मकवानपुर । हेटौडा उपमहानगरपालिकामा मंगलबार दिउँसो भएकाे दुर्घटनामा घाइते भएका १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । हेटौडा–५, शान्तिनगरस्थित भित्री सडकखण्डमा भदाै २८ गते मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत मैनालीकाे मृत्यु भएको हाे ।
मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा शन्तिनगरतर्फबाट समीलतर्फ जाँदै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौंडा–४ का २८ वर्षीय मैनालीलाई थप उपचारकाे लागि चितवन मेडिकल लगिएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे थियाे । भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा बुधबार दिउँसो ४ बजेर ५० मिनेटमा डाक्टरले मैनालीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

