मकवानपुर । लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मनोसामाजिक तथा मानसिक स्वास्थ्य बिषयक स्यहारकर्ताहरुकालागि अभिमुखीकरण कार्यक्रम भएको छ । कोशिश मकवानपुरको आयोजनामा हेटौंडामा मंगलबार भएकाे कार्यक्रम सहभागीहरूले हिंसा निवारण, मनोसामाजिक स्वस्थ्य तथा लैङ्गिक समानताको सवालमा छलफल गरेका थिए ।
कार्यक्रममा स्वास्थकर्मी निर्मला लामाले लिङ्गको कारण हैन क्षमता सीप र योग्यताको आधारमा व्यबहार गर्नुपर्ने बताइन् । ‘आफूले आफैंलाई जित्न सकेको दिन व्यक्तिले संसार जित्छ’ लामाले भनिन् ‘सकारात्मक उर्जाको कारण हिंसा न्यूनीकरण हुनमा जग बस्छ।’
भिमफेदी, मनहरी र हेटौंडाको विभिन्न वडाहरूमा रहेका मनोसामाजिक समस्या भएकाहरूको स्याहारकर्तालाई सचेतनाको रूपमा कार्यक्रम गरिएको कोशिश मकवानपुर प्रमुख सुनिरा लामाले बताइन् ।महिला, पुरुष वा अन्य जुनसुकै लैङ्गिक पहिचान भए पनि उनीहरूमाथि पहिचानको रुपमा हिंसा गर्न नहुने स्याङ्तानले बताइन् । सोचाइ र दृष्टिकोण सकारात्मक राख्न सहभागीलाई जानकारी गराइएको थियो ।

राज्यको हरेक तहमा विभिन्न प्रकारको हिंसा भोग्न परेको महिला तेस्रो लिङ्गी उपमा लामाले बताइन् । शारीरिक अवस्था हेरेर नभइ, एउटा सन्तानको रुपमा स्वीकार गर्न उनले सहभागीलाई अनुरोध गरिन् । यसैगरी कार्यक्रममा मानव अधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठले मानव अधिकारको सम्मानमा लिङ्ग वा बर्गको सवालमा हेरिनु नहुने बताइन् ।
रिकभरी समूहका प्रतिनिधि उद्वब केसीले बालबालिका लागुऔषधमा फस्नुको कारण अभिभावकको कमजोरी हुनसक्ने बताए । उचित रेखदेख र निगरानीको अभावमा बालबालिका खराब लतमा फस्ने गरेको केसीले बताए ।कार्यक्रममा जिसस मकवानपुरकी पूर्व उपसभापति भगवती पुडासैनीले आफूले हिंसा नगर्ने, हिंसा गरेको नसहने र हिंसाको प्रतिकार गर्नुपर्ने सुझाब दिइन् ।
अभिमुखीकरणमा लैंगिक हिंसाबारे जानकारी र यसको कारणले हुने मनोसमाजिक समस्या,लैंगिक हिंसा परेमा सहयोगका लागि उपलब्ध स्रोत र साधनबारे जानकारी, सहभागीहरुले मानसिक स्वास्थ्यको बारेमा जानकारी तथा व्यक्तिगत हेरचाहलगायतकाे जानकारी गराईएको हो ।

यसैगरी हिंसा भएमा सम्बन्धित निकायमा वकालत गर्ने बारे उत्प्रेरित गरिएको छ। लैङ्गिक हिंसाका प्रकार र मनोसामाजिक असरहरु मानसिक सुस्वास्थ्य तथा व्यक्तिगत हेरचाहको बारेमा छलफल गरिएको थियो ।
हिमाराइट्स मकवानपुर प्रमुख तथा गैसस मकवानपुर उपाध्यक्ष कुमारी वाइबा,कोशिश मकवानपुर प्रमुख सुनिरा स्याङ्तान, नारी संरक्षण केन्द्रका जेरोम घले, फ्रेन्स हेटौंडाकी उपमा लामा, स्वास्थकर्मी निर्मला लामालगायतले अनुभव आदनप्रदान तथा सहजीकरण गरेका थिए ।

