मकवानपुर । हेटौडा राष्ट्रिय रन २०८० काे उपाधी मुकेश पालले हात पारेका छन् । उपाधीसँगै काठमाडाैका पालले ६० हजार नगद प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद बिकास समितिको आयोजनामा शुक्रबार भएकाे प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी १५ मिनेट २२ सेकेन्डमा पार गरी पाल प्रथम भएका हुन् । विगत वर्षमा हेटौडा रनमा सिमित हुँदै आएकाे प्रतियाेगिता यस वर्षबाट राष्ट्रिय रुपमा संचालन गरिएकाे हाे । १८ जिल्लामा ९२ जना प्रतिस्प्रर्धिलाई पछि पार्दै पालले उपाधि हात पार्दा जुम्लाका दुर्गाबहादुर बुडा द्वितीय भए । उनले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै नगद ५० हजार रुपियाँ प्राप्त गरे ।
प्रतियाेगितामा तेस्रो स्थान काठमाडौंका सञ्जय श्रेष्ठ हुँदा टंक कार्की र नागेश्वर ऐरीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । श्रेष्ठले ३० हजार, कार्की र ऐरीले सन्त्वना स्वरुप नगद १०/१० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी ९२ जना मध्ये हेटौंडा–२ का ६९ बर्षीय प्रेमजी श्रेष्ठलाई सम्मान गरिएकाे हाे । जेष्ठ उमेरमा पनि खेल प्रतिको लगाब र लगनशीलताका लागि सम्मन गरिएकाे आयोजकले जनाएकाे छ ।
प्रतियोगितामा विजयी भएका धावकहरूलाई नगरप्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बाँनिया, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, नगर खेलकुद बिकास समिति अध्यक्ष रविन्द्र घिमिरेलगायतले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए। प्रतियोगिता बुद्धचोकबाट सुरु भई पुनः बुद्धचोकमा सकिएको थियो।
