मकवानपुर । बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सर्वपक्षीय प्रयास जारी राख्नेमा सरोकारवालाहरू एकमत भएका छन् ।
हेटौंडामा भएको बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्नको लागि हाम्रो भूमिका विषयक प्रदेशस्तरीय कार्यशालामा यसबारे छलफल भएको हो । सुनिता फाउन्डेसनको आयोजना तथा ओमनकाइण्ड वल्डवाइडकाे सहयोगमा कार्यशाला गरिएको हो ।
कार्यशालामा सुनिता फाउन्डेसनको परियोजना अधिकृत अमृता श्रेष्ठले मानव बेचबिखन प्रभावितहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्नका लागि हाम्रो भुमिका विषयमा कार्यशाला प्रस्तुतिकरण गरिन् । मानव बेचबिखनमा परेकाहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयमा ५ वटा समूह बनाई छलफल गरिएको थियो । छलफलमा आएका सवालको सम्बोधन गर्दै सुनिता फाउन्डेसनकी प्रबन्ध निर्देशक स्वस्तिका दनुवारले आगामी कार्यक्रमहरुमा सचेतनाको साथै सम्बन्धित विभिन्न निकायसँग समन्वय गर्दै थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यशालामा फाउन्डेसनको संगिता नेपाली, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको महिला विकास अधिकृत चन्द्रकुमारी व्यन्जनकार, महिला विकास निरीक्षक कलावती पौडेल, फाउन्डेसनको जिल्ला प्रमुख सुनिता घलान, हेटौंडा उपमहानगरपालिका समावेशी शाखाको मन्दीरा थापा, हेटौंडा अस्पतालको ओसीएमसी प्रमुख अमृता श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, हिमराइट्स, कोशिस, सानाहातहरू, गैसस मकवानपुर, मानव अधिकार संरक्षण तथा मानव वेचबिखन विरुद्धको सन्जालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

