मकवानपुर । मकवानपुरकाे हेटौंडामा ३ फागुनमा हेटौंडा आईडल गायन प्रतियोगिताको अडिसन हुने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुने दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सव–२०८१ काे अवसरमा हेटौंडा आईडल गायन प्रतियोगिता हुने भएकाे हाे ।
३ फागुनमा निर्माण व्यवसायी संघ मकवानपुरको भवनमा हेटौंडा आइडल गायन प्रतियोगिताको अडिसन हुने प्रतियोगिता संयोजक दिपेश श्रेष्ठले जानकारी दिए । हेटौंडा आइडल गायन प्रतियोगितामा सहभागीको लागि २ फागुनसम्म फारम र एकप्रति फोटोसहित कार्यालयमा बुझाउनु संघले सूचना जारी गरेको छ ।
अडिसनमा छनौट भएकाले ६ फागुनदेखि १८ फागुनसम्म आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सवमा प्रस्तुति दिनेछन् । उनीहरुकाे प्रस्तुति पछि निर्णायक र भोटिङको आधारमा हेटौंडा आइडल घोषणा गरिने श्रेष्ठले बताए । प्रतियोगितामा गायक कृष्णगोपाल सिंह, सुनिता बुर्लाकोटी र किशोर खड्काले निर्णायकको भूमिकामा रहने छन् । प्रतियोगितामा विजयी हुनेलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री हुनेछन् । यस्तै बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय/स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्सव, मनोरञ्जनात्मक बाल उद्यान, नविनतम उपकरणहरुको प्रदर्शनी, नयाँ/नौलो प्रबिधिको प्रदर्शनी हुने आयोजकले जनाएकाे छ ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।

