राक्सिराङ,मकवानपुर। राक्सिराङ (मकवानपुर)। संघीयतापछि गाउँ र टोलको विकास गर्न केन्द्रीय बजेटको पर्खाइ आवश्यक छैन । जहाँ जुन स्थानमा जे आवश्यक छ स्थानीय सरकारले त्यहाँ लगानी गर्न र प्रवद्र्धन गर्न सक्नेछ ।
संघीयतापछि स्थानीय क्षेत्रको विकासमो लय समाएको एउटा उदाहरण हो पर्यटकीय क्षेत्र । यस्तै उदाहरण बनेको छ मकवानपुरको राक्सिराङ गाउँपालिकाको जलपरी झरना । संघीय सरकारले स्थानीय स्तरको संभावना कहिले खोज्ने ? स्थानीय आवश्यकता कहिले मनन गर्ने र कहिले पहिचान प्रवद्र्धनको लागि लगानी गर्ने ? यि सवाल धेरै परमा हुन् ।
जब स्थानीय सरकारले स्थानीय क्षेत्रको संभावनालाई आफैंले नियाल्न पायो, आफैंले बजेटको व्यवस्थापन गरी पहिचान र प्रवद्र्धनमा ध्यान दिन थाल्यो, यो जलपरी झरना अहिले गन्तव्यको रुपमा विकास भएको छ । बिदाको दिन हाइकिङ जानेहरुले आफूसँगै मिठो स्मरणमा सजाउँछन् यो झरनाको तस्वीर । मकवानपुरको पश्चिम क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकास्थित जलपरी झरना आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदैछ ।
मकवानपुर जिल्लाकाे भौगोलिक रुपले विकट राक्सिराङ गाउँपालिका ३ स्थित सिद्धार्थ हरियाली सामुदायिक वन क्षेत्रमा पर्ने जलपरी झरना र संगै रहेको करिब १ सय मिटर लामो चमेरो गुफा पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेको छ । उक्त झरनाको अवलोकनका लागि हेटौंडालगायत मकवानपुरको अन्य क्षेत्रबाट समेत मानिसहरु आउने गरेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए ।
झरना र गुफाको संरक्षणसंगै विकासका लागि राक्सिराङ र प्रदेश सरकारले लगानी गरेको अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए। प्राकृतिक रुपले आकर्षक र सुन्दर जलपरी झरना परिसरमा बागमती प्रदेश सरकारको लगानीमा राक्सिराङ गाउँपालिकाले भौतिक संरचनाहरु निर्माण गरेको छ ।
झरना र त्यसको आडैमा रहेको चमेरो गुफासम्म पुग्नका लागि सडकको सुविधा रहेको छ । मनहरी बजारबाट चैनपुर हुदै पलासे बजार नजिकैबाट र मनहरीको ज्यामिरेबाट आमाघर हुँदै सडक मार्ग भएर र पैदल यात्रा गरेर समेत जलपरी झरना आउन सकिने छ ।

झरना भएको क्षेत्रमा फलामे रेलिङसहितको पक्की सिढी बनाइएको छ । झरनाको नजिकै दुईवटा ट्रस्ट भवन निर्माण गरि पिकनिकको लागि स्थान सुरक्षित गरिएको अध्यक्ष तामाङ बताउछन् । सार्वजनिक शौचालय समेत निर्माण भएको छ भने झरना प्रवेश गर्ने बिन्दुमा टिकट घर र पाले भवन निर्माण भएका छन् । झरना नजिकै जलपरीको एउटा मूर्ति राख्ने सोच रहेकोमा राक्सिराङ गाउँपालिका समेत लागि परेको तामाङले बताए । समिति निर्माण गरी कर्मचारीको व्यवस्थापन गर्ने र प्रवेश टिकटको समेत व्यवस्था मिलाइने उनले जानकारी दिए ।
झरना परिसरमा भौतिक संरचना निर्माण अहिले पनि जारी नै छ । बुद्धको मुर्तिसहितको पार्क निर्माणको लागि प्रारम्भिक कार्य भइरहेको छ । अध्यक्ष तामाङ झरना वरिपरिको पाखामा हरियालीको लागि बिरुवा रोप्ने योजना रहेको बताउँछन । यस्तै गरि झरना क्षेत्रमा नुहाउनकोलागि स्विमिङ पुल निर्माणको योजना रहेको समेत उनले जानकारी दिए । पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै गरेको उक्त क्षेत्रमा गाउँपालिकाको पहलमा गुलमोर, लालुलाते, चुवा लगायतका ५ सय थान फूलका बिरुवा रोपिएको छ ।






