‘हाम्रो देशमा धर्मलाई अतिक्रमण गरिरहेका बेला चलचित्रका दुई प्रमुख पात्र, नायक र नायिकाको मुख्य नाम राम र सीता राखिनु, चलचित्रका प्रायः सबै भाग जनकपुरमै छायाङ्कन गर्नुले हामीलाई बेलाबेलामा त्रेतायुगका राम र सीताबारे स्वतः सोचमग्न गराउँछ । कतै तिनै राम र सीताले पुनर्जन्म लिएर फिल्मी परिवेशमा जनकपुरमा आएर दर्शकलाई सम्मोहित गराएकोजस्तो भान पनि गराउनसक्छ’
हामीले विभिन्न खालका सूचनाहरू हेर्दै र पढ्दै आएका छौँ र मिलेसम्म सूचनालाई बुझ्न र जान्न सूचनास्थलमा पनि पुग्ने गर्छौं । त्यस्तै फरक धारमा बनेको सूचना हो ‘केटी हराएको सूचना’ । झट्ट हेर्दा र पढ्दा कसैलाई यो सूचनाले र पोस्टरले अल्मल्याउन सक्छ, कस्तो सूचना हो ? केटी हराएको भन्या छ केटा पनि छ पोस्टरमा ! प्रसन्न मुद्रामा तन्नेरी युवा युवतीको फोटो छ तर पनि केटी हराएको किन भनिएको छ भन्ने लाग्नसक्छ ! यो रहस्यपूर्ण चित्र/पोस्टर कुनै हराएको व्यक्तिको पोस्टर नभै एक चलचित्रको पोस्टर हो जसमा एक पहाडी मूलकी युवतीलाई मधेसी मूलका युवाले अपहरण गर्दा बनेको कुरालाई आधारित रहेर बनाइएको छ ।
फरक स्वाद र फरक भावको स्वदेशी माटोमा स्वदेशी भाषामा बनेको पवित्र मन र सोचले नेपालकाे ओझेलमा परेको मधेसलाई सबै नेपाली दर्शकसामु ल्याएर मधेसको पहिचानलाई बचाउन आफ्नो वर्षौंदेखिको कलाकौशल, खारिएको सीप र अनुभवका आधारमा आफ्नो मातृभूमिमा रुझ्दै, आफू पहाडी समुदायको भएर पनि मधेसी समुदायलाई अगाडि ल्याउन र चिनाउन आफ्नो चलचित्र “Missing केटी हराएको सूचना ” मार्फत सबैमाझ प्रस्तुत भएको छ, जसलाई ल्याउन सफल बन्नुभएको छ चलचित्र निर्देशक श्री दीपेन्द्र गौचन ।
आजको मितिसम्म आइपुग्दा, धेरै जनाले यो चलचित्र हेरेर चलचित्रको मौलिकतालाई आ—आफ्नो ढङ्गले बुझिसक्नुभएको होला । मलाई पनि चलचित्र हेरिसकेपछिका केही बुझाइहरूलाई नलेखी मेरो मनले मान्दै मानेन र मनको सुन्दै आफ्ना विचारहरूलाई यहाँ प्रस्तुत गर्ने जमर्को गदैछु ।अहिले जताततैबाट हाम्रो देशमा धर्मलाई अतिक्रमण गरिरहेका बेला चलचित्रका दुई प्रमुख पात्र, नायक र नायिकाको मुख्य नाम राम र सीता राखिनु, चलचित्रका प्रायः सबै भाग जनकपुरमै छायाङ्कन गर्नुले हामीलाई बेलाबेलामा त्रेतायुगका राम र सीताबारे स्वतः सोचमग्न गराउँछ । कतै तिनै राम र सीताले पुनर्जन्म लिएर फिल्मी परिवेशमा जनकपुरमा आएर दर्शकलाई सम्मोहित गराएकोजस्तो भान पनि गराउनसक्छ ।

अहिलेको आधुनिक जमानामा सबै मान्छेले आध्यात्मिक भाव नरुचाउन सक्छन् भनेर निर्देशक गौचनले नायक नायिकाको नामलाई आधुनिक नाम दिएर पौराणिक कुरालाई अद्यावधिक गर्न खोजेको हो कि भने जसरी पनि सोच्न बाध्य बनाउँदो रहेछ । कलाकार मार्फत समसामयिक परिवेशमा बुन्दै मिथिलाको कला र संस्कृतिको पहिचानलाई सबैसामु प्रष्ट्याउन, विभिन्न माध्यमबाट मिहीन ढङ्गले चित्रण गरिएको छ । चलचित्रमा नारी पात्रलाई पहाडिया र पुरुष पात्रलाई मधेसी पात्रका रूपमा र दुईबिचको वार्तालापका माध्यमबाट निर्देशक गौचनले नेपालभित्रै मधेस (तराई) र पहाड भए तापनि पहाडिया र मधेसीबिचको बुझाइको कमजोर कडीलाई सटीक रूपमा विभिन्न भाव, शब्द र उदाहरणका माध्यमबाट प्रस्तुत गर्न सफल बन्नु भएकाेछ ।
त्यस्तै, मधेसी पात्रका रूप, रङ्ग र विभेदलाई राम्ररी बुझाउन मधेसी आन्दोलनको कुरालाई चलचित्रको कथामा सम्वादमा प्रस्तुत गरेर तात्कालिक आन्दोलनले निम्त्याएको समस्या, मधेसी र पहाडीबिचको अटूट मित्रता र सम्झौतालाई प्रस्तुत गरेर चलचित्रको माध्यमले मधेस र पहाडबिचको विभेदको पर्खाललाई ढाल्न यो चलचित्र शक्तिशाली रूपमा उभिएको छ ।
चलचित्रमा पहिले नायिकाको अपहरण पछि फेरि उल्टै नायिकाले नायकलाई बन्दी बनाउनु अनि फेरि दुवै नायक नायिकामा सम्झौता हुनु र एकार्कामा प्रेम मौलाउनु, चलचित्रभित्रका भिन्न भिन्न स्वादका सम्वाद, सबै कुरालाई संस्कार र संस्कृति अनुसार मर्यादित ढङ्गले प्रस्तुत गर्दै मातृप्रेम, मातृभूमिप्रेम, मायाप्रीति, समर्पण, ग्रामीण परिवेश, कला आदि विविध कुरालाई रोचक तवरमा प्रस्तुत गरेर चलचित्रमा आफ्नै देशको स्वत्वपनलाई राम्ररी उजागर गर्न निर्देशक सफल बनेको चलचित्र हेरेका दर्शकहरूल स्वतः प्रष्टतया अनुमान लगाइसकेको हुनुपर्छ ।
चलचित्रमार्फ नेपाली कलाकाक्षेत्रमा फरक स्वाद र परिवेशमा जनकपुरका माध्यमबाट आफ्नो देश नेपालको मधेसलाई चिनाउन सफल बनेका छन् । प्रायः नेपालभन्दा धेरैजसोले काठमाडौं पोखरा, लुम्बिनी, सगरमाथा भनेर चिन्नेले जनकपुरलाई पनि राम्ररी चिन्ने भएका छन् साथै मधेसलाई पनि राम्ररी ध्यान दिन र बुझ्न थालेका छन् । मधेस बुझ्न र चिन्नकालागि एक अभियानकै रूपमा यो चलचित्र “Missing केटी हराएको सूचना ” ले यौटा नजीर स्थापित गरेको छ । साथसाथै साथीभाइको खिसीट्यूरीले पात्र राम कसरी अपहरण गर्न बाध्य हुन्छ र पात्र सीता पनि आफ्नै अभिभावकको जबर्जस्ती बिहे गर्नैपर्छ भन्ने दबावले बाध्य भएर घरबाट भाग्न हिँडेको कुरा र पछि गएर दुवैले साथी र घरमा देखाउनकै निम्ति सँगसँगै फोटो लिएको कुरालाई भावुक र मार्मिक रूपले पेश गरिएको छ । जसबाट निर्देशकले कसैको दबाव वा होच्याइले व्यक्तिको मानसिकतामा केकस्तो असर पर्छ भन्ने कुरालाई चलचित्रमा देखाएर वर्तमान परिप्रेक्ष्यका युवायुवतीहरू र अभिभावकहरूलाई सतर्क रहनकालागि चलचित्रकै माध्यमबाट सन्देश दिने प्रयत्न गर्नुभएको छ ।

चलचित्रका दुई पात्रबाट शुरू भएर दुई पात्रमै टुङ्गिने यस चलचित्रको कथावस्तुले जीवनमा विभिन्न आरोह अवरोहलाई सम्वादको रूपमा देखाउँदै आफ्नो मातृभाषा, राष्ट्र्भाषा दुवैमा पोख्त युवकलाई स्वाभिमानी मधेसी पात्रको रूपमा उभ्याएको छ । सरल जीवन र सादा पोशाकमा आफ्नै नेपालभित्रको जिल्लामै सुन्दर छवि र दृश्यको रसास्वादन गराउँदै भाइचाराको माध्यमबाट मधेस र पहाडलाई जोड्दै देशप्रेमको भावलाई “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” उक्तिले जस्तै देशप्रेम र जन्मभूमि प्रतिको मोहलाई कूटनैतिक ढङ्गमा दर्शाउन सफल निर्देशक गौचन बधाईका पात्र बन्नुभएको छ । दुई दशकजति विदेशी भूमिमा बसेर पनि स्वदेशी माटोमा भिजेर स्वदेशी भाव र भाषालाई जस्ताकोतस्तै उतारेर राष्ट्र्रप्रतिको प्रेम उजागर गरिएको यस स्तुत्य कार्यको जति प्रशंसा गरे पनि कमै हुन्छ ।
अहिले स्वदेशका मानिसहरूले विदेशमा गएर चलचित्र बनाइरहँदा स्वदेशमै बसेर स्वदेशी माटोमा स्वदेशी धारमा महत्वपूर्ण सन्देश बोकेको चलचित्र पस्केर एक उदाहरणीय व्यक्तित्व बन्न सफल बन्नुभएकोमा यस चलचित्रका निर्देशक दीपेन्द्र गौचन हार्दिक बधाई छ । साथै चलचित्रका नायक नायिकाका प्रत्यक्ष र परोक्ष रूपमा साथ दिने सबै चलचित्र टिम पनि बधाईका पात्र हुनुहुन्छ । आगामी दिनमा पनि यस्तैखालका उदाहरणीय काम गर्दै जानुहोला भनी यही मुक्तककासाथमा शुभेच्छा प्रकट गर्दै मेरो लेखनलाई यत्तिमै विश्राम दिन्छु ।
कतिपय कुराहरू त यहाँ मनन गर्ने खालका हुन्छन्
आस्था, सद्भाव र व्यवहार नमन गर्ने खालका हुन्छन्
म र मेरो व्यक्तिवादी सोचले हामी र हाम्रो भन्न सके,
आदर्श चिन्तनले नमूना प्रदर्शन गर्ने खालका हुन्छन् ।


