मकवानपुर । प्रभा–अनुज अक्षय कोष स्थापनार्थ मनकामना पार्क टोल विकास संस्थालाई समाजसेवी कृष्ण धितालले ७५ हजारको अक्षय कोष स्थापनार्थ सहयोग गर्ने घोषणा गरेका छन् ।
गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष समेत रहेका धितालले श्रीमती प्रभा धिताल र छोरा अनुज धितालको स्मृतीमा प्रभा–अनुज स्मृति कोष स्थापनार्थ ७५ हजारको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । उक्त अक्षय कोषको व्याजबाट मनकामना पार्क टोल विकास संस्थाको सदस्य परिवारको ४ जना सन्तानलाई पुरस्कृत गरिने टोल विकास संस्थाले जनाएको छ ।
टोलबासीको सन्तान मध्ये वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने निजि विद्यालयतर्फबाट १ छात्र, १ छात्रा र सरकारी विद्यालय तर्फबाट १ छात्रा र १ छात्रलाई १ हजार ५ सयको दरले पुरस्कृत गरिने टोल विकास समूह अध्यक्ष जानुका संजेलले बताइन् ।

‘‘‘हामीले संस्था कै तर्फबाट यो पुरस्कार स्थापना गर्ने प्रस्ताव गरेका थियौ, उहाँले ठुलो मन गरेर अक्षय कोष कै स्थापनार्थ सहयोग गर्नुभयो, हामी आभारी छौ’ अध्यक्ष संजेलले भनिन् । मनकामना पार्क टोल विकास संस्थाको २० औं बार्षिक साधारण सभामा धितालले यस्तो घोषणा गरेका हुन् । शनिबार सम्पन्न वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा सहभागी धितालले आफू समेत यही टोलवासी भएकोले सहयोग गर्नु दायित्वको रुपमा लिएको बताए । ‘सबैले आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्ने हो भने कुनै पनि संस्थाको प्रगति हुनमा समय लाग्दैन, हामी सबैले होस्टेमा हैसे गरेर आफ्नो टोलमा समृद्धि ल्याउन सक्छौं’ धितालले भने ।
साधारण सभामा मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्यायले संस्थाको प्रगतिको लागि सामुहिक पहल आवश्यक भएको बताए । संस्थाको सञ्चालकहरुले पारदर्शितालाई ध्यान दिने र अन्य सदस्यहरुले आफ्नो जिम्मेवारी पुरा गर्ने गर्दा संस्था सफल हुने उनले बताए ।

कार्यक्रममा मनकामना खानेपानी उपभोक्त समितिका अध्यक्ष रामचन्द्र देवकोटा, प्रतिफल बचत तथा ऋण सहकारी संस्थाका रामचन्द्र खनाल, टोल विकास संस्था नगर समन्वय समिति सचिब सुधिर थापालगायतको उपस्थिती रहेको थियो ।

साधारण सभामा कोषाध्यक्ष विश्वप्रसाद गाैतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा टोल विकास संस्थाका सदस्य दिलिश गोबिन्द जोशीले आमा बुबाको सम्झनामा टोल विकास संस्थालाई ५१ हजार १ सय ५१ रुपियाँ सहयोग गरे वापत जोशीलाई सम्मान गरिएको संस्थाकी सचिव भीमा गुरागाईले बताइन् ।
साधारण सभा संस्थाको अध्यक्ष जानुका संजेलको अध्यक्षतामा भएको थियो । टोल विकास संस्थामा २ सय २५ सदस्यहरु रहेका छन् ।

