मकवानपुर । मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।
स्थानीय तहबाट सञ्चालन गरिने सेवामा गुणस्तरीयताको खाँचो रहेको उनीहरुले बताएका हुन् । विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम लागु गर्नुपर्ने, आत्महत्या रोकथाम कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्ने, आत्महत्या रोकथाम गर्न सकिने घटना हो भन्ने बारेमा जनसहभागीतामा दिवस मनाउने व्यापक प्रचार प्रसार गर्ने, कृषिक्षेत्रमा प्रयोग हुने विषाधिको पहुँचमा नियन्त्रण गर्न सम्बन्धित क्षेत्रसंग समन्वय र सहकार्य गर्ने जस्ता कार्यलाई बढवा दिनु पर्ने बागमती प्रदेश स्वास्थ मन्त्रालय चिकित्सा महासाख प्रमुख वरिष्ठ खगेश्वर गेलालले बताएका छन् ।
मनोसामाजिक आयामलाई महत्व दिई सम्बन्धित सरोकारका क्षेत्रसंग सहकार्य गर्ने, आवश्यकता अनुसार टेलिमेन्टल हेल्थ सेवामा पहुँच बढाउने, यस्ता घटनाले सम्बन्धित व्यक्ति तथा परिवारमा पर्न जाने मनोसामाजिक समस्या समाधानका लागी मनोपरामर्श सेवाको व्यवस्था गर्ने, आत्महत्याको प्रयास गरेका सुपरिचित सामाजिक व्यक्तिहरु र आत्महत्या प्रयासपछी सम्मानजनक जीवन बाचेका व्यक्तिहरुलाई सामाजिक अगुवाई गर्न प्रेरित गर्ने जस्ता काम गर्नुपर्ने गेलालले बताए ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्ताको क्षेत्रमा बागमती प्रदेशको नीति तथा कार्यक्रम सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम यस्तो सवालमा चर्चा गरिएको हो । कार्यक्रममा स्वास्थ निर्देशनालय हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश बिष्टले गुणस्तरीय मानसिक स्वास्थ्य सेवा प्रवाह गर्नका निमित्त समस्या र चुनौतिहरु धेरै भएको बताएका थिए । मानसिक स्वास्थ्य समस्याको रोगभारको अनुपातमा संचालित कार्यक्रमहरु र विनियोजन हुने बजेट न्यून भएकोले लक्षित वर्ग, जोखिम समूहका व्यक्ति तथा समुदायलाई पूर्णरुपमा समेट्न नसकेको श्रेष्ठले बताए ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र परिवारको सदस्यप्रति रहेको ब्यापक लान्छना, अवहेलना, विभेद र मानवाधिकारको हननलाई रोक्न र कम गर्न कार्यक्रम बनाएर कार्यन्वयनमा ल्याउन नसकिएको, दक्ष जनशक्तिको अभावलाई आवश्यकता अनुसार पूरा गरी समुदायस्तरसम्म सेवाको पहुँच स्थापित गर्न नसकिएको बारे उनले प्रस्तुती गरेका थिए । “प्रजनन उमेरका महिलाहरुमा मृत्युको पहिलो र युवाहरुमा दोस्रो कारण बनेको आत्महत्या वर्षेनी बढ्दै गएको देखिए तापनि यसलाई उपयुक्त कार्यक्रम बनाई सम्बोधन गर्न सकिएको छैन” श्रेष्ठले भने ।
नेपालमा मानसिक स्वास्थ्यको बजेट १ प्रतिशतभन्दा कम भएकोले पनि उपचारमा समस्या भएको उनले बताए । “बजेटको हिस्साले पनि मानसिक स्वास्थ्यको सुबिधा असमान रहेको कुरालाई उजागर गर्दछ” उनले भने । निम्न आर्थिक अवस्था भएका देशहरुमा ७५–९०% मानसिक समस्या भएका मानिसहरुले मानसिक स्वास्थ्यको सुबिधा लिन नपाएका उले बताए ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजना तथा कोशिशको सहयोगमा कार्यक्रम गरिएको थियो । प्रदेश सरकारद्वारा सञ्चालित मानसिक स्वास्थ्य, मनोसामाजिक अपाङ्गता तथा सुस्वास्थ्य सम्बन्धि कार्यक्रमहरु तथा निति नियमहरुको समिक्षा गर्ने, प्रदेश स्तरमा मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २००७ को कार्यन्वयनको अबस्था बारेमा छलफल गर्ने, आगामी दिनमा मानसिक सुस्वास्थ्य प्रवर्द्धनका लागि योजना बनाउने उद्देश्यले कार्यक्रम गरिएको कोशिशको कार्यक्रम अधिकृत थमकुमारी कुंवरले बताइन् । कार्यक्रममा मनोसामाजिक अपाङ्गतामा रहेका व्यक्तिहरुको अनुभवमा कार्यक्रमको प्रभाव बारे कोशिश मकवानपुर प्रमुख सुनिरा लामाले प्रस्तुती गरेकी थिइन् ।

