मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाे १५ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । २२ माघ मंगलबार वडालाई बालमैत्री घोषणा गरिने भएकाे हाे ।
आइतबार वडाले पत्रकार सम्मेलनमार्फत् “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न लागेको जनाएको छ । बालमैत्री वडा घोषणा गर्न ताेकिएका ५१ वटा सूचक पूरा भएसँगै वडालाई मंगलबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएकाे वडाध्यक्ष सुनिल मुक्तानले बताए ।
ताेकिएका ५१ वटा सूचक मध्ये ४५ वटा १०० प्रतिशत, ३ वटा ९७ प्रतिशत, २ वटा ९० प्रतिशत र १ वटा सूचक ८१ प्रतिशत नतिजा हासिलसँगै बालमैत्री वडा घोषणा गर्न लागिएको उनले जानकारी दिए । घरधुरी सर्वेक्षण २०७९ अनुसार वडामा २ हजार ३ सय ४५ घरधुरी रहेको छन् । यसैगरी वडामा ५ हजार ४ सय १६ महिला, ५ हजार ५ सय ६१ पुरुष, लैंगिक अल्पसंख्याक २ जना समेत गरी जम्मा जनसंख्या १० हजार ९ सय ७९ रहेका छन् ।
यस्तै १ हजार ६ सय २४ बालक र १ हजार ५ सय ५७ बालिका गरी ३ हजार १ सय ८१ बालबालिका रहेकाे वडामा सामुदायिक, संस्थागत विद्यालय र बाल विकास केन्द्रसहित १० वटा विद्यालय सञ्चालन रहेकाे उनले जानकारी दिए । २४ वटा बाल समूह र वटा बाल सञ्जाल क्रियाशील रहेकाेमा ६ सय जना बालबालिका आबद्ध छन् । यसका साथै विभिन्न संरचनागत समितिमा गरी ६ सय ४७ जना बालबालिका प्रत्यक्ष सहभागीता रहेको बताइएकाे छ ।
२६ मंसिर, २०७९ सरोकारवालाको उपस्थितिमा प्रतिबद्वता जाहेर गर्दै वडाले उक्त अभियान सुरु गरेको थियो । तत्पश्चात अभियानलाई आत्मासात गर्दै कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको वडाध्यक्ष मुक्तानले जानकारी दिए । ‘नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बालबचाऊ, बालसंरक्षण, वालविकास, र बालसहभागिता साथै यसको लागि संस्थागत विकासका समेत गरि जम्मा ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीको अवस्थामा पुगेका छौ’ उनले भने ।
‘सूचक प्राप्तिको सन्दर्भमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितिपत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भईसकेको छ’ उनले भने ‘जिल्लास्तरीय अनुगमन समितिबाट अनुगमन समेत भइसकेकाे सन्दर्भमा अभियानलाई सफल पार्न वडाका सम्पूर्ण वडावासीहरु लगायत विद्यालय, टोल विकास संस्था, नागरिक समाज, सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आ-आफ्नो स्थानबाट सक्दो साथ सहयोग दिनु भएको कारणले नै हामी घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको हौं।’
मंगलबार वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजना गरिने भएकाेले अभियानलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आ-आफ्नो स्थानवाट साथ, सहयोग र सहभागिता र अभियानमा ऐक्यबद्धता जनाईदिनु हुन समेत वडाध्यक्षले आग्रह गरेका छन् ।

