मकवानपुर । अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरकाे आयोजनामा भएकाे रक्तदान कार्यक्रममा २१ जना महिलाले रक्तदान गरेका छन् । १ सय १४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार अनेमसंघ मकवानपुरले रक्तदान कार्यक्रम गरेकाे हाे ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अनेमसंघले सप्ताहाव्यापी कार्यक्रम आयोजना गरि मनाउँदैछ । साताव्यापी कार्यक्रम अन्तर्गत साेमबार रक्तदान आयोजना गरिएको अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेले बताइन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेमसंघले मंगलबार दिउँसाे स्लो स्कुटी रेस कार्यक्रम गर्ने काफ्लेले जानकारी दिइन् ।
यसैगरी क्याम्पसस्तरीय वक्तृत्वकला, महिला अधिकारको विषयमा अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गर्ने उनले बताइन् । “समान सहभागिता र सशक्तीकरणका लागि महिलामा लगानी” भन्ने मूल नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ ।
अनेमसंघ मकवानपुरकी अध्यक्ष काफ्लेको अध्यक्षता तथा अनेमसंघ स्थायी कमिटी सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज पद्मा पौडेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा केन्द्रिय कमिटि सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, केन्द्रिय कमिटि सदस्य पार्वती राना, जिल्ला कमिटि सदस्य आरती पाठक लगायतकाे आतिथ्यता रहेको थियो ।
राक्सिराङ,मकवानपुर। राक्सिराङ (मकवानपुर)। संघीयतापछि गाउँ र टोलको विकास गर्न केन्द्रीय बजेटको पर्खाइ आवश्यक छैन । जहाँ जुन स्थानमा जे आवश्यक छ स्थानीय सरकारले त्यहाँ लगानी गर्न र प्रवद्र्धन गर्न सक्नेछ ।
संघीयतापछि स्थानीय क्षेत्रको विकासमो लय समाएको एउटा उदाहरण हो पर्यटकीय क्षेत्र । यस्तै उदाहरण बनेको छ मकवानपुरको राक्सिराङ गाउँपालिकाको जलपरी झरना । संघीय सरकारले स्थानीय स्तरको संभावना कहिले खोज्ने ? स्थानीय आवश्यकता कहिले मनन गर्ने र कहिले पहिचान प्रवद्र्धनको लागि लगानी गर्ने ? यि सवाल धेरै परमा हुन् ।
जब स्थानीय सरकारले स्थानीय क्षेत्रको संभावनालाई आफैंले नियाल्न पायो, आफैंले बजेटको व्यवस्थापन गरी पहिचान र प्रवद्र्धनमा ध्यान दिन थाल्यो, यो जलपरी झरना अहिले गन्तव्यको रुपमा विकास भएको छ । बिदाको दिन हाइकिङ जानेहरुले आफूसँगै मिठो स्मरणमा सजाउँछन् यो झरनाको तस्वीर । मकवानपुरको पश्चिम क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकास्थित जलपरी झरना आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदैछ ।
मकवानपुर जिल्लाकाे भौगोलिक रुपले विकट राक्सिराङ गाउँपालिका ३ स्थित सिद्धार्थ हरियाली सामुदायिक वन क्षेत्रमा पर्ने जलपरी झरना र संगै रहेको करिब १ सय मिटर लामो चमेरो गुफा पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेको छ । उक्त झरनाको अवलोकनका लागि हेटौंडालगायत मकवानपुरको अन्य क्षेत्रबाट समेत मानिसहरु आउने गरेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए ।
झरना र गुफाको संरक्षणसंगै विकासका लागि राक्सिराङ र प्रदेश सरकारले लगानी गरेको अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए। प्राकृतिक रुपले आकर्षक र सुन्दर जलपरी झरना परिसरमा बागमती प्रदेश सरकारको लगानीमा राक्सिराङ गाउँपालिकाले भौतिक संरचनाहरु निर्माण गरेको छ ।
झरना र त्यसको आडैमा रहेको चमेरो गुफासम्म पुग्नका लागि सडकको सुविधा रहेको छ । मनहरी बजारबाट चैनपुर हुदै पलासे बजार नजिकैबाट र मनहरीको ज्यामिरेबाट आमाघर हुँदै सडक मार्ग भएर र पैदल यात्रा गरेर समेत जलपरी झरना आउन सकिने छ ।

झरना भएको क्षेत्रमा फलामे रेलिङसहितको पक्की सिढी बनाइएको छ । झरनाको नजिकै दुईवटा ट्रस्ट भवन निर्माण गरि पिकनिकको लागि स्थान सुरक्षित गरिएको अध्यक्ष तामाङ बताउछन् । सार्वजनिक शौचालय समेत निर्माण भएको छ भने झरना प्रवेश गर्ने बिन्दुमा टिकट घर र पाले भवन निर्माण भएका छन् । झरना नजिकै जलपरीको एउटा मूर्ति राख्ने सोच रहेकोमा राक्सिराङ गाउँपालिका समेत लागि परेको तामाङले बताए । समिति निर्माण गरी कर्मचारीको व्यवस्थापन गर्ने र प्रवेश टिकटको समेत व्यवस्था मिलाइने उनले जानकारी दिए ।
झरना परिसरमा भौतिक संरचना निर्माण अहिले पनि जारी नै छ । बुद्धको मुर्तिसहितको पार्क निर्माणको लागि प्रारम्भिक कार्य भइरहेको छ । अध्यक्ष तामाङ झरना वरिपरिको पाखामा हरियालीको लागि बिरुवा रोप्ने योजना रहेको बताउँछन । यस्तै गरि झरना क्षेत्रमा नुहाउनकोलागि स्विमिङ पुल निर्माणको योजना रहेको समेत उनले जानकारी दिए । पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै गरेको उक्त क्षेत्रमा गाउँपालिकाको पहलमा गुलमोर, लालुलाते, चुवा लगायतका ५ सय थान फूलका बिरुवा रोपिएको छ ।





मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले जाति, भाषा र संस्कृति प्रदेशसँगै देशकै सम्पत्ति भएकाले संरक्षण र प्रबर्द्धनमा सबैपक्ष गम्भीर बन्नुपर्ने बताएका छन् । केन्द्रीय मानन्धर संघले हेटौंडामा आयाेजना गरेकाे साँस्कृतिक कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
नेपालको गौरबको रुपमा रहेको नेपाल भाषा, नेवार संस्कृतिसँगै नेपाल सम्बत महत्वपूर्ण रहेकाले दैनिक प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए । ‘नेपाल सम्बतलाई सरकारी कामकाजमा प्रयोगमा ल्याईनु खुशीको कुरा हो, उनले भने, ‘राष्ट्रिय विभूती शंखधर साख्वाले चलाउनु भएको नेपालको मौलिक नेपाल सम्बत् भएकाले पूर्ण कार्यान्वयन गर्नु जरुरी छ ।’
बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले प्रदेशमा नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी ऐन आएकाे बताउदै नेपाल भाषा, संस्कृति जगेर्ना गर्न सरकार, नेवार समुदाय र संघसंस्थाहरु एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए । यसैगरी प्रदेश सभा सदस्य शैलेन्द्र बज्राचार्यले संघीयताको बारेमा नकारात्मक धारणा फैलाईएको भन्दै राजनीतिक, भाषिक, साँस्कृतिक अधिकार पाउन संघीयताले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।
कार्यक्रममा मौलिक धिमे बाजा, धा: बाजा, बाँसुरी, बे बाजा, नाय् खिं बाजा, ढोलक बाजाको प्रस्तुतीसँगै नेवारी पहिरनमा नेपाल भाषाका गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रम अघि हेटौंडाको बुद्ध चोकमा भेला भई प्रभातफेरी गरिएकाे थियाे । काठमाडौं महानगरपालिकाको लागत साझेदारी, संघको युवा र सञ्चार उपसमितिको संयोजन तथा हेटौंडाका मानन्धर गुठीहरुसँगको सहकार्यमा शनिबार साँस्कृतिक कार्यक्रम गरिएको हो । हेटौंडामा जस्तै साँस्कृतिक कार्यक्रम पर्साको विरगञ्ज र बारामा आयोजना गरिने नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव तथा केन्द्रीय मानन्धर संघका केन्द्रीय सदस्य केके मानन्धरले जानकारी दिए ।
कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्य तथा केन्द्रीय मानन्धर संघका केन्द्रीय अध्यक्ष मनोजकुमार मानन्धरको सभाध्यतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेशका सांसदहरु एकालाल श्रेष्ठ र शैलेन्द्र बज्राचार्यको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक विरगञ्जकी सहायक निर्देशक अमृता मानन्धर, वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका उपप्राध्यापक डा. विक्रम मानन्धर, विश्व साईकलयात्री रामचन्द्र मानन्धर, डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धर लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर । हेटौडा राष्ट्रिय रन २०८० काे उपाधी मुकेश पालले हात पारेका छन् । उपाधीसँगै काठमाडाैका पालले ६० हजार नगद प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद बिकास समितिको आयोजनामा शुक्रबार भएकाे प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी १५ मिनेट २२ सेकेन्डमा पार गरी पाल प्रथम भएका हुन् । विगत वर्षमा हेटौडा रनमा सिमित हुँदै आएकाे प्रतियाेगिता यस वर्षबाट राष्ट्रिय रुपमा संचालन गरिएकाे हाे । १८ जिल्लामा ९२ जना प्रतिस्प्रर्धिलाई पछि पार्दै पालले उपाधि हात पार्दा जुम्लाका दुर्गाबहादुर बुडा द्वितीय भए । उनले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै नगद ५० हजार रुपियाँ प्राप्त गरे ।
प्रतियाेगितामा तेस्रो स्थान काठमाडौंका सञ्जय श्रेष्ठ हुँदा टंक कार्की र नागेश्वर ऐरीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । श्रेष्ठले ३० हजार, कार्की र ऐरीले सन्त्वना स्वरुप नगद १०/१० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी ९२ जना मध्ये हेटौंडा–२ का ६९ बर्षीय प्रेमजी श्रेष्ठलाई सम्मान गरिएकाे हाे । जेष्ठ उमेरमा पनि खेल प्रतिको लगाब र लगनशीलताका लागि सम्मन गरिएकाे आयोजकले जनाएकाे छ ।
प्रतियोगितामा विजयी भएका धावकहरूलाई नगरप्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बाँनिया, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, नगर खेलकुद बिकास समिति अध्यक्ष रविन्द्र घिमिरेलगायतले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए। प्रतियोगिता बुद्धचोकबाट सुरु भई पुनः बुद्धचोकमा सकिएको थियो।