मकवानपुर । प्रभा–अनुज अक्षय कोष स्थापनार्थ मनकामना पार्क टोल विकास संस्थालाई समाजसेवी कृष्ण धितालले ७५ हजारको अक्षय कोष स्थापनार्थ सहयोग गर्ने घोषणा गरेका छन् ।
गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष समेत रहेका धितालले श्रीमती प्रभा धिताल र छोरा अनुज धितालको स्मृतीमा प्रभा–अनुज स्मृति कोष स्थापनार्थ ७५ हजारको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । उक्त अक्षय कोषको व्याजबाट मनकामना पार्क टोल विकास संस्थाको सदस्य परिवारको ४ जना सन्तानलाई पुरस्कृत गरिने टोल विकास संस्थाले जनाएको छ ।
टोलबासीको सन्तान मध्ये वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने निजि विद्यालयतर्फबाट १ छात्र, १ छात्रा र सरकारी विद्यालय तर्फबाट १ छात्रा र १ छात्रलाई १ हजार ५ सयको दरले पुरस्कृत गरिने टोल विकास समूह अध्यक्ष जानुका संजेलले बताइन् ।

‘‘‘हामीले संस्था कै तर्फबाट यो पुरस्कार स्थापना गर्ने प्रस्ताव गरेका थियौ, उहाँले ठुलो मन गरेर अक्षय कोष कै स्थापनार्थ सहयोग गर्नुभयो, हामी आभारी छौ’ अध्यक्ष संजेलले भनिन् । मनकामना पार्क टोल विकास संस्थाको २० औं बार्षिक साधारण सभामा धितालले यस्तो घोषणा गरेका हुन् । शनिबार सम्पन्न वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी धितालले आफू समेत यही टोलवासी भएकोले सहयोग गर्नु दायित्वको रुपमा लिएको बताए । ‘सबैले आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्ने हो भने कुनै पनि संस्थाको प्रगति हुनमा समय लाग्दैन, हामी सबैले होस्टेमा हैसे गरेर आफ्नो टोलमा समृद्धि ल्याउन सक्छौं’ धितालले भने ।
साधारण सभामा मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्यायले संस्थाको प्रगतिको लागि सामुहिक पहल आवश्यक भएको बताए । संस्थाको सञ्चालकहरुले पारदर्शितालाई ध्यान दिने र अन्य सदस्यहरुले आफ्नो जिम्मेवारी पुरा गर्ने गर्दा संस्था सफल हुने उनले बताए ।

कार्यक्रममा मनकामना खानेपानी उपभोक्त समितिका अध्यक्ष रामचन्द्र देवकोटा, प्रतिफल बचत तथा ऋण सहकारी संस्थाका रामचन्द्र खनाल, टोल विकास संस्था नगर समन्वय समिति सचिब सुधिर थापालगायतको उपस्थिती रहेको थियो ।

साधारण सभामा कोषाध्यक्ष विश्वप्रसाद गाैतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा टोल विकास संस्थाका सदस्य दिलिश गोबिन्द जोशीले आमा बुबाको सम्झनामा टोल विकास संस्थालाई ५१ हजार १ सय ५१ रुपियाँ सहयोग गरे वापत जोशीलाई सम्मान गरिएको संस्थाकी सचिव भीमा गुरागाईले बताइन् ।
साधारण सभा संस्थाको अध्यक्ष जानुका संजेलको अध्यक्षतामा भएको थियो । टोल विकास संस्थामा २ सय २५ सदस्यहरु रहेका छन् ।
मकवानपुर । मानव अधिकार संगठन बागमती प्रदेश कार्यालयले यौन हिंसा सम्बन्धि अन्तरसंवाद कार्यक्रम गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख यज्ञ अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लैङ्गक हिंसा अन्तरगत यौन हिंसा सम्बन्धि अन्तरसंवाद गरिएको थियो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा अन्तरसंवाद गरिएको हो ।
मानव अधिकार संगठन बागमती प्रदेश प्रमुख अप्सरा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र मकवानपुरको प्रहरी निरीक्षक चुडाकुमारी खड्का, मानव अधिकार संगठन मकवानपुर संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, नागरिक समाज मन्च संयोजक रमिला सापकोटा, माइती नेपाल मकवानपुर फिल्ड सुपरभाइजर, मन लामा, इन्द्रबहादुर मानव अधिकार स्मृति कोष अध्यक्ष बिजेन्द्र अग्रवाललगायतले यौन हिंसा को सवालमा बढ्दो चुनौति तथा समस्या बारे चर्चा गरेका थिए ।
कार्यक्रममा डिएलए मकवानपुर अध्यक्ष कृष्णप्रसाद भण्डारी,अधिवक्ता आर के मैनाली, इन्सेक बागमती प्रदेश प्रतिनिधि, सानाहातहरू नेपालको प्रतिनिधिलगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक सर्मिला श्रेष्ठले बताइन् ।
मकवानपुर । साहित्यकार राजकुमार लामिछानेको हास्यव्यङ्ग्य निबन्धसंग्रह बुद्विपुराण शुक्रबार लोकार्पण भएको छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा साहित्य संगम मकवानपुरको सभाहलमा बुद्धिपुराणको लोकार्पण गरेको हो । यस अघी २०७४ सालमा लामिछानेको ‘पुतलाको पावर’ हास्यव्यङ्ग्य निबन्ध संग्रह प्रकाशन भएकाे थियाे ।
मिनप्रसाद लामिछानेको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार आरसी रिजालको प्रमूख आतिथ्यमा पुस्तक लोकार्पण कार्यक्रम भएको थियो । रिजालले समाजका विकृति र बेथितिहरुमाथि व्यङ्ग्य गर्नुका साथै सामाजिक परिवर्तनमा यस पुस्तकको मागदर्शन रहेको बताए ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्षसमेत रहनुभएका लामिछाने कानुन सेवाका कर्मचारी हुनुहुन्छ । निबन्धसंग्रह बुद्विपुराणमा प्रेमकुमारीलाई पत्रदेखि दरको रहर गरी २० वटा शिर्षकमा लेखकले समाजका स्थिति, वेथिति र विकृति माथि व्यङ्ग्य प्रहार गरेका छन् । भैरव स्मृति सम्मान—२०७४ बाट सम्मानित लामिछाने सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष छन् । उनी कानुन सेवाका सरकारी कर्मचारी हुन् ।
निबन्धसंग्रह बुद्विपुराण लोकार्पण कार्यक्रममा साहित्यकारहरु ह्रग्रीव आचार्य, अनिता न्यौपाने, नवराज शर्मा, रमेशमोहन अधिकारी, सुवास खनाललगायत सहभागिता रहेकाे थियाे ।
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरका नेता एवम् जिल्ला सचिव बलराम वल नेकपा एमालेमा प्रवेश गरेका छन् । बलसँगै प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) संयोजक नरेन्द्र रिजाल सहित १२ जना शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
शुक्रबार नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनीहरुलाई एमाले पार्टी प्रवेश गरेकाे हुन् । एमाले अध्यक्ष ओलीले खादा ओढाएर बल सहितका नेतालाई स्वागत गरेका थिए । मकवानपुरको कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेताको रुपमा रहेका वल जनमोर्चा र माओवादीको एकिकरणसँगै माओवादीमा रहेका थिए । माओवादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वार समेत रहेका वललाई मकवानपुरे कम्युनिष्ट आन्दोलनको प्रखर वक्ताको रुपमा समेत चिनिदै आएका छन् ।
बल सहित राधाकृष्ण रिजाल,बसुन्धारा सुरेन्द्र रिजाल, राज वाइवा, नविन रिजाल, केसर भुजेल, रञ्जन सापकोटा, राधा भुजेल र समिर विष्ट लगायत नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुले देश र जनताका लागि काम गर्ने केपी ओलि जस्तो नेता अर्को सय वर्ष नपाइने भन्दै ओली नेतृत्वको पार्टीमा समाहित हुन पाउँदा एकदमै खुशी लागेको बताएका छन् ।
मकवानपुर । पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विहीवार हेटौंडामा एक कार्यक्रमका बिच विमोचन भएको छ ।
मकवानपुरको पत्रकारितालाई पृष्ठभूमिकाल, साप्ताहिक पत्रिकाको विकासकाल, दैनिक पत्रिकाको विकासकाल, रेडियोको विकासकाल, टेलिभिजनको विकासकाल र अनलाइनको विकासकालमा विभाजन गरी पत्रकारिताको इतिहास लेखिएको उक्त पुस्तकको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले विमोचन गरेका हुन् ।
पुस्तक विमाेचन गर्दै प्रदेश प्रमुख शर्माले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने बताए । सत्यतथ्य र निश्पक्षतामा आधारित पत्रकारिता हुनुपर्छ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भने ‘पत्रकारहरुले पेशाप्रति प्रतिवद्ध भई देश र जनताप्रति जवाफदेही बन्नुपर्छ ।’
पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि उठाउनुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको लागि पत्रकारहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई पनि त्यागेर प्रजातन्त्रको सम्बद्र्धन र राष्ट्रियताको जगेर्ना गर्न पत्रकारिता क्षेत्रको विश्वसनीयतालाई जनतासामु पुर्याउन उनले आग्रह गरे । प्रदेश प्रमुख शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ युवा पुस्तालाई पत्रकारिता क्षेत्रको विकासको लागि अग्रसर रहनुपर्ने आवश्यकता रहेको बताए ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले अधिकारीद्वारा लिखित मकवानपुरमा मिडिया पुस्तक देशमै संग्रहणीय हुने र अग्रज पत्रकारहरुको योगदानको कदर पुस्तकले गरेको बताइन् ।
पुस्तकमा हालसम्म पत्रकार महासंघ मकवानपुरको नेतृत्व सम्हालेका अध्यक्षहरुको अनुभव, अग्रज पत्रकारहरुको अनुभव, मकवानपुरबाट पत्रकारिता सुरु गरी हाल मकवानपुरबाहिर रही पत्रकारिता गरिरहेका व्यक्तित्वहरुको विषय पुस्तकमा समेटिएको लेखक अधिकारीले बताए ।
उक्त पुस्तकको समिक्षक रामचन्द्र आचार्य फुर्सती, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र पुस्तक प्रकाशक संस्था राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष नवराज न्यौपानेले उक्त पुस्तक सार्वजनिकीकरण गरिएबाट मकवानपुरका युवा जगतलाई पत्रकारिता क्षेत्रको माध्ययमबाट मुलुकमा देखिएको भ्रष्टाचार विसंगती र हिंसालाई न्यूनिकरण गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्साल, नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौँलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनलगायत मकवानपुरका संचारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।