मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौँडामा आज बुधबारबाट ‘हेटौँडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ ।
मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता मंसिर १७ गतेसम्म संचालन हुनेछ ।मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठका अनुसार प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी एक सय २० जना खेलाडीले सहभागिता जनाउने छन् । सोमबारसम्म एक सय एकजना खेलाडीले नाम दर्ता गराइसकेको उनले जानकारी दिए ।
स्विस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रत्येक खेलाडीले दश हजार तिरेर रजिस्ट्रेसन गर्नुपर्नेछ। प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्नेको सुविधा भने आयोजकले व्यहोर्ने छ । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पार्नेछन् ।
यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले जानकारी दिए । यस्तै, छैटाैँदेखि १०औँ स्थानसम्मका प्रत्येक प्रतियोगीले नगद १५ हजार, ११औँदेखि १५औँसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि ६१ लाख १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको मकवानपुर जिल्ला बुद्धिचाल संघले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधबार हुदैछ । आज बुधबार प्रतियाेगिताकाे उपाधीका लागि रियल स्टार क्लब र रिगल हेटौंडा रिसोर्ट भिड्दैछन् ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएकाे पहिलो सेमिफाइनल खेलमा नवजनजागृति युवा क्लब सिमरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै रियल स्टारले फाइनलमा स्थान बनाएकाे थियाे । यस्तै, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टले अखिल नेपाल खेलकुद महासंघ बागमतीलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै फाइनल प्रवेश गरेकाे थियाे ।
हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
युवा खेलाडीलाई प्रोत्साहन गर्न उमेर समूहको प्रतियोगिता आयोजना गरिएकाे प्रतियोगिताका संयोजक सुदीप सिंह ठकुरीले बताए । प्रतियोगिता आयोजनाका लागि करिब ५ लाख अनुमानित लागत अनुमान रहेकाे संयाेजक ठकुरीले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र प्राध्यापक कल्याणकारी समितिबीच सहमति भएकाे छ । सहमतीसँगै पठनपाठन सुरु भएको छ । प्रतिष्ठान र समितिबीच २ बुँदे सहमति भएसँगै सोमबारबाट पठनपाठन सुरु भएको समिति अध्यक्ष विश्वास सापकोटाले बताए ।
प्राध्यापकहरुले गत कार्तिक २२ गतेदेखि तलबभत्ता समयमै नपाएकोलगायतका विभिन्न ७ बुँदे माग राख्दै पेनडाउन गर्दै आएका थिए । १९ दिनदेखि बन्द रहेकाे प्रतिष्ठानको शैक्षिक कार्यक्रम सुचारु गर्न ५ सदस्यीय समिति गठन गरिएकाे छ । पदाधिकारीको तर्फबाट रजिष्ट्रार राजेश प्रसाई, डीन प्रा. दुर्गाकुमारी खड्का मिश्र र प्राध्यापक कल्याणकारी समितिको डाक्टरहरु रोशनकुमार चौधरी, अजय यादव र वीपिन्द्र पाण्डे रहने गरी मागका सन्दर्भमा सुझाव पेश गर्न समिति गठन गरिएको हाे । उक्त समितिले उपकूलपति समक्ष १० दिनभित्र सुझाव पेश गर्नेछ ।
प्रतिष्ठानका तर्फबाट शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचन र प्राध्यापक समितिका तर्फबाट अध्यक्ष सापकोटाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आइतबार प्रतिष्ठानका कूलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र प्राध्यापक कल्याणकारी समितिबीच छलफल पश्चात सहमति भएको थियाे । सहमतिअनुसार प्रतिष्ठानका कूलपति जम्कट्टेलले पुस ११ गतेसम्ममा भुक्तानी हुनुपर्ने रकम प्रतिष्ठानलाई उपलब्ध गराउने मौखिक सहमति भएको अध्यक्ष सापकोटाले बताए । उक्त सहमतिअनुसार आफूहरुको माग पूरा नभए आन्दोलनलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
प्रतिष्ठानमा कार्यरत प्राज्ञिक जनशक्तिहरुको स्थायित्व तथा वृत्तिविकासका लागि हाल रहेको ऐन तथा नियमावलीमा केही संशोधन गर्नका लागि आवश्यक पहल गर्ने सहमति समेत भएको छ ।
राजनीतिक खिचातानीकाे कारण प्रदेश सरकार मातहत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ४ वर्षमै चलखेलको सिकारमा परेकाे छ । त्यसकाे असर हस्पतालकाे सेवा प्रवाह र पठनपाठनमा पर्दै आएकाे छ ।
पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले २०७६ मा प्रदेशसभाबाट प्रतिष्ठान ऐन जारी गरेर संरचना खडा गरेका थिए । स्थापनाको १ वर्षपछि प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरी काम सुरु गरिए पनि सत्ता समीकरण परिवर्तनसँगै द्वन्द्व पनि बढेको हो ।
सुरुवाती चरणमा हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत ल्याएसँगै सुरु भएको विवाद अझै साम्य हुन सकेको छैन । सरकार परिवर्तनसँगै ऐन संशोधन गर्दै प्रतिष्ठान र अस्पताललाई एक अर्काबाट अलग गर्ने र सँगै राख्ने काम पटक पटक हुँदै आएकाे छ । राजनीतिक अन्योलका बिचमै प्रतिष्ठानले शैक्षिक कार्यक्रम अघि बढाए पनि संरचनागत स्थायित्वका लागि अझै कुनै काम हुन सकेको छैन ।
प्रतिष्ठानले हाल चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त गरी ४ वटा विषयमा अध्यापन गरिरहेको छ । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गरिरहेको छ । प्रतिष्ठानमा अहिले २४ जना प्राध्यापकहरु कार्यरत छन् भने २ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय अपाङ्ग दिवस साताव्यापी कार्यक्रम सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएकाे छ ।
सोमबार हेटौडामा पत्रकारसँग भेटघाट गरी महासंघले साताव्यापी कार्यक्रम सुरु भएको जनाएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराको साथ दिवस मनाउन लागिएकाे हाे । दिवसको साताव्यापी कार्यक्रम मंसिर १७ गतेसम्म चल्ने महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए ।
सप्ताहव्यापी कार्यक्रममा अभिमुखीकरण, विचार गोष्ठीदेखि रक्तदानलगायतका ९ वटा कार्यक्रम हुने लम्सालले जानकारी दिए साेमबार पहिलो दिन पत्रकारसँग भेटघाट गरी सुरु भएको कार्यक्रम मंगलबार दोस्रो दिन हेटौंडाको बसपार्क र बुद्धचोकमा ब्यानर मार्फत प्रचार प्रसार गरिने छ । त्यस्तै अपाङ्गता अधिकारको सवालमा विद्यमान कानून कार्यान्वयनको अवस्था विषयमा रेडियो / टेलिभिजन सम्वाद, अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक अधिकारको सवालमा राजनैतिक दलहरूसँग विचार गोष्ठी, रक्तदान कार्यक्रम र ब्लड प्रेसर जाँच हुनेछ ।
त्यस्तै अपांगता भएका विद्यार्थीहरु बीच सिर्जनात्मक कार्यक्रम , युएनसीआरपीडी र एसडीजीको अन्तर सम्बन्ध विषयमा अभिमुखीकरण, दीप प्रज्वलन र डिसेम्बर ३ अर्थात अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन र्याली सहित कोणसभा र पुरस्कार वितरण कार्यक्रम हुने छ भने अन्तिम दिन बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसमेतकाे उपस्थितिमा समापन गरिने कार्यक्रम तय गरिएको अध्यक्ष लम्सालले बताए ।
संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्गता दिवस घाेषणा गरे अनुसार हरेक वर्ष विश्वभर अपाङ्गता दिवस मनाउँदै आएकाे छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार बागमती प्रदेशमा अपाङ्गता भएकाहरुकाे संख्या १ लाख २४ हजार १ सय जना रहेको छ ।
मकवानपुर । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ खोज्दै गएको टोलीले भेटेकाे शवकाे पहिचान भएकाे छ । उक्त शव चितवन राप्ति नगरपालिका १ दुबिचौर बस्ने १७ वर्षीय पुष्पराज तमाङकाे रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । मृतक बुबा ईन्द्र बहादुर तामाङले पाईन्ट र चप्पलको आधारमा शवकाे सनाखत गरेकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमा चितवन राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघको खोजी गर्ने क्रममा राप्तीखोला र लोथरखोलाको दोभानमै शव भेटिएको थियाे ।
सेना र निकुञ्जका अधिकारीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएका छन् । आइतबार राती बाघलाई नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन लगिएको प्रहरीले जानकारी दिएकाे छ ।
