मकवानपुर । मकवानपुरकाे हेटौंडामा राष्ट्रिय नवसर्जक उत्सव हुने भएको छ । नवसर्जक उत्पादन तथा पठन तथा लेखन संस्कृतिको विकास गर्ने उद्देश्य उत्सव आयोजना गर्न लागिएकाे हाे ।
आयोजक नवसर्जक साहित्य चौतारी नेपालले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आगामी ९–१० फागुन मा हेटौंडामा राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशनको हुने जनाकारी दिएकाे छ । कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले साहित्य क्षेत्रमा नयाँ पुस्तालाई जोड्न उत्पादन र आकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे नवसर्जक उत्सव कार्यक्रम निकै फलदायी हुने बताए ।
२८ जेठ २०७७ मा पहिलो पटक बाल उत्सव कार्यक्रम आयोजना गरेकाे नवसर्जक साहित्य चौतारी नेपालले यस वर्ष नवसर्जक उत्सव कार्यक्रम आयोजना गर्न लागिएकाे संस्थापक तथा संरक्षक दीपक गौतमले जानकारी दिए । ‘फागुन ९ गते सिर्जनात्मक लेखन कार्यशाला तथा फागुन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता तथा रचना वाचन कार्यक्रम हुने छ’ उनले भने ।
पहिलाे दिन ९ फागुनमा हेटौंडा स्थित भुटनदेवी माध्यमिक विद्यालयमा ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला हुने उनले बताए । २ घण्टा सञ्चालन हुने कार्यशाला अन्तरगत मुक्तक लेखन, गजल लेखन, लोक लयमा कविता लेखन, गद्य कविता लेखन, कथा लेखन, नाटक लेखन, निबन्ध (यात्रा संस्मरण) लेखन र चित्रकला हुनेछ । यसैगरी १० फागुनमा हेटौंडा–११ शहीद स्मारकमा नवप्रतिभा प्रवर्धनमा विद्यालय र स्थानीय सरकारबीच बहस हुनेछ । साेही दिन राष्ट्रव्यापी नवसर्जक (२५ वर्ष मुनिका) गजल प्रतियोगिता समेत आयोजना हुने गौतमले जानकारी दिए । गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।
त्यसैगरी ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित प्रादेशिक नवप्रतिभा सम्मान, एकजना अग्रज बालसाहित्य सर्जक/अभियन्तालाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहितको लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्य सम्मान समर्पण गरिने छ भने नवसर्जक मुक्तक वाचन समेत हुनेछ । यस्तै ७ प्रदेशका नवसर्जक प्रतिभाका रचना वाचन, संस्थासँग जोडिएका २५ वर्षमुनिका कृति प्रकाशन गर्ने नवसर्जकलाई कृति प्रकाशन सम्मान समेत प्रदान गरिने कार्यक्रम रहेकाे उनले जानकारी दिए । उत्कृष्ट प्रदेश समिति पुरस्कार, नवप्रतिभाका सांस्कृतिक नृत्य तथा गायन र प्रथम केन्द्रीय अधिवेशन गरी कार्यक्रम समापन गरिने उनले बताए ।
कार्यक्रममा ३५० जना विद्यार्थी र ५० जना शिक्षकको सहभागिता रहने बताइएकाे छ । उत्सवको लागि ४ लाख खर्च हुने आयोजकको अनुमान गरेकाे छ । नवसर्जक उत्सवको लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा–४ नम्वर वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयकाे व्यवस्थापन रहेकाे आयोजकले जनाएकाे छ ।
पत्रकार सम्मेलनमा नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार रमेशमोहन अधिकारी, अर्चना दाहाल, विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष कृतिका लौडारी लगायतको उपस्थित रहेको थियो ।

