद्य कविता लेखन, कथा लेखन, नाटक लेखन, निबन्ध (यात्रा संस्मरण) लेखन र चित्रकला हुनेछ । यसैगरी १० फागुनमा हेटौंडा–११ शहीद स्मारकमा नवप्रतिभा प्रवर्धनमा विद्यालय र स्थानीय सरकारबीच बहस हुनेछ । साेही दिन राष्ट्रव्यापी नवसर्जक (२५ वर्ष मुनिका) गजल प्रतियोगिता समेत आयोजना हुने गौतमले जानकारी दिए । गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित प्रादेशिक नवप्रतिभा सम्मान, एकजना अग्रज बालसाहित्य सर्जक/अभियन्तालाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहितको लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्य सम्मान समर्पण गरिने छ भने नवसर्जक मुक्तक वाचन समेत हुनेछ । यस्तै ७ प्रदेशका नवसर्जक प्रतिभाका रचना वाचन, संस्थासँग जोडिएका २५ वर्षमुनिका कृति प्रकाशन गर्ने नवसर्जकलाई कृति प्रकाशन सम्मान समेत प्रदान गरिने कार्यक्रम रहेकाे उनले जानकारी दिए । उत्कृष्ट प्रदेश समिति पुरस्कार, नवप्रतिभाका सांस्कृतिक नृत्य तथा गायन र प्रथम केन्द्रीय अधिवेशन गरी कार्यक्रम समापन गरिने उनले बताए ।
कार्यक्रममा ३५० जना विद्यार्थी र ५० जना शिक्षकको सहभागिता रहने बताइएकाे छ । उत्सवको लागि ४ लाख खर्च हुने आयोजकको अनुमान गरेकाे छ । नवसर्जक उत्सवको लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा–४ नम्वर वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयकाे व्यवस्थापन रहेकाे आयोजकले जनाएकाे छ ।
पत्रकार सम्मेलनमा नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार रमेशमोहन अधिकारी, अर्चना दाहाल, विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष कृतिका लौडारी लगायतको उपस्थित रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाे १५ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । २२ माघ मंगलबार वडालाई बालमैत्री घोषणा गरिने भएकाे हाे ।
आइतबार वडाले पत्रकार सम्मेलनमार्फत् “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न लागेको जनाएको छ । बालमैत्री वडा घोषणा गर्न ताेकिएका ५१ वटा सूचक पूरा भएसँगै वडालाई मंगलबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएकाे वडाध्यक्ष सुनिल मुक्तानले बताए ।
ताेकिएका ५१ वटा सूचक मध्ये ४५ वटा १०० प्रतिशत, ३ वटा ९७ प्रतिशत, २ वटा ९० प्रतिशत र १ वटा सूचक ८१ प्रतिशत नतिजा हासिलसँगै बालमैत्री वडा घोषणा गर्न लागिएको उनले जानकारी दिए । घरधुरी सर्वेक्षण २०७९ अनुसार वडामा २ हजार ३ सय ४५ घरधुरी रहेको छन् । यसैगरी वडामा ५ हजार ४ सय १६ महिला, ५ हजार ५ सय ६१ पुरुष, लैंगिक अल्पसंख्याक २ जना समेत गरी जम्मा जनसंख्या १० हजार ९ सय ७९ रहेका छन् ।
यस्तै १ हजार ६ सय २४ बालक र १ हजार ५ सय ५७ बालिका गरी ३ हजार १ सय ८१ बालबालिका रहेकाे वडामा सामुदायिक, संस्थागत विद्यालय र बाल विकास केन्द्रसहित १० वटा विद्यालय सञ्चालन रहेकाे उनले जानकारी दिए । २४ वटा बाल समूह र वटा बाल सञ्जाल क्रियाशील रहेकाेमा ६ सय जना बालबालिका आबद्ध छन् । यसका साथै विभिन्न संरचनागत समितिमा गरी ६ सय ४७ जना बालबालिका प्रत्यक्ष सहभागीता रहेको बताइएकाे छ ।
२६ मंसिर, २०७९ सरोकारवालाको उपस्थितिमा प्रतिबद्वता जाहेर गर्दै वडाले उक्त अभियान सुरु गरेको थियो । तत्पश्चात अभियानलाई आत्मासात गर्दै कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको वडाध्यक्ष मुक्तानले जानकारी दिए । ‘नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बालबचाऊ, बालसंरक्षण, वालविकास, र बालसहभागिता साथै यसको लागि संस्थागत विकासका समेत गरि जम्मा ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीको अवस्थामा पुगेका छौ’ उनले भने ।
‘सूचक प्राप्तिको सन्दर्भमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितिपत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भईसकेको छ’ उनले भने ‘जिल्लास्तरीय अनुगमन समितिबाट अनुगमन समेत भइसकेकाे सन्दर्भमा अभियानलाई सफल पार्न वडाका सम्पूर्ण वडावासीहरु लगायत विद्यालय, टोल विकास संस्था, नागरिक समाज, सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आ-आफ्नो स्थानबाट सक्दो साथ सहयोग दिनु भएको कारणले नै हामी घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको हौं।’
मंगलबार वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजना गरिने भएकाेले अभियानलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आ-आफ्नो स्थानवाट साथ, सहयोग र सहभागिता र अभियानमा ऐक्यबद्धता जनाईदिनु हुन समेत वडाध्यक्षले आग्रह गरेका छन् ।
श्रीमान प्रमुख ज्यू
जिल्ला प्रसाशान कार्यलाय
हेटौडा, मकवानपुर
विषय : विवाह गर्ने उमेर २० वर्ष भन्दा माथिल्लो नै कायमा गरी पाउँ
महोदय,
उपर्युक्त सम्बन्धामा हाम्रो गाउँ घरमा बाल विवाह फैलिरहेको कारण हामी सबैले विवाह बाल विवाह रोकनु पर्छ भन्नेमा एकमत छौ । विवाहको उमेर २० वर्ष पारी कायम गर्नको लागि हामी यो माग गर्दछौं । हामी सबै मिलेर बाल विवाह रोक्न्नुपर्छ भन्ने नाराका साथ बाल विवाहबाट विभिन्न समस्यामा पार्न सक्ने भएकाले विवाहवारी २० वर्ष पारी गरौं भन्दै यो निवेदन पेक्षा गर्दछु धन्यवाद !
निवेदक
नाम : सरित मुक्तान
कक्षा १०
रोल न. ७
राक्सिराङ गाउँपालिका मकवानपुर ।
यो एक जना किशोरले प्रमुख जिल्ला अधिकारीलाई लेखेको एउटा पत्रको नमुना हो । यस्ता दर्जनौ पत्रहरु मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाललाई बुझाइएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिहंदरबार, काठमाडौमा यो पत्र पुर्याइदिएर आफूहरुको सवाल सम्बोधन गर्नमा सहजिकरणको माग गर्दै किशोर किशोरीहरुले आफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई यस्तो अनुरोध गरेका हुन् ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले मिति २०८१ माघ २ गते विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएकोमा उनीहरुले ध्यानाकर्षण गराएका हुन् । सो विषयमा मकवानपुर जिल्लामा रहेर मानव अधिकर संरक्षण तथा मानव बेचविखन विरुद्ध काम गरिरहेका विभिन्न सरोकारवाला संघसंस्थाहरुले यस सवालमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बालबिवाह अन्त्य गर्ने उदेश्यले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ’बालबिवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउन लागिएको अवस्थामा विवाहको उमेर हद नै घटाउन लागेको प्रति सरोकारवालाहरुले आपत्ति जनाएका हुन् ।
विगतमा भएका विभिन्न अध्ययन, अनुसन्धान अनुसार बालबालिकाको शिक्षा,स्वास्थ्य, मानसिक परिपक्वता लगाएतका दृष्टिकोणले विवाहको उमेर २० बर्ष कायम गरी नीति नियम र ऐन कानुनहरु तय गरिएको छ ।
कम उमेरमा विवाह हुदां छिटो गर्भवति हुने, त्यसो हुदां बालबालिकाको मृत्यु हुन सक्ने, गर्भवती आमा र बच्चा दुबैको स्वास्थ्यमा असर पुग्ने जोखिम रहेको सञ्जाल उपासंयोजक माया तामाङले बताइन् ।
कम उमेरमा विवाह हुदां किशोर किशोरी, महिला तथा युवाको स्वास्थ्य शिक्षामा समेत प्रत्यक्ष असर गर्दछ । बाल विवाहले बालबालिका तथा किशोर किशोरीहरुलाई आधारभुत अधिकारबाट बन्चित मात्रै गराउदैन, उनीहरुले आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि बन्चित हुन्छन् ।
बाल विवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्क नभई सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, यौन तथा प्रजनन स्वास्थ्यमा पुर्ण असर पर्ने, लैङ्गिक हिंसा, यौन जन्य हिंसा, बाल श्रम, बिचबिखन जस्ता थप जोखिमहरुले बालबालिका र महिलाहरु थप प्रभावित हुने अवस्था बारे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । विगतमा नेपाल सरकार, शिक्षा, स्वास्थ्य र कानुन विज्ञहरु, समाजिक संघसंस्था, विभिन्न राजनैतिक पार्टीका व्यक्तिहरु, जनप्रतिनिधिहरु, नागरिक किशोरी, युवा क्लबलगायत सरोकारवालाहरुको बृहत छलफल बाट विवाहको उमेर २० वर्ष पुर्याईएको स्मरण गर्दै सो कदम नै सही रहेको सरोकारवालाहरुले बताएका छन् ।
बाल विवाह रोक्नको लागि अत्यावश्यक आधार निर्माणको लागि काम गर्नुपर्नेमा १८ वर्षमा झार्ने सवाल बाल अधिकारको दृष्टिकोणले गलत हुने र बालमैत्री, बाल श्रम मुक्त स्थानीय तह घोषणा गर्नेलगायतका अभियान समेत प्रभावित हुने अधिकारकर्मी कुमारी वाइबाले बताइन् ।
विवाहको उमेर हद घटाउनु भनेको आफ्नै योजना र निर्णयमा आफैंले असफल हुने अवस्था रहेको सरोकारवालाहरुको टीप्पणी छ । “समग्र मानव विकास सुचांकमानै असर पार्न सक्ने भएको हुदा विवाहको विषयलाई थप बहसको विषय नबनाई २० वर्षलाई नै कायम गर्न हामीले माग गरेका हौ” सञ्जाल संयोजक आरती पाठकले भनिन् ।
विशेष गरि बालिका र महिलाको सन्दर्भमा बाल विवाहले एउटा मात्रै अधिकारको उल्घंन नगरि उनीहरुको जीवन चक्रमा थुप्रै अधिकार उल्घनको श्रृंखला सृजना गरि थप हिंसाको शिकारमा पर्न सक्ने अवस्था रहेको ध्यानाकर्षण पत्रमा उल्लेन छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले अघिल्लो वर्ष बालमैत्री स्थानीय शासन लागु गर्न तय गरिएको नीति कार्यक्रमले समेत बालविवाहको सवाललाई उच्च रुपमा उठाउँदै “प्रदेश र स्थानीय तहको सन्देश बालविवाह मुक्त हाम्रो प्रदेश” अभियान संचालनमा विवाहलाई २० वर्ष नै कायम गर्नुपर्ने कुरालाई जोरदार उठेको थियो । यस जिल्लामा बाल विवाहको सवालमा कार्यरत संघसंस्था र निकायहरुको अनुभवलाई हेर्दा बिवाह वारी २० वर्ष पारी भन्ने अभियानले केहि हदसम्म बाल विवाह न्युनिकरण गरेको पाईन्छ ।
यस अभियानहरुलाई समेत असर पर्ने गरेर विवाहको उमेर घटाउने विषयलाई बहस नगर्न नेपाल सरकार समक्ष मकवानपुरका प्रतिनिधि किशोर किशोरीहरुको पत्र सहित सञ्जालले ध्यानाकर्षण पत्र प्रमुख मार्फत प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिलाई पठाएको हो ।

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा १ हजार ७३ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धकाे उक्त खाेप २२ माघबाट संचालन गरिने भएकाे छ ।
सोमबार गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै आगामी २२ माघदेखी २५ माघसम्म खोप लगाउने पालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव्रप्रसाद लामिछानेले जानकारी दिए । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक सरदर ४ जनाको मृत्यु भइरहेको लामिछानेले बताए । उनका अनुसार क्यान्सरबाट मकवानपुरगढी गाउँपालिकामा २०७८ सालदेखि हालसम्म ४ जनाको मृत्यु भएको छ भने १५ जना क्यान्सरका विरामी रहेका छन् ।
खोप ९८ देखि १०० प्रतिशत प्रभावकारी रहेको बताउँदै सरकारको अभियान अन्तरगत विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० कक्षा सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाईने उनले बताए । पालिकामा एक हजार ७३ जना किशाेरी रहेकाे तथ्याङ्क छ । जसमा विद्यालयमा १ हजार १२ र विद्यालय बाहिर ६१ जना किशोरी रहेका छन् । पालिकाभित्रका १७ विद्यालय र ८ वटै स्वास्थ्य चौकीबाट खोप सेवा प्रदान गरिने भएकाे छ ।
विद्यालय नर्स र शिक्षिकालाई स्वंमसेवकको रुपमा खटाइने र ४० जना महिला सामूदायिक स्वास्थ्य स्वंमसेविकालाई तालिम प्रदान गरिसकेका छौं लामिछानेले भने । खोप सञ्चालनको तयारी अन्तिम चरणमा भइसकेको छ, सुरुमा कक्षा ६ का विद्यार्थीबाट खोपको सुरुवात गरिने उनले जानकारी दिए । करिब ५ हजार २ सय घरधुरी रहेकाे पालिकालाई बैशाख २०८२ मा पूर्ण खोप सुनिश्चिता घोषणा गरिने बताइएकाे छ ।
हेटौंडा उपमहानगरपालिकामा ९ हजार २ सयलाई खाेप लगाइदैं
यसै बीच हेटौंडा उपमहानगरपालिकाका ९ हजार २३८ जना किशोरीलाई क्यान्सर बिरुद्धको एचपीभी खोप दिइने भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा नगर भित्रका स्वास्थ्य संस्था तथा र विद्यालयका केन्द्रबाट खोप अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो ।
उपमहानगरपालिका क्षेत्रमा रहेका ८९ विद्यालयका ६ कक्षादेखि १० कक्षासम्मका छात्रा र बिद्यालय नगएका १० देखि १४ बर्षका किशोरीहरुलाई २२ माघदेखि २८ माघसम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सञ्चालन गरिने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद तिवारीले जानकारी दिए । तिवारीका अनुसार अभियानलाई आगामी बर्षबाट बिद्यालय स्तरमा ६ देखि १० कक्षा सम्मका छात्राहरुलाई नियमित खोप दिइने छ ।
मकवानपुर । बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सर्वपक्षीय प्रयास जारी राख्नेमा सरोकारवालाहरू एकमत भएका छन् ।
हेटौंडामा भएको बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्नको लागि हाम्रो भूमिका विषयक प्रदेशस्तरीय कार्यशालामा यसबारे छलफल भएको हो । सुनिता फाउन्डेसनको आयोजना तथा ओमनकाइण्ड वल्डवाइडकाे सहयोगमा कार्यशाला गरिएको हो ।
कार्यशालामा सुनिता फाउन्डेसनको परियोजना अधिकृत अमृता श्रेष्ठले मानव बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्नका लागि हाम्रो भुमिका विषयमा कार्यशाला प्रस्तुतिकरण गरिन् । मानव बेचबिखनमा परेकाहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयमा ५ वटा समूह बनाई छलफल गरिएको थियो । छलफलमा आएका सवालको सम्बोधन गर्दै सुनिता फाउन्डेसनकी प्रबन्ध निर्देशक स्वस्तिका दनुवारले आगामी कार्यक्रमहरुमा सचेतनाको साथै सम्बन्धित विभिन्न निकायसँग समन्वय गर्दै थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यशालामा फाउन्डेसनको संगिता नेपाली, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको महिला विकास अधिकृत चन्द्रकुमारी व्यन्जनकार, महिला विकास निरीक्षक कलावती पौडेल, फाउन्डेसनको जिल्ला प्रमुख सुनिता घलान, हेटौंडा उपमहानगरपालिका समावेशी शाखाको मन्दीरा थापा, हेटौंडा अस्पतालको ओसीएमसी प्रमुख अमृता श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, हिमराइट्स, कोशिस, सानाहातहरू, गैसस मकवानपुर, मानव अधिकार संरक्षण तथा मानव वेचबिखन विरुद्धको सन्जालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।