मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । बुधबार निर्वाचन आयाेगले आगामी माघ ११ गते हुने निर्वाचनकाे लागि बुधबार मतदाता नामावली स्वीकृत गरी मतदाताकाे संख्या टुंग्याएकाे हाे ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । ‘सोही बमोजिम प्रदेश सभा सदस्य ५ सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४ सय ९८ जना गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरिएकाे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ निर्धारण गरिएको छ । यो व्यवस्था अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको उनले बताए ।

