मकवानपुर । मकवानपुरगढी गाउँपालिका ३ मक्राञ्चुली स्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निक्षेप संकलन १३ करोड पुर्याएको छ । सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा १३ करोड ७२ लाख, ३६ हजार ९५८ रुपियाँ वास्तविक निक्षेप संकलन गरेको हो ।
सहकारीले अघिल्लो आर्थिक वर्षमा ११ करोड, ७४ लाख, २३ हजार ६९४ निक्षेप संकलन गरेको थियो । सहकारीको आफ्नो २४ औं वार्षिक साधारण सभामा कोषध्यक्ष सुमित्रा दुलालले यस्तो प्रतिवेदश सार्वजनिक गरेकी हुन् । सहकारीको हाल ७५ लाख ६६ हजार जगेडा कोष रहेको दुलालको प्रतिवेदनमा उल्लेख छ ।
शनिबार सम्पन्न साधारण सभामा अध्यक्ष कल्पना श्रेष्ठले साकोसमार्फत गाउँवासीलाई आत्मनिर्भर बनाउने र शहरवासीहरुलाई संभावनाको खोजि गर्दै गाउँ पस्ने वातावरण सिर्जना गर्न सहकारी लागि परेको बताइन् ।
श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले सहकारीले स्थानीयको जनविजिका उठाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट ऋणी, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ताहरुलाई पुरस्कृत गरिएको सचिव सरिता विश्वकर्माले बताइन् ।

