मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरका नेता एवम् जिल्ला सचिव बलराम वल नेकपा एमालेमा प्रवेश गरेका छन् । बलसँगै प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) संयोजक नरेन्द्र रिजाल सहित १२ जना शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
शुक्रबार नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनीहरुलाई एमाले पार्टी प्रवेश गरेकाे हुन् । एमाले अध्यक्ष ओलीले खादा ओढाएर बल सहितका नेतालाई स्वागत गरेका थिए । मकवानपुरको कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेताको रुपमा रहेका वल जनमोर्चा र माओवादीको एकिकरणसँगै माओवादीमा रहेका थिए । माओवादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वार समेत रहेका वललाई मकवानपुरे कम्युनिष्ट आन्दोलनको प्रखर वक्ताको रुपमा समेत चिनिदै आएका छन् ।
बल सहित राधाकृष्ण रिजाल,बसुन्धारा सुरेन्द्र रिजाल, राज वाइवा, नविन रिजाल, केसर भुजेल, रञ्जन सापकोटा, राधा भुजेल र समिर विष्ट लगायत नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुले देश र जनताका लागि काम गर्ने केपी ओलि जस्तो नेता अर्को सय वर्ष नपाइने भन्दै ओली नेतृत्वको पार्टीमा समाहित हुन पाउँदा एकदमै खुशी लागेको बताएका छन् ।
