चितवन । लामो समयदेखि अलपत्र रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढाउने निर्णय गरे संगै निर्माणले गति लिने बताइएकाे बेला रंगशालाकाे सरसफाइ गरिएकाे छ ।
बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहकार्य गरी रंगशाला बनाउने निर्णय समेत गरेका छन् । सरकारका तीन वटै निकायले रंगशाला निर्माणमा चासो देखाएपछि अलपत्र परेको रंगशालामा सरसफाइ अभियान सुरु गरिएको हो ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा काँसघारीमा परिणत भएकाे छ ।
सरसफाइमा स्थानीय, विद्यार्थी, सामाजिक अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो । सरसफाइ अभियनमा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले अब रंगशाला बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरिन् ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब स्थानीय सरकार र स्थानीयहरुले पनि यसलाई आफ्नो सम्झेर सहयोग गर्नुपर्ने बताए । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनु पर्ने बताए । उनले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि भइरहने गरी काम अघि बढाउनुपर्ने बताए ।
३ अर्ब लागत अनुमानसहित जनस्तरबाटै सहयोग उठाएर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकाे धुर्मुस सुन्तली फाउण्डेशनले २०७५ सालमा क्रिकेट रंगशाला निर्माणको थालनी गरेको थियो । ५० करोडभन्दा बढी रकम खर्च भइसकेको, १८ करोड ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रंगशालाको जिम्मेवारी सुम्पेर २०७८ पुसमा कामबाट हात झिक्यो । त्यसयता रंगशाला निर्माणको काम अघि बढ्न सकेको छैन ।

