मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा १ हजार ७३ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धकाे उक्त खाेप २२ माघबाट संचालन गरिने भएकाे छ ।
सोमबार गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै आगामी २२ माघदेखी २५ माघसम्म खोप लगाउने पालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव्रप्रसाद लामिछानेले जानकारी दिए । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक सरदर ४ जनाको मृत्यु भइरहेको लामिछानेले बताए । उनका अनुसार क्यान्सरबाट मकवानपुरगढी गाउँपालिकामा २०७८ सालदेखि हालसम्म ४ जनाको मृत्यु भएको छ भने १५ जना क्यान्सरका विरामी रहेका छन् ।
खोप ९८ देखि १०० प्रतिशत प्रभावकारी रहेको बताउँदै सरकारको अभियान अन्तरगत विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० कक्षा सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाईने उनले बताए । पालिकामा एक हजार ७३ जना किशाेरी रहेकाे तथ्याङ्क छ । जसमा विद्यालयमा १ हजार १२ र विद्यालय बाहिर ६१ जना किशोरी रहेका छन् । पालिकाभित्रका १७ विद्यालय र ८ वटै स्वास्थ्य चौकीबाट खोप सेवा प्रदान गरिने भएकाे छ ।
विद्यालय नर्स र शिक्षिकालाई स्वंमसेवकको रुपमा खटाइने र ४० जना महिला सामूदायिक स्वास्थ्य स्वंमसेविकालाई तालिम प्रदान गरिसकेका छौं लामिछानेले भने । खोप सञ्चालनको तयारी अन्तिम चरणमा भइसकेको छ, सुरुमा कक्षा ६ का विद्यार्थीबाट खोपको सुरुवात गरिने उनले जानकारी दिए । करिब ५ हजार २ सय घरधुरी रहेकाे पालिकालाई बैशाख २०८२ मा पूर्ण खोप सुनिश्चिता घोषणा गरिने बताइएकाे छ ।
हेटौंडा उपमहानगरपालिकामा ९ हजार २ सयलाई खाेप लगाइदैं
यसै बीच हेटौंडा उपमहानगरपालिकाका ९ हजार २३८ जना किशोरीलाई क्यान्सर बिरुद्धको एचपीभी खोप दिइने भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा नगर भित्रका स्वास्थ्य संस्था तथा र विद्यालयका केन्द्रबाट खोप अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो ।
उपमहानगरपालिका क्षेत्रमा रहेका ८९ विद्यालयका ६ कक्षादेखि १० कक्षासम्मका छात्रा र बिद्यालय नगएका १० देखि १४ बर्षका किशोरीहरुलाई २२ माघदेखि २८ माघसम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सञ्चालन गरिने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद तिवारीले जानकारी दिए । तिवारीका अनुसार अभियानलाई आगामी बर्षबाट बिद्यालय स्तरमा ६ देखि १० कक्षा सम्मका छात्राहरुलाई नियमित खोप दिइने छ ।

