मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् मंगलबारकाे बैठकले दुई मन्त्रालयको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्राविधिक तथा प्रशासनिक गरी १ हजार ६ सय ६९ जना कर्मचारीको संगठन संरचना स्विकृत गरेकाे छ । स्वास्थ्य मन्त्रालयकाे संगठन संरचना स्वीकृत भएसँगै अहिले संचालनमा रहेका प्रदेश अस्पतालहरूको समेत स्तरोन्नती गर्ने निर्णय बैठकले गरेको छ ।
प्रदेश मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हाल संचलान रहेका मकवानपुरकाे हेटौडा अस्पतालसहित प्रदेशका १० अस्पतालकाे स्तरोन्नती गर्ने भएकाे हाे । हेटौडा अस्पतालकाे स्तरोन्नती गर्दै ३०० बेड, धादिङ अस्पताल (धादिडबेशी) – १०० बेड, त्रिशुली अस्पताल (नुवाकोट ) -१०० बेड, सिन्धुली अस्पताल (सिन्धुली )-१०० बेड, भक्तपुर अस्पताल (भक्तपुर ) – ३०० बेड, बकुलर अस्पताल (चितवन ) – १०० बेड,सिन्धुपाल्चोक अस्पताल ( सिन्धुपाल्चोक ) ५० बेड, रामेछाप अस्पताल (रामेछाप ) -५० बेड, पशुपति चौलागाई अस्पताल (दोलखा ) – ५० बेड र मेथिनकोट अस्पताल ( काभ्रे ) – ५० बेडकाे बनाउँदै स्तरोन्नती गरिने उनले जानकारी दिए ।
यसैगरी बैठकले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गत रहेका विभिन्न प्रहरी इकाइ भवन निर्माणका लागि २६ करोड ५५ लाख २९ हजार रुपैयाँ भुक्तानी गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारका कर्मचारीहरुको पदस्थापन संशोधन गर्ने निर्णय गरेको उनले बताए ।

