मकवानपुर । मकवानपुरकाे हेटौडामा विहीबारबाट बृहत खेलकुद तथा व्यापार महोत्सव विहीबारबाट सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल काठमाडौंको संयुक्त आयोजनामा सुरु भएको खेलकुद तथा व्यापार महोत्सवकाे बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले महोत्सवको उद्घाटन गरेकी हुन् ।
हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा सुरु महाेत्सवकाे उद्घाटन गर्दै वन मन्त्री खड्काले खेलकुद स्वास्थ्य र राज्यको लागि अपरिहार्य रहेको बताइन् । “खेलकुदले व्यक्ति स्वस्थ्य हुनु भनेको राज्यले निरोगी र तन्दुरुस्त जनशक्ति पाउनु हो, यस्ता खेल महोत्सवले खेलाडीलाई प्रोत्साहन पनि गर्छ” उनले भनिन् । खेलकुद तथा व्यापार मेलालेआर्थिक रुपमा समेत सहयोग पुर्याउने उनले बताइन् । मेलाको क्रममा हुने विभिन्न खेलको प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर पनि हुने उनले बताइन् ।
समिति अध्यक्ष वेष खड्कीको सभाध्यक्षता तथा मन्त्री खड्काको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी समेत गरिएको थियो । मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना हुनेछ ।
समिति अध्यक्षा खड्कीले महोत्सवभर राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुने बताए । उनका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् । महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको छ । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । २ सय ६० वटा स्टल रहेकाे महोत्सवमा कृषि, पर्यटन, हस्तकला,अटोमोबाइल साथै बाल उद्यान समेत राखिएको छ । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पुर्व नगर प्रमुख हरि बहादुर महत, हेटौंडाका वडा अध्यक्षहरु, शिक्षाविद् पुरन बहादुर जोशी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न खेलकुदसम्बन्ध संघसंस्थाका अध्यक्षहरु, खेलका प्रशिक्षकहरु, औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दिप महत लगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
संस्कृति प्रदर्शनको भिडियो यहाँ हेर्न सक्नुहुन्छ

