मकवानपुर । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ खोज्दै गएको टोलीले भेटेकाे शवकाे पहिचान भएकाे छ । उक्त शव चितवन राप्ति नगरपालिका १ दुबिचौर बस्ने १७ वर्षीय पुष्पराज तमाङकाे रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । मृतक बुबा ईन्द्र बहादुर तामाङले पाईन्ट र चप्पलको आधारमा शवकाे सनाखत गरेकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमा चितवन राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघको खोजी गर्ने क्रममा राप्तीखोला र लोथरखोलाको दोभानमै शव भेटिएको थियाे ।
सेना र निकुञ्जका अधिकारीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएका छन् । आइतबार राती बाघलाई नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन लगिएको प्रहरीले जानकारी दिएकाे छ ।

