मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले जितेको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङले प्रथम स्थान हासिल गरेकाे हाे ।
प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित द्वितीय भएको छ । यस्तै तेस्रो स्थानमा रहेको चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदक हात पारेको छ । प्रतियोगिताका विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् ।
विजेताहरूलाई हेटौंडा उपमहानगरपालिका १७ का अध्यक्ष उद्धव सत्यालले पदक तथा प्रमाणपत्र विरतण गरेका थिए । शुक्रबारदेखि हेटौंडा १७, हटियामा सुरु भएको दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा ४० विधामा १८ समुहका ३४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताकाे लागि करिब १३ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक भोजराज पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार प्रतियोगिताकाे लागि हेटौंडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, हेटौंडाका विभिन्न वडाहरूसहित संघसंस्था तथा खेलप्रेमीहरूको सहयोग रहेको थियो ।

