मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधबार हुदैछ । आज बुधबार प्रतियाेगिताकाे उपाधीका लागि रियल स्टार क्लब र रिगल हेटौंडा रिसोर्ट भिड्दैछन् ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएकाे पहिलो सेमिफाइनल खेलमा नवजनजागृति युवा क्लब सिमरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै रियल स्टारले फाइनलमा स्थान बनाएकाे थियाे । यस्तै, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टले अखिल नेपाल खेलकुद महासंघ बागमतीलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै फाइनल प्रवेश गरेकाे थियाे ।
हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
युवा खेलाडीलाई प्रोत्साहन गर्न उमेर समूहको प्रतियोगिता आयोजना गरिएकाे प्रतियोगिताका संयोजक सुदीप सिंह ठकुरीले बताए । प्रतियोगिता आयोजनाका लागि करिब ५ लाख अनुमानित लागत अनुमान रहेकाे संयाेजक ठकुरीले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।

