मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र प्राध्यापक कल्याणकारी समितिबीच सहमति भएकाे छ । सहमतीसँगै पठनपाठन सुरु भएको छ । प्रतिष्ठान र समितिबीच २ बुँदे सहमति भएसँगै सोमबारबाट पठनपाठन सुरु भएको समिति अध्यक्ष विश्वास सापकोटाले बताए ।
प्राध्यापकहरुले गत कार्तिक २२ गतेदेखि तलबभत्ता समयमै नपाएकोलगायतका विभिन्न ७ बुँदे माग राख्दै पेनडाउन गर्दै आएका थिए । १९ दिनदेखि बन्द रहेकाे प्रतिष्ठानको शैक्षिक कार्यक्रम सुचारु गर्न ५ सदस्यीय समिति गठन गरिएकाे छ । पदाधिकारीको तर्फबाट रजिष्ट्रार राजेश प्रसाई, डीन प्रा. दुर्गाकुमारी खड्का मिश्र र प्राध्यापक कल्याणकारी समितिको डाक्टरहरु रोशनकुमार चौधरी, अजय यादव र वीपिन्द्र पाण्डे रहने गरी मागका सन्दर्भमा सुझाव पेश गर्न समिति गठन गरिएको हाे । उक्त समितिले उपकूलपति समक्ष १० दिनभित्र सुझाव पेश गर्नेछ ।
प्रतिष्ठानका तर्फबाट शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचन र प्राध्यापक समितिका तर्फबाट अध्यक्ष सापकोटाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आइतबार प्रतिष्ठानका कूलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र प्राध्यापक कल्याणकारी समितिबीच छलफल पश्चात सहमति भएको थियाे । सहमतिअनुसार प्रतिष्ठानका कूलपति जम्कट्टेलले पुस ११ गतेसम्ममा भुक्तानी हुनुपर्ने रकम प्रतिष्ठानलाई उपलब्ध गराउने मौखिक सहमति भएको अध्यक्ष सापकोटाले बताए । उक्त सहमतिअनुसार आफूहरुको माग पूरा नभए आन्दोलनलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
प्रतिष्ठानमा कार्यरत प्राज्ञिक जनशक्तिहरुको स्थायित्व तथा वृत्तिविकासका लागि हाल रहेको ऐन तथा नियमावलीमा केही संशोधन गर्नका लागि आवश्यक पहल गर्ने सहमति समेत भएको छ ।
राजनीतिक खिचातानीकाे कारण प्रदेश सरकार मातहत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ४ वर्षमै चलखेलको सिकारमा परेकाे छ । त्यसकाे असर हस्पतालकाे सेवा प्रवाह र पठनपाठनमा पर्दै आएकाे छ ।
पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले २०७६ मा प्रदेशसभाबाट प्रतिष्ठान ऐन जारी गरेर संरचना खडा गरेका थिए । स्थापनाको १ वर्षपछि प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरी काम सुरु गरिए पनि सत्ता समीकरण परिवर्तनसँगै द्वन्द्व पनि बढेको हो ।
सुरुवाती चरणमा हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत ल्याएसँगै सुरु भएको विवाद अझै साम्य हुन सकेको छैन । सरकार परिवर्तनसँगै ऐन संशोधन गर्दै प्रतिष्ठान र अस्पताललाई एक अर्काबाट अलग गर्ने र सँगै राख्ने काम पटक पटक हुँदै आएकाे छ । राजनीतिक अन्योलका बिचमै प्रतिष्ठानले शैक्षिक कार्यक्रम अघि बढाए पनि संरचनागत स्थायित्वका लागि अझै कुनै काम हुन सकेको छैन ।
प्रतिष्ठानले हाल चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त गरी ४ वटा विषयमा अध्यापन गरिरहेको छ । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गरिरहेको छ । प्रतिष्ठानमा अहिले २४ जना प्राध्यापकहरु कार्यरत छन् भने २ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।

