मकवानपुर । आदिवासी जनजाती समुदायको बाहुल्यता रहेको हेटौंडा उपमहानगरपालिका–१९ महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ध्यान दिँदै बर्थिङ सेन्टरको स्थापना गरिएको छ ।
उपमहानगरपालिका भित्रका वासिन्दा गर्भ परीक्षण सहितको सुबिधाबाट बञ्चित रहँदै आएकोले यस क्षेत्रका महिला स्वास्थ्यलाई ध्यान दिँदै ज्यामिरे शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको सुरुवात गरिएको हो । सेन्टरको उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा सुत्केरी गराउनका लागि आवश्यक सामग्री जडानपछि उपमहानगरपालिका–१९ नम्बर वडा कार्यालयको आयोजनमा बर्थिङ सेन्टरको उद्घाटन गरिएकाे हाे ।
बर्थिङ सेन्टरको उद्घाटन गर्दै नगर प्रमुख लामाले महिलाहरुमा उमेर पाक्दै गएपछि देखिने पाठेघर र स्तन सम्बन्धी समस्यालाई लुकाउने बानी तत्कालै सुर्धानु पर्ने बताइन् । उनले घरपरिवार, छिमेकको डरले आफ्नो शारीरिक समस्या लुकाउने समस्या रहेको छ, त्यसलाई तत्काल छाड्न आग्रह गरिन् । ग्रामीण भेगमा रहेका जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै उपमहानगरले शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको भन्दै उनले सेवा लिन सबैलाई सचेत गराईन् ।
कार्यक्रममा हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीले बर्थिङ सेन्टरमा आएर प्रसुति सेवा लिन आग्रह गरे । यहाँका नगरवासीले प्रसुति सेवा लिन बजारसम्म धाउनु पर्ने बाध्यतालाई रोक्नका लागि सेवा सुरु गरिएको उनले बताए । स्वास्थ्य केन्द्रबाटै सुत्केरी गराएमा भोलि बालबालिकाको जन्मदर्तामा कुनै समस्या नपर्ने उनको भनाई थियो ।
केन्द्रमा बर्थिङ सेन्टरको सुरुवातसँगै निमित रुपमा गर्भपरिक्षण, सुत्केरी जाँच र प्रसुति सेवा सञ्चालन हुने शहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश बर्तौलाले जानकारी दिए । उनले ९/१० बर्षदेखि स्वास्थ्य केन्द्र सञ्चालन भएपनि भौगोलिक समस्या र आर्थिक अवस्था कमजाेर रहेका कारण यहाँका बासिन्दा उपचार गराउन कम आउने गरेको बताए । उपचारकाे लागि हेटौंडा बजारसम्म जानका लागि सडक र भौगोलिक बिकटताका कारण करिब २ भण्टा सम्म लाग्ने उनले बताए । बर्थिङ सेन्टरसहितकाे सुविधाले आएका बिरामीलाई केन्द्रले उपचार सेवा दिन सकिने छ उनले भने ।
बर्थिङ सेन्टर उद्घाटनको अवसरमा शहरी स्वास्थ्थ केन्द्रको संयोजन र १९ नम्बर वडा कार्यालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिशेषज्ञ डाक्टर सहित सञ्चालन गरिएको शिविरमा २ सय २८ जनाले सेवा लिएको शहरी स्वास्थ्य केन्द्रले जनाएको छ ।


