मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले जितेको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङले प्रथम स्थान हासिल गरेकाे हाे ।
प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित द्वितीय भएको छ । यस्तै तेस्रो स्थानमा रहेको चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदक हात पारेको छ । प्रतियोगिताका विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् ।
विजेताहरूलाई हेटौंडा उपमहानगरपालिका १७ का अध्यक्ष उद्धव सत्यालले पदक तथा प्रमाणपत्र विरतण गरेका थिए । शुक्रबारदेखि हेटौंडा १७, हटियामा सुरु भएको दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा ४० विधामा १८ समुहका ३४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताकाे लागि करिब १३ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक भोजराज पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार प्रतियोगिताकाे लागि हेटौंडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, हेटौंडाका विभिन्न वडाहरूसहित संघसंस्था तथा खेलप्रेमीहरूको सहयोग रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ३ फागुनमा हेटौंडा आईडल गायन प्रतियोगिताको अडिसन हुने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुने दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सव–२०८१ काे अवसरमा हेटौंडा आईडल गायन प्रतियोगिता हुने भएकाे हाे ।
३ फागुनमा निर्माण व्यवसायी संघ मकवानपुरको भवनमा हेटौंडा आइडल गायन प्रतियोगिताको अडिसन हुने प्रतियोगिता संयोजक दिपेश श्रेष्ठले जानकारी दिए । हेटौंडा आइडल गायन प्रतियोगितामा सहभागीको लागि २ फागुनसम्म फारम र एकप्रति फोटोसहित कार्यालयमा बुझाउनु संघले सूचना जारी गरेको छ ।
अडिसनमा छनौट भएकाले ६ फागुनदेखि १८ फागुनसम्म आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सवमा प्रस्तुति दिनेछन् । उनीहरुकाे प्रस्तुति पछि निर्णायक र भोटिङको आधारमा हेटौंडा आइडल घोषणा गरिने श्रेष्ठले बताए । प्रतियोगितामा गायक कृष्णगोपाल सिंह, सुनिता बुर्लाकोटी र किशोर खड्काले निर्णायकको भूमिकामा रहने छन् । प्रतियोगितामा विजयी हुनेलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री हुनेछन् । यस्तै बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय/स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्सव, मनोरञ्जनात्मक बाल उद्यान, नविनतम उपकरणहरुको प्रदर्शनी, नयाँ/नौलो प्रबिधिको प्रदर्शनी हुने आयोजकले जनाएकाे छ ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आधारभूत तह तथा माध्यमिक तहको प्रश्नपत्र निर्माणसम्बन्धी तालिम भएकाे छ । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा शनिबार विज्ञान शिक्षकहरुकाे लागि तालिम आयोजना गरिएकाे हाे ।
हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा सम्पन्न गरिएकाे कार्यक्रममा जिल्लाका ६३ जना विज्ञान शिक्षकहरूले सहभागिता जनाएका थिए । तालिमकाे विज्ञान शिक्षक भरत पोखरेल, दुर्गा पराजुली, खेम बिक र ओमप्रकाश सापकोटाले सहजीकरण गरेका थिए । आधारभूत तह र माध्यमिक तह गरी दुई समूहमा विभाजन गरी तालिम सञ्चालन गरिएको हाे ।
तालिमबाट विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्न ध्यान पुर्याउनुपर्ने, संज्ञानात्मक तहहरू पहिचान गरी त्यस अनुसार प्रश्नपत्र निर्माण गर्ने सीपको विकास र प्रश्नपत्र निर्माणपूर्व तय गर्नुपर्ने नमुना मेट्रिक्स निर्माण लगायतका विषयमा शिक्षकहरुलाई प्रशिक्षित गरिएकाे विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका सचिव सुवास खनालले जानकारी दिए ।
प्रशिक्षार्थीहरूको तर्फबाट गीतावर आधारभूत विद्यालय बकैया ५ की अमृता लामिछाने र मत्स्यनारायण मावि थाहा नगरपालिकाका राजेश तिमल्सिनाले यस्ता तालिम कार्यक्रमहरु समय समयमा आयोजना भइरहनुपर्ने बताए । प्रशिक्षक शिक्षक तथा सहभागी शिक्षकलाई प्रमुख अतिथि लगायतले प्रमाणपत्र प्रादन गरेका थिए ।
कार्यक्रमको समापन समाजका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलानको प्रमुख अतिथ्यतामा भएकाे तालिम कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुदीप गिरीको विशिष्ट आतिथ्य रहेकाे थियाे । समापन कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडा, विज्ञान शिक्षक रामकुमार ठाकुर, विनोदप्रसाद गुप्ता, मनिलकुमार कर्ण, ग्यालेक्सी बुक्स सेन्टरका अमृत मगर, लिंकेज टेक्निकल एकेडेमीका कमल कोइरालालगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन संघीय गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरकाे आयोजनामा १० वर्षपछि हुन लागेको महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने संघ अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए ।
६ फागुन ६ देखि १८ फागुनसम्म आयोजना हुने महोत्सव संघ मकवानपुरकाे भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे उनले बताए ।
महोत्सवमा ३५० स्टल रहने छन् । जसमा निर्माण उपकरण, औद्योगिक उत्पादन, हस्तकला, महिला उद्यमीका सामग्रीहरू प्रदर्शनी तथा बिक्री गरिने छ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई स्टल भाडामा ५० प्रतिशत छुट दिइने संघ महासचिव राजेन्द्र चौलागाईंले जानकारी दिए ।महोत्सवले निर्माण सामग्री उत्पादक, बिक्रेता र उपभोक्ताबीच समन्वय बढाउने बताइएकाे छ। यसले गुणस्तरीय प्रतिस्पर्धा गर्दै व्यवसायीहरूबीच अन्तरक्रिया तथा चुनौतीबारे छलफलको अवसर समेत प्रदान गर्ने आयोजकले विश्वास लिएकाे छ ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएकाे छ। गायन क्षेत्र प्रवर्द्धन गर्न ‘हेटौँडा आइडल’ प्रतियोगिता आयोजना हुनेछ । जसमा मकवानपुरका प्रतिभाहरूकाे प्रस्तुति रहनेछ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ । हेटौंडा १७ ठूलोगङ्गटे स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा ३० माघबाट ७ फागुनसम्म महायज्ञ हुने मूल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक कृष्णदेव भण्डारीले अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा महायज्ञ हुने जानकारी दिए । महायज्ञमा पण्डित बद्रीविशाल शास्त्री र पण्डित दिनेश काफ्ले शास्त्रीले कथा वाचन गर्ने उनले जानकारी दिए ।
३० माघ विहान ७ बजे अङ्गारेश्वर मन्दिर परिसरबाट कलश यात्रा गरि महायज्ञकाे समुद्घाटन दिउँसो १ बजे गरिने संयोजक भण्डारीले बताए । कलश यात्रा मन्दिर परिसरबाट सुरु भइ हेटौंडा १७ हटिया वडा कार्यालय चोकदेखि हेटौंडा १८ आरामपुरसम्म पुगी मन्दिर परिसरमा आउने उनले जानरकारी दिए । मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित संघीय सांसद् दीपक बहादुर सिंहको प्रमुख आतिथ्यता तथा प्राचार्य (क्याम्पस प्रमुख) पशुपतिनाथ वेदाङ्ग विद्यापीठका प्रा.डा. विष्णुप्रसाद तिम्सिनाको विशिष्ट आतिथ्यतामा महायज्ञकाे संयुक्त समुद्घाटन हुने कार्यक्रम छ ।
नियमित सत्सङ्ग, आध्यात्मिक प्रवचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यले महायज्ञ गर्न लागिएको बताइएकाे छ । महायज्ञबाट संकलन हुने रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) लगाउने लक्ष्य रहेको प्रचार समिति संयोजक चुडामणि रुपाखेतीले बताए ।
यस्तै, महायज्ञकाे लागि विभिन्न ८ वटा समिति गठन गरिएको छ । अर्थ समिति संयोजकमा धर्मराज अर्याल, प्रचार समिति संयोजकमा चुडामणि रुपाखेती, पुजा समिति संयोजकमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समिति संयोजकमा माया राना, सरसफाइ समिति संयोजकमा ओम प्रसाद अधिकारी, समान खरिद समिति संयोजकमा शमशेर पुडासैनी,भण्डारण समिति संयोजक सिताराम वाइबा रहने गरी गठन गरिएको हो ।
३० माघ देखि ६ फागुनसम्म प्रत्येक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पाठ पारायण तथा हवन, विहान ११ बजेदेखि खिउँसो ४ः३० बजेसम्म कथा प्रवचन, साँझ ६ बजेदेखि ९ बजेसम्म महात्म्य प्रवचन तथा भजन किर्तन हुने आयोजकले जनाएकाे छ । यस्तै ७ फागुनमा कथा विश्राम, तिलार्चन, पूर्णाहुति, प्रसाद वितरण, तथा महायज्ञ समापन गरिने छ ।
महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहने आयोजकले जनाइएको छ । आयोजकका अनुसार महायज्ञमा दान गर्नेहरुकाे लागि सम्मान कार्यक्रम समेत गरिने छ ।