मकवानपुर । मकवानपुरकाे हेटौडामा सडक खाना महाेत्सव हुने भएकाे छ । होटल एसोसिएसन मकवानपुरको आयोजनामा तीन दिन सडक खाना महोत्सव हुने भएको हाे ।
आगामी पुस १३ गतेदेखि १५ गते हेटौंडा–४, हुप्रचौरमा सडक खाना महोत्सव आयोजना गरिने एसोसिएसनले विहीबार पत्रकार भेटघाट गरी जानकारी गराएकाे दिएकाे हाे । २०६५ सालदेखि गरिँदै आएको महोत्सव २०७६ सालयता हुन नसकेकाेमा याे वर्ष आयाेजना गर्न लागिएकाे एसोसिएसनका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।
इस्वी सम्वतकाे नयाँ वर्षको अवसरमा एसोसिएसनले आयोजना गर्ने सडक खाना महोत्सवले स्थानीय परिकारका साथै आन्तरिक पर्यटन प्रवर्द्धन समेत हुने अपेक्षा गरिएकाे महर्जनले बताए । महोत्सवमा सहभागी व्यवसायीले आफ्नो सेवाकाे समेत प्रवर्द्धन गर्ने अवसर पाउने छन् ।
सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारासहित आयोजना गर्न लागिएकाे महोत्सवमा ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयाेजकले गरेकाे छ । महोत्सव आयोजनामा ४० वटा स्टलहरु रहने बताइएकाे छ । महाेत्सवमा हेटौँडा उपमहानगरपालिकाले पनि सहयोग गर्ने महर्जनले बताए । ३० हजार भन्दा बढीकाे महोत्सव सहभागिता रहने अनुमान आयोजकले गरेकाे छ ।

