मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौंडामा राँके जुलुससहित विरोध प्रर्दशन गरेको छ । हालै प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट पास गरिएको नागरिक बिधयक विरुद्ध राप्रपाले विरोध गरेको हो ।
शुक्रबार साँझ राप्रपाले नागरिकता विधेयक,भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग गर्दे राँके जुलुस गरेका हुन् ।
हेटौंडा ५ सानोपोखरा स्थित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शनको यार्ली कान्तिराजथ, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा राप्रपा नेपालका केन्द्रीय सदस्य दिपक बहादुर सिंहले सम्बोधन गरेका थिए । नागरिकता विधेयक पास गर्न भारतले हाम्रा नेताहरुलाई ठुलो आश्वासन दिएको उनले बताए ।
मकवानपुर । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठक तथा जिल्ला स्तरीय प्रशिक्षण शुक्रबार हेटौँडामा भएको छ ।
पार्टीका उपाध्यक्ष एबम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा बसेको बैठकले साउन र भदौ महिनाभर संगठन सुदृढिकरण कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजना निर्माण गरेको छ ।
कार्य योजना अन्तर्गत हरेक पालिका तहको बैठक, भातृ संगठनहरुको बैठक, वडा तहको संगठन निर्माण र पुनगठन एबम् प्रशिक्षण लगायतका कार्यक्रमहरु रहेको पार्टी अध्यक्ष सूर्यचन्द्र न्यौपानेले जानकारी दिए । त्यसैगरी प्रतिनिधि सभा तथा प्रदेश स्तरीय कमिटीहरुको पूर्णता र पार्टी सदस्यता बितरणलाई समेत प्रमुख प्राथमिकतामा राखी पार्टीले राजनीतिक गतिविधिहरुलाई तीब्रता दिन लागिएको उनले बताए ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष एबम् बागमती प्रदेश इन्चार्ज न्यौपानेले अहिले पनि राष्ट्रियतामाथि खतरा रहेको राष्ट्रिय परिवेशबारे चर्चा गरेका थिए । उनले एससिसि र एसपिपी सम्झौताले देशमा चाइनाबिरुद्ध अमेरिकी हस्तक्षेप बढिरहेको र त्यसले नेपाललाई भविष्यमा युक्रेनीकरण गर्ने अबस्था आउन सक्ने बताए ।
‘यो जटिल परिस्थितिको सामना हामीले गर्नुपर्नेछ’, उनले भने “यस्तो अबस्थामा देशप्रति जिम्मेवार पार्टीको रुपमा नेकपा एकीकृत समाजवादीलाई बलियो रुपमा उभ्याउनु आजको आवश्यकता बनिसकेको छ।”
कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य एबम् बागमती प्रदेश अध्यक्ष साबित्रा भुषालले पार्टी संगठनको बिस्तार, विकास, मूल्यांकन तथा अनुशासनका बिषयमा कार्यकर्ताहरु सचेत भएर लाग्नुपर्ने सुनाए। त्यसैगरी अर्का स्थायी कमिटी सदस्य एबम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले केपी ओली नसुध्रिएसम्म बाम एकता वा तालमेलमा एमाले नसमेटिने बताए।
अर्का स्थायी कमिटी सदस्य एबम् मकवानपुर जिल्ला इन्चार्ज ललितकुमार बस्नेतले पार्टी संगठनको काम स्थानीय तहको निर्वाचनपछि सुस्त भएको प्रसंग कोट्याउँदै अहिले नै थकित हुन नहुने बताए।
कार्यक्रममा जिल्ला सचिवालय कमिटीले तयार पारेको कार्ययोजना पारित गरेको छ । कार्ययोजना अन्तर्गत सबै पालिकामा अब राजनीतिक गतिविधिहरु हुने पार्टीका सचिव बिष्णुप्रसाद दाहालले जानकारी दिए।
मकवानपुर – साउने झरीमै हेटौंडा–फापरबारी–राइगाउँ सडक खण्डमा सडक मर्मत कार्य भैरहेको छ । साउनको दोस्रो साता सकिनै लाग्दा हतार हतारमा भइरहेको यो काम एउटा उदाहरण मात्रै हो ।
प्रभावकारी योजनालाई सही समयमा सही तरिकाले नगर्दा विकास निर्माणको कामहरू दीर्घकालीन हुन सकेका छैनन् । मकवानपुरका स्थानीय तहहरूले ठूला योजना अघि बढाउन सकेको छैनन् ।
स्थानीय आवश्यकता ‘सम्बोधन’ गरेको भन्दै बन्ने साना र टुक्रे योजना मै स्थानीय तह केन्द्रित रहने गरेका छन्। प्रदेश र संघको तुलनामा स्थिर नेतृत्व रहने स्थानीय तहले ठूला योजना अघि बढाउन आँट नगरेपछि साना साना विकास निर्माणमा स्थानीय सरकार अल्झिएका छन् ।
संघीय र प्रदेश सरकारले छुट्याएको थोरै बजेट र ती बजेटका टुक्रे योजना सकाउन स्थानीय तह केन्द्रित छ । एकै वर्षमा सकाउनुपर्ने साना योजनाहरूमा आर्थिक वर्षको सुरुवातमै कामलाई तीव्रता नदिँदा असार र साउनको झरीमा निर्माण कार्य हुने गरेको छ ।
‘आर्थिक वर्षको अन्त्य, असार मसान्तमा काम सकाउने गरी साना योजना अघि बढाउँदा गुणस्तर नै हुँदैन,’ बागमती गाउँपालिका फापरबारीका स्थानीय सागर लामाले भने । बर्सेनि असारे विकासबारे विरोध भइरहे पनि यसमा सुधार नभएको उनले बताए ।
मकवानपुर जिल्लामा मात्रै हैन, बागमती प्रदेशका अधिकांश स्थानीय तह अहिले बजेट पासका लागि असारे विकासको चटारोमा केन्द्रित छन् । चालू आर्थिक वर्ष ०७८/७९ को अन्तिम चार महिनामा बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना बनाएपछि असार अन्तिम सातामा धमाधम भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रमा काम भइरहेको छ । गत वैशाखअघि पाँच लाख रुपैयाँसम्म बजेट भएको करिब २३ सय योजना उपभोक्ता समितिमार्फत काम गर्ने गरी प्रदेश सरकारले वितरण गरेको थियो।
टुक्रे योजनाका लागि बागमती सरकारबाट तीन अर्ब १५ करोड ३५ लाख रुपैयाँ निकासा भइसकेको छ। पहिलो चरणमा उक्त योजनालाई प्रदेश सरकारले १ अर्ब चार करोड ९५ लाख रुपैयाँ बजेट दिएको थियो । दोस्रो चरणमा त्यहीँ साना योजनालाई २ अर्ब दश करोड ४० लाख रुपैयाँ बजेट दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। वर्षौंदेखि आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च गर्ने परिस्थित नहट्दा असारे विकास झल्किने गरेको मन्त्रालयका प्रवक्ता शशी भट्टराईले बताए ।
मन्त्रालयले मात्र चाहेर समयमै काम नहुने उनले बताए । ‘सबै निकाय उत्तिकै सक्रिय हुन जरुरी छ’ भट्टराईले भने । मन्त्रालयले समयमा नै कार्यक्रमहरू अघि बढाउन आर्थिक वर्षको सुरुमै बजेट परिचालन र अन्य समस्याहरूमा सम्बन्धित मन्त्रालयहरूलाई सहजीकरण गरिरहेको उनले बताए। प्रदेश सरकारले दश लाखभन्दा कम रकमको योजना स्थानीय तहमा नदिने दाबी गर्दै आएको थियो, तर त्यो व्यवहारमा देखिएको छैन ।
चालू आवको अन्तिममा पाँच लाख रुपैयाँसम्मको साना योजना प्रदेश सरकारले स्थानीय तहमा बाँड्यो । मन्त्रालयका अनुसार अर्थ तथा विविध शीर्षकमा रहेका पाँच अर्बबाट प्रदेश सरकारले असारमा मात्र सडक सञ्जाल निर्माण, विद्यालयको कम्पाउन्ड निर्माण, सामुदायिक वन भवन निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, बाख्रापालन, तटबन्धनका कामहरूका लागि रकम वितरण गरेको छ ।
बागमती प्रदेश सरकारले छुट्याएको २५ लाखको योजना सकाउने चटारो हेटौँडा उपमहानगरपालिका भित्र पनि प्रशस्तै भेटिन्छन् । हतार गुणस्तरलाई बेवास्ता गर्दै हुने विकासे कामको कुनै अर्थ नरहने भन्दाभन्दै पनि हेटौँडा–५ स्थित पिप्ले रंगशाला नजिक रहेको कर्रा खोलामा १३ दिनमै तटबन्धनको काम सकाइएको छ । असारको अन्त्यतिर २५ लाख बजेटमा खोला किनारमा ८२ मिटर तटबन्धनको काम १३ दिनमै सकिएको उपभोक्ता समिति स्थानीय जनप्रवाह क्लबका अध्यक्ष हरिबहादुर कुँवरले बताए ।
राम्रोसँग गर्दा यही काम तीन महिना लाग्नेथियो, बजेट रोकिने डरले दुई साताभित्रै काम सकिएको उनले बताए । प्रदेश सरकारले छुट्याएको बजेटमा देखिएको असारे विकासको चटारो सरकारी निकायमै भेटिएको छ । प्रदेशको सबैजसो जिल्लामा साउनको दोस्रो साता सकिदै गर्दा म्याद थप गरिएका योजनाहरुमा झरी वर्षाको बाबजुत भटाभट निर्माण कार्य हुँदै गरेका छन् । यस्ता योजनाहरू स्थानीय तहको समेत रहेका छन् ।
मकवानपुर । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बागमती प्रदेशको राजधानी हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र निर्माण कार्य चाँडै थालिने आश्वासन दिएका छन् । मन्त्री बडूले आज वैकल्पिक औद्योगिक क्षेत्र निर्माण स्थलको अनुगमन गर्दै यस्तो बताएका हुन ।
मकवानपुरको हेटौंडा–१४ मा निर्माण गर्न लागिएको मयुरधाप औद्योगिक क्षेत्रमा चाँडै निर्माण कार्य सम्पन्न गरीने र काठमाडौंका उद्योगलाई यहाँ विस्थापन गर्न सकिने उद्योगमन्त्री बडुले बताए । १ वर्ष अघि नै वातावरणीय प्रभाव मुल्याङ्कपछि निर्माण कार्य थालिने तयारी भएको भए पनि उक्त स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्न पर्सा वन्यजन्तु आरक्षले अनुमति नदिएपछि काम अधिबढ्न सकेको छैन ।
उनले उद्योग व्यवसायको अवस्था र समस्या बारे स्थानीयस्तरमा पुगी जानकारी लिनु पर्ने पनि बताए । स्थानीय स्तरसम्म पुग्दा यो क्षेत्रको समस्यालाई प्रभावकारी ढंगले समाधान गर्न सहज हुने उनले बताए । हाल देशको अर्थतन्त्र सहज नभएको, आयातमा निर्भरता बढ्नुका साथै निर्यातको अपेक्षा पूरा गर्न नसकिएकोले व्यापार घाटा बढेको उनले बताए ।
मुलुकको राष्ट्रिय उत्पादन र निर्यातजन्य उत्पादन बढाउन आवश्यक रहेको त्यसका लागि नीति निर्माण गरेको, सरकारले चलाएका १० वटा औद्योगिक क्षेत्र पूर्ण रुपमा सञ्चालन हुन नसकेको, औद्योगिक क्षेत्रमा जमिन ओगटेर उद्योग सञ्चालन नगरेकाको हकमा निर्णायक समाधान खोजिने उनले बताए ।
अवलोकन टोलीमा नेपाली कांग्रेस मकवानपुर जिल्लाको जिल्ला सभापति बुद्ध लामा, हेटौंडा उपमहाननगरपालिका १४ का वडा अध्यक्ष दिपक खड्का, उपमहानगरपालिकाको उपप्रमुख राजेश बानियाँलगायतको उपस्थिती थियो ।
आजै मन्त्री बडुले मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको भेटमा राष्ट्रिय उत्पादन बढाउन चलिरहेका उद्योगहरु पूर्ण क्षमतामा चालाउनु पर्ने बताए । बिराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग जस्ता उद्योगहरु पुनः संचालनमा ल्याउनु पर्ने र नया“ उद्योगहरु स्थापना गर्नुपर्ने उनले बताए । हेटौंडा कपडा उद्योग पुनः संचालन गर्न बजेट विनियोजन भइसकेको र निजी क्षेत्रले संचालन गर्न चाहेमा प्रक्रिया प्रारम्भ गरिने उनले बताए ।
बिदेशी मुद्रा सञ्चिति र व्यापार घाटा घटाउन उद्योगहरुको साठी प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने, सुनसरीमा ६५० बिगा र सुदुरपश्चिमको हरैयामा ३२० बिगा जमिन उद्योग स्थापनाको लागि छुट्याइएको, औद्योगिक क्षेत्र नै निजी क्षेत्रले चलाउन चाहे भाडामा उपलब्ध गराउन सकिने उनले बताए ।
उनले नापतौल कार्यालय हेटौंडामा स्थापना गर्न काठमाडौं गएपछि तुरुन्तै लाग्ने आश्वमस समेत दिए । “झन्झट घटाउन उद्योग दर्ताको लागि एकल विन्दु सेवा केन्द्रको अवधारणामा मन्त्रालयले तयारी गरेको छ” उनले भने “सिमेन्ट, क्लिंकर र फुटवेयरमा देश आत्मनिर्भर भइसकेको छ, दैलेखको पेट्रोलियम पदार्थ निकाल्दा लागतभन्दा उत्पादन धेरै हुने देखिए उत्पादन शुरु गरिनेछ ।”
विजुली उत्पादन गरी एलपीजी ग्या“स खपत घटाउन सकिने र आरक्षको समस्या हटाएर मयुरधाप विस्तारित औद्योगिक क्षेत्र सञ्चालन गरिने उनले बताए ।
मउवासंघको कार्यक्रममा संघका पूर्व अध्यक्ष जिवनकाजि माकजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र उज्वल चौलागाई, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिव राजाराम कार्की, नेपाली का“ग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक बसन्त कुमार पाण्डे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतम, मकवानपुर चेम्बर अफ कमर्शका अध्यक्ष माधव न्यौपाने सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरमा धार्मिक पर्यटन विकास समिति गठन गरिएको छ । जिल्लाभित्रका धार्मिक पर्यटन क्षेत्रको एकीकृत रुपमा विकास गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।
गठित धार्मिक पर्यटन विकास समिति संयोजकमा नेपाली कांग्रेस जिल्ला सचिब तथा युवा नेता भीमसेन महत चयन भएका छन् । मंगलबार भएको भेलाबाट महतको नेतृत्वमा धार्मिक पर्यटन विकास समिति मकवानपुर गठन गरिएको हो ।
समितिमा सहसंयोजक इश्वरीप्रसाद न्यौपाने, सचिव विनोद महत, सहसचिव बासुदेव खतिवडा र कोषाध्यक्ष राममान श्रेष्ठ रहेका छन् । यस्तै, सदस्यहरुमा क्रमशः केदार चौलागाईं, रामानुज वाग्ले, चित्रप्रसाद भट्ट, जगन्नाथ पाण्डे, शालिकराम अधिकारी, अर्जुनप्रसाद तिमल्सिना, राजीव सुवेदी र रविन्द्र घिमिरे रहेका छन् ।
समितिले पहिलो चरणमा हेटौंडाभित्रका संरचना निर्माण भएका मन्दिरको गुरुयोजना बनाउने र स्थानीय तथा प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आग्रह गर्ने महतले जानकारी दिए । ‘अब स्थानीय र प्रदेश सरकारलाई छिटपुट रकम विनियोजित नगरी एकीकृतरुपमा गुरुयोजना अनुसार बजेट छुट्याउन हामी अनुरोध गर्नेछौं ।’ महतले भने
महतले भारतीय सीमा क्षेत्रका धार्मिक पर्यटकलाई मकवानपुर भित्र्याउन आवश्यक प्रचारप्रसार कार्य समितिले अगाडि बढाउने जानकारी दिए ।
