मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय अपाङ्ग दिवस साताव्यापी कार्यक्रम सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएकाे छ ।
सोमबार हेटौडामा पत्रकारसँग भेटघाट गरी महासंघले साताव्यापी कार्यक्रम सुरु भएको जनाएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराको साथ दिवस मनाउन लागिएकाे हाे । दिवसको साताव्यापी कार्यक्रम मंसिर १७ गतेसम्म चल्ने महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए ।
सप्ताहव्यापी कार्यक्रममा अभिमुखीकरण, विचार गोष्ठीदेखि रक्तदानलगायतका ९ वटा कार्यक्रम हुने लम्सालले जानकारी दिए साेमबार पहिलो दिन पत्रकारसँग भेटघाट गरी सुरु भएको कार्यक्रम मंगलबार दोस्रो दिन हेटौंडाको बसपार्क र बुद्धचोकमा ब्यानर मार्फत प्रचार प्रसार गरिने छ । त्यस्तै अपाङ्गता अधिकारको सवालमा विद्यमान कानून कार्यान्वयनको अवस्था विषयमा रेडियो / टेलिभिजन सम्वाद, अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक अधिकारको सवालमा राजनैतिक दलहरूसँग विचार गोष्ठी, रक्तदान कार्यक्रम र ब्लड प्रेसर जाँच हुनेछ ।
त्यस्तै अपांगता भएका विद्यार्थीहरु बीच सिर्जनात्मक कार्यक्रम , युएनसीआरपीडी र एसडीजीको अन्तर सम्बन्ध विषयमा अभिमुखीकरण, दीप प्रज्वलन र डिसेम्बर ३ अर्थात अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन र्याली सहित कोणसभा र पुरस्कार वितरण कार्यक्रम हुने छ भने अन्तिम दिन बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसमेतकाे उपस्थितिमा समापन गरिने कार्यक्रम तय गरिएको अध्यक्ष लम्सालले बताए ।
संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्गता दिवस घाेषणा गरे अनुसार हरेक वर्ष विश्वभर अपाङ्गता दिवस मनाउँदै आएकाे छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार बागमती प्रदेशमा अपाङ्गता भएकाहरुकाे संख्या १ लाख २४ हजार १ सय जना रहेको छ ।

