मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । बुधबार निर्वाचन आयाेगले आगामी माघ ११ गते हुने निर्वाचनकाे लागि बुधबार मतदाता नामावली स्वीकृत गरी मतदाताकाे संख्या टुंग्याएकाे हाे ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । ‘सोही बमोजिम प्रदेश सभा सदस्य ५ सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४ सय ९८ जना गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरिएकाे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ निर्धारण गरिएको छ । यो व्यवस्था अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको उनले बताए ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सभा बैठक नबसेको प्रति आपत्ति जनाएको छ ।
पार्टी बागमती प्रदेश संसदीय दलको बैठकपछि बागमती प्रदेश सभा सञ्चालन, सरकारको काम कारबाही, आर्थिक वर्ष २०८०।०८१ को बजेट कार्यान्वयनको स्थिति, समसामयिक राजनीतिक विषयहरु र जनताले दैनिक जीवनमा भोग्नुपरेका पीडा र सास्तिका विषयहरुमा छलफल गरेको छ ।
बैठकले एकवर्षे कार्यकालमा दलले खेलेको भूमिकाका बारेमा समिक्षा समेत गरेको दलका नेता जगन्नाथ थपलियाले बताए । बैठकले प्रदेश सरकारलाई ९ बुंदे माग राख्दै ध्यानाकर्षण गराएको छ ।
हेर्नुस् दलको ध्यानाकर्षणका बुँदाहरुः



मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् मंगलबारकाे बैठकले दुई मन्त्रालयको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्राविधिक तथा प्रशासनिक गरी १ हजार ६ सय ६९ जना कर्मचारीको संगठन संरचना स्विकृत गरेकाे छ । स्वास्थ्य मन्त्रालयकाे संगठन संरचना स्वीकृत भएसँगै अहिले संचालनमा रहेका प्रदेश अस्पतालहरूको समेत स्तरोन्नती गर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी बैठकले बागमती प्रदेशकाे राजाधानी हेटौंडामा रहेकाे मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश सार्वजनिक विश्वविधालय बनाउने निर्णय गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । उनले भने हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रक्रिया अघि बढाउने निर्णय भएकाे छ उनले भने हेटौंडा २ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने गरी कार्य प्रारम्भ गर्नेछौ । प्रदेश उच्च शिक्षा परिषद्को निर्णयका आधारमा प्रदेश उच्च शिक्षा नियमावली २०७९ को नियम १० (२) बमोजिम सार्वजनिक विश्वविद्यालयकाे लागि कार्यदल गठन गरेर अघि बढिने उनकाे भनाई छ ।
विश्वविद्यालयका लागि आवश्यक क्षेत्र पहिचान गरी ऐनको मापदण्ड अनुसार अध्ययन गरी प्रतिवेदन तयार पारिने तथा सो प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत गरे पश्चात विश्वविद्यालय स्थापनाको अन्य प्रक्रिया अघि बढ्ने छ । केही दिन भित्र प्रदेश सरकार र मकवानपुर क्याम्पस सञ्चालक समिति बिच बैठक वसी अगाडी बढाउने तयारीमा रहेकाे मुख्यमन्त्री जम्कट्टेलले बताए । बिश्व बिद्यालय स्थापनाका लागि क्याम्पस सञ्चालक समितिसँग छदफल गरेर कार्यालय स्थापना गरिने समेत उनले जानकारी दिए ।
खेल महोत्सवको तयारीः मुख्यमन्त्रीले उद्घाटन गर्ने
Tags: No Comments
मकवानपुर । मकवानपुरको खेल क्षेत्रको विकासको उद्देश्यसहित यही पुष ५ गतेबाट सञ्चालन हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । खेलका लागि आवश्यक संरचना निर्माण, खेल तालिका निर्माण, महोत्सव स्थलको घेराबारा, स्टल निर्माण लगायतको कार्य धमाधम भैरहेको हो ।
खेलकुद महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने भएका छन् । खेलकुद महोत्सवप्रति मकवानपुरका खेलकुद संघका पदाधिकारी एवम् खेलाडीहरु उत्साही बनेका छन् । खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडीहरु महोत्सवका लागि एकजुट भएर खटिएका छन् । महोत्सव आयोजना स्थल टिसिएन चौर महोत्सवको लागि सजिएको छ । खेलकुद र खेलाडीको हितको लागि आयोजना हुँदै गरेको महोत्सव सफल बनाउन सबै एकजुट रहेको उनीहरुको भनाई रहेको छ ।
‘महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत तयारी सकिसकेको छ’, आयोजक संस्था मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्गीले भने, ‘पवित्र उद्देश्यले आयोजना गर्न लागिएको यस महोत्सवलाई सबैले सहयोग गरिरहनुभएको छ । आम जिल्लाबासीलाई महोत्सवमा उपस्थितीका लागि हार्दिक अनुरोध समेत गर्दछौं ।’ महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुनेछ ।

महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको छ । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

मकवानपुर । आदिवासी जनजाती समुदायको बाहुल्यता रहेको हेटौंडा उपमहानगरपालिका–१९ महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ध्यान दिँदै बर्थिङ सेन्टरको स्थापना गरिएको छ ।
उपमहानगरपालिका भित्रका वासिन्दा गर्भ परीक्षण सहितको सुबिधाबाट बञ्चित रहँदै आएकोले यस क्षेत्रका महिला स्वास्थ्यलाई ध्यान दिँदै ज्यामिरे शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको सुरुवात गरिएको हो । सेन्टरको उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा सुत्केरी गराउनका लागि आवश्यक सामग्री जडानपछि उपमहानगरपालिका–१९ नम्बर वडा कार्यालयको आयोजनमा बर्थिङ सेन्टरको उद्घाटन गरिएकाे हाे ।
बर्थिङ सेन्टरको उद्घाटन गर्दै नगर प्रमुख लामाले महिलाहरुमा उमेर पाक्दै गएपछि देखिने पाठेघर र स्तन सम्बन्धी समस्यालाई लुकाउने बानी तत्कालै सुर्धानु पर्ने बताइन् । उनले घरपरिवार, छिमेकको डरले आफ्नो शारीरिक समस्या लुकाउने समस्या रहेको छ, त्यसलाई तत्काल छाड्न आग्रह गरिन् । ग्रामीण भेगमा रहेका जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै उपमहानगरले शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको भन्दै उनले सेवा लिन सबैलाई सचेत गराईन् ।
कार्यक्रममा हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीले बर्थिङ सेन्टरमा आएर प्रसुति सेवा लिन आग्रह गरे । यहाँका नगरवासीले प्रसुति सेवा लिन बजारसम्म धाउनु पर्ने बाध्यतालाई रोक्नका लागि सेवा सुरु गरिएको उनले बताए । स्वास्थ्य केन्द्रबाटै सुत्केरी गराएमा भोलि बालबालिकाको जन्मदर्तामा कुनै समस्या नपर्ने उनको भनाई थियो ।
केन्द्रमा बर्थिङ सेन्टरको सुरुवातसँगै निमित रुपमा गर्भपरिक्षण, सुत्केरी जाँच र प्रसुति सेवा सञ्चालन हुने शहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश बर्तौलाले जानकारी दिए । उनले ९/१० बर्षदेखि स्वास्थ्य केन्द्र सञ्चालन भएपनि भौगोलिक समस्या र आर्थिक अवस्था कमजाेर रहेका कारण यहाँका बासिन्दा उपचार गराउन कम आउने गरेको बताए । उपचारकाे लागि हेटौंडा बजारसम्म जानका लागि सडक र भौगोलिक बिकटताका कारण करिब २ भण्टा सम्म लाग्ने उनले बताए । बर्थिङ सेन्टरसहितकाे सुविधाले आएका बिरामीलाई केन्द्रले उपचार सेवा दिन सकिने छ उनले भने ।
बर्थिङ सेन्टर उद्घाटनको अवसरमा शहरी स्वास्थ्थ केन्द्रको संयोजन र १९ नम्बर वडा कार्यालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिशेषज्ञ डाक्टर सहित सञ्चालन गरिएको शिविरमा २ सय २८ जनाले सेवा लिएको शहरी स्वास्थ्य केन्द्रले जनाएको छ ।

