मकवानपुर । मकवानपुरकाे हेटौंडामा खुला दौड (म्याराथुन) प्रतियोगिता हुने भएको छ । १ फागुन जनयुद्ध दिवसको अवसरमा पाँच किलोमिटर खुला दौड प्रतियोगिता हुने भएकाे हाे ।
पूर्व जनमुक्ति सेना नेपाल, मकवानपुर, बाईसिएल नेपाल, मकवानपुर, अखिल (क्रान्तिकारी) मकवानपुर, र अखिल नेपाल खलकुद महासंघ, मकवानपुरकाे आयोजनामा हुने प्रतियोगिता सम्बन्धमा आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराइएकाे हाे । पुर्व जनमुक्ति सेना नेपाल मकवानपुर अध्यक्ष सुमन पाख्रीनले ३० औं जनयुद्ध दिवसको अवसरमा १ फागुन विहान ७ बजेबाट दौड प्रतियाेगिता गरिने बताए ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितीयले १० हजार,मेडल र प्रमाणपत्र, तृतीयले ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पाख्रीनले जानकारी दिए । प्रतियोगितामा ७ जनालाई सान्त्वना पुरस्कार समेत प्रदान गरिने छ । हेटौंडा बुद्धचोकदेखी भैरवरोड, चिसापानी लक्ष्मी विद्यालय, सुर्यचोक, ब्रम्हदिक विद्यालय, नवोदय विद्यालय, थाहा चोक, शितलमहल चोक, ओम भवन हुँदै बुद्धचोक पुगेर दौड सकिने पाख्रीनले जानकारी दिए ।
माओवादीले शुरु गरेकाे जनयुद्धको शुभारम्भभएको दिन १ फागुनकाे जनयुद्ध दिवसलाई स्मरण गर्दै शुभकामना आदानप्रदान सहित आम जनताको विचमा जनयुद्धको प्रभाव र ऐतिहासिकतालाई नयाँ पुस्तामा समेत निरन्तर सन्देश दिने उद्देश्यका साथ प्रतियाेगिता आयोजना गर्न लागिएकाे उनले बताए । एथलेटिक्स खेलको नियमानुसार दौड प्रतियोगिता संचालन हुनेछ ।
प्रतियोगितामा सहभागीले माघ ३० गते सम्ममा नाम दर्ता गराउनु पर्नेछ । हेटौंडा ४ स्थित गर्दोइमा रहेको माओवादी केन्द्रकाे पार्टी कार्यालयमा निशुल्क नाम दर्ता गरिने व्यवस्था रहेकाे आयोजकले जनाएकाे छ । सहभागीलाई एक थान टिसर्ट आयोजकले निशुल्क उपलब्ध गराउने भएकाे छ । प्रतियोगितामा एक लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य जीवन गोले, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला लगायतको उपस्थिती रहेको थियो ।

