मकवानपुर। मकवानपुरमा ९८ जना लामखुट्टेकाे टाेकाईबाट लाग्ने डेंगु संक्रमित थपिएका छन् । पछिल्लाे २४ घण्टामा थप ९८ जनामा डेंगु संक्रमित पुष्टि भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ । योसंगै जिल्लामा डेंगु संक्रमितको संख्या १ हजार ४ सय २९ पुगेको छ ।
मकवानपुर जिल्लाको १० पालिका मध्ये ८ पालिकामा डेगुंका विरामी भेटिएकाे स्वास्थ्य कार्यालयका लक्ष्मण घिमिरेले जानकारी दिए । जिल्लाकाे हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी डेंगु संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार हेटौंडा उपमहानगरपालिकामा १ हजार ३ सय ५५ जना, मकवानपुरगढी गाउँपालिकामा १९, थाहा नगरपालिकामा १७ जनामा डेंगु संक्रमित भेटिएका छन् ।
यसैगरी मनहरी गाउँपालिकामा १७, भिमफेदी गाउँपालिकामा ११, बकैया गाउँपालिकामा ५, बागमती गाउँपालिकामा ३ र राक्सिराङ गाउँपालिकामा १, कैलाश गाउँपालिकामा १ जनामा डेंगु संक्रमित भेटिएको घिमिरेले बताए । हालसम्म इन्द्रसरोवर गाउँपालिकामा भने डेगुं संक्रमित भेटिएका छैन् । हालसम्म हेटाैडा उपमहानगरपालिकाका १ जनाकाे डेंगु संक्रमणका कारण मृत्यु भएकाे छ ।
डेगुं सङ्क्रमित विरामीले मकवानपुरका सरकारी अस्पताल सहित निजी अस्पताल डेगुंका विरामीले भरिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । सरकारी अस्पताल हेटौंडा अस्पताल तथा चुरेहिल, सहकारी, सन्चो, सिटी लगायतका निजी अस्पतालमा डेगुंका विरामीले भरिभएकाे सूचना अधिकारी घिमिरेले बताए । गम्भीर प्रकृतीका विरामीलाई छिमेकी जिल्ला चितवन र काठमाडौंको अस्पतालमा रिफर गरिएको उनले बताए । उनका अनुसार ‘कुन अस्पतालमा कति कति छन्, बिवरण आएको छैन ।
उपमहानगरकाे डेंगु नियन्त्रण अभियान
हेटाैंडा उपमहानगरपालिका क्षेत्रमा डेंगु राेगका बिरामी बढ्दै गएपछि उपमहानगरपालिकाबाट थालिएकाे स्प्रे अभियान नगरका विभिन्न वडाहरुमा चलिरहेकाे उपमहानगरपालिका कार्यालयले जनाएको छ । उपमहानगरपालिकाकाे जनस्वास्थ्य शाखाकाे अनुसार अहिलेसम्म हेटौडा उपमहानगरपालिकाका १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नियमितरुपमा स्प्रे गर्दै आएको छ ।
डेंगु संक्रमण दर बढ्दै गएपछि नगर प्रहरी लगायतकाे जनशक्ति परिचालन गरी स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चालन गरिरहेकाे हेटौडा उपमहानगरपालिकाले जनाएकाे छ । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो । संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए ।
संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताए । असार अन्तिमबाट सुरु भएको संक्रमणदर बिस्तारै बढ्दै गएको हाे । हेटौंडा उपमहानगरका बजार क्षेत्रमा पर्ने ४ र ५ वडामा बढी बिरामी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीको संख्या बढ्दै जानुले सतर्कता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ ।

मकवानपुर । हेटौडा उपमहानगरपालिकामा मंगलबार दिउँसो भएकाे दुर्घटनामा घाइते भएका १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । हेटौडा–५, शान्तिनगरस्थित भित्री सडकखण्डमा भदाै २८ गते मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत मैनालीकाे मृत्यु भएको हाे ।
मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा शन्तिनगरतर्फबाट समीलतर्फ जाँदै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौंडा–४ का २८ वर्षीय मैनालीलाई थप उपचारकाे लागि चितवन मेडिकल लगिएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे थियाे । भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा बुधबार दिउँसो ४ बजेर ५० मिनेटमा डाक्टरले मैनालीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
मकवानपुर । अंगारेश्वर टोलविकास संस्था हेटौंडा १७ ले टोल सरसफाई गरेको छ। टोलविकास संस्थाका अध्यक्ष श्री सिताराम वाइबाको नेतृत्वमा कठायत चोकबाट बालबोध माध्यमिक विद्यालयसम्म सफाई गरेको हो।
सरसफाईको क्रममा सडक किनारमा रहेका झाडी सफा गर्ने, फ्याँकिएका पोलिथिन झोला र प्लास्टिकजन्य पदार्थ संकलन तथा बाटोमा रहेको गिट्टी र बालुवा व्यवस्थापन गरिएको हो । कार्यक्रममा अध्यक्ष वाइबाले सरसफाई कार्यक्रमलाई निरन्तरता दिइ अंगारेश्वर टोललाई हेटौंडाको सफा टोलको चिनारी बनाउन लागि पर्ने बताए।
टोलविकासका ८५ जना सहभागी भएको सरसफाई कार्यक्रममा महिला सहभागिता बढाउन उपाध्यक्ष रमा खड्काले सक्रिय भूमिका निर्वाह गरेको संस्थाकी सचिव सन्तोषी खड्काले जानकारी दिईन् ।

मकवानपुर । मकवानपुरगढी गाउँपालिका ३ मक्राञ्चुली स्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निक्षेप संकलन १३ करोड पुर्याएको छ । सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा १३ करोड ७२ लाख, ३६ हजार ९५८ रुपियाँ वास्तविक निक्षेप संकलन गरेको हो ।
सहकारीले अघिल्लो आर्थिक वर्षमा ११ करोड, ७४ लाख, २३ हजार ६९४ निक्षेप संकलन गरेको थियो । सहकारीको आफ्नो २४ औं वार्षिक साधारण सभामा कोषध्यक्ष सुमित्रा दुलालले यस्तो प्रतिवेदश सार्वजनिक गरेकी हुन् । सहकारीको हाल ७५ लाख ६६ हजार जगेडा कोष रहेको दुलालको प्रतिवेदनमा उल्लेख छ ।
शनिबार सम्पन्न साधारण सभामा अध्यक्ष कल्पना श्रेष्ठले साकोसमार्फत गाउँवासीलाई आत्मनिर्भर बनाउने र शहरवासीहरुलाई संभावनाको खोजि गर्दै गाउँ पस्ने वातावरण सिर्जना गर्न सहकारी लागि परेको बताइन् ।
श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले सहकारीले स्थानीयको जनविजिका उठाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट ऋणी, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ताहरुलाई पुरस्कृत गरिएको सचिव सरिता विश्वकर्माले बताइन् ।
मकवानपुर । भक्तपुरको सुर्यबिनायकमा भएको राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट मकवानपुरका नरेन्द्र भण्डारी कोषाध्यक्षमा चयन भएका छन् ।
युवा संघ नेपालको बागमती प्रदेश कार्यसमिति चयन गरिएको हो । जय गुरुङको नेतृत्वमा ९७ सदस्यीय समितीमा मकवानपुरका भण्डारी कोषाध्यक्ष चयन भएका हुन् ।
मकवानपुरे विश्वराज राई, इन्साफ़ केसी, सागर पाण्डे, छेकु लामा, मीनू वाईबा, विजय बलामी र सुवास गोले सदस्यमा चयन भएका छन् ।
यस्तै समितिको उपाध्यक्षमा दिलिप पौडेल, सचिवमा राजु तिवारी सहसचिवमा माधव श्रीमाली, सहसचिव: राजेश खड्का चयन भएका छन् । त्यस्तै बागमती युथफोर्सको संयोजकमा सुरेनविक्रम योन्जन चयन भएका छन् भने उपप्रमुखमा सुमितजंग कार्की छन् । युवा संघकै घटक साइबर सर्कल एवं प्रवक्तामा विनोद पौडेलसहित ९७ सदस्यीय प्रदेश कमिटी चयन भएको युवा संघले जनाएको छ ।
सूर्यविनायकमा भएको अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका थिए । अधिवेशनमा युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल, क्रान्ति बुर्लाकोटी, महासचिव क्षितिज थेबेलगायतले शुभकामना दिएका थिए ।
