मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गरेसँगै नगरलाई बिहीबार बालमैत्री नगर घाेषणा गरिएकाे हाे ।
संघीय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा उपमहानगरपालिकालाई निकृष्ट बालश्रममुक्त, बाल विबाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिमका सुचक तथा तहगत चरणहरु पूरा गरी हेटौंडा बालमैत्री नगर घोषणा भएको हो ।
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताएका छन्। मन्त्री सिंहले समाजमा व्याप्त कुरीति हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहने र हेटौंडा उपमहानगरपालिकाले सो कार्यको सुरुवात गरि बालमैत्री घोषित हुन सफल भएको बताए ।
स्थानीय तहका सम्भावनाहरू पहिचान गरि विकास आयोजनाहरू व्यवस्थित ढङ्गबाट गर्नुपर्ने उनले उल्लेख गरेका छन्। उनले बालमैत्री घोषणा र यस्ता रचनात्मक गतिविधिले हेटौंडा महानगरपालिका परिणत हुन संभावनालाई प्रत्याभूति दिलाउन सफल रहेको बताए। मन्त्री सिंहले स्थानीय तह, प्रदेश र सङ्घ सरकारले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्न लाग्नुपर्ने कुरामा जोड दिएका थिए। ‘उपमहानगरपालिको काम सरसफाइ मात्र होइन, अहिले युवाको, जनताको धेरै माग छ, सो मागलाई सम्बोधन गर्ने काम पनि उपमहानगरको हो’ – मन्त्री सिंहले भने।
उनले मन्त्री सिंहले हेटौंडा उपमहानगरपालिका भौगोलिक हिसाबले उपयुक्त र विकासको तिव्र गतिमा रहेकाले चाडैनै देशको महानगरपालिकामा परिणत हुने देखिएको बताएका छन् ।
उनले भने ‘हेटौंडा विकासको गतिले तीव्र रहेको भौगोलिक क्षेत्र हो । यसरीनै रचनात्मक कार्यहरु गर्दै जाँदा एकदिन सिंगो हेटौंडा देशकै राजधानीको रुपमा चिनिने छ ।’ बालमैत्री घोषणा पश्चात बालबालिकाका क्षेत्रमा तिनै तहका सरकार अझ बढी उत्तरदायी हुन आवश्यक रहेको उनले बताए । बालबालिकाको हक हितका लागि परिवार, समाज र सरकारले जिम्मेवारी बहन गर्दै पूरा गर्न बाँकी रहेका सूचकमाथि जोड दिन उनले आग्रह गरे ।
उपमहानगरपालिकालाई बालमैत्री घोषणा पश्चात घोषणामा मात्र सिमित नराख्ने प्रमुख लामाले बताएकी छन् । ‘घोषणा मात्र नभई यसको निरन्तरता र गुणस्तरीय बालमैत्री वातावरणको आवश्यक्ता महशुस गरी सिङ्गो उपमहानगरपालिकालाई बालमैत्री घोषणा पश्चात दिगोपनाको लागि नगरस्तरीय तथा वडागत रुपमा पञ्चवर्षिय रणनीतिक योजनासमेत तयार गरिएको उनले बताइन् । समाजका कुनाकाप्चामा हुने बाल हिंसालाई रोक्न र कँहि त्यस्ता घटना घटेमा नगरपालिकालाई खबरदारी गर्न उनले आग्रह गरिन्।
नगरले बालमैत्री नगरपालिका घोषणाका लागि २०७९ भाद्र ५ बाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र विविध बालमैत्री कार्यक्रमहरु सुरु गरेको थियो । नगरपालिकाले साढे दुई वर्षदेखि १९ वडामै सहजकर्ताहरु खटाएर सुचक पुरा गर्ने अभियानमा लागेको थियो ।
उपमहानगरपालिकामा घरधुरी तथ्यांक सर्वेक्षण २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ५० हजार १ सय ९५ रहेको छ । जसमा २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । कुल बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेका छन् । उपमहानगरपालिकामा टोल स्तरीय २ सय ६५ र विद्यालय स्तरीय १ सय ६ वटा बालसमुह गरि ३ सय ७१ वटा बालसमुह छन् भने १९ वडा स्तरीय र १ नगर स्तरीय गरि २० वटा बाल संजाल गरि ३ सय ७१ वटा बालबालिका संरचना क्रृयाशिल रहेका थिए् ।
बालमैत्री घोषणाका लागि आवश्यक ५१ सुचकहरुमध्ये ४३ वटा सुचकमा १०० प्रतिशत, १ वटा सुचकमा ९९.९४ प्रतिशत १ वटा सुचकमा ९९.८९ प्रतिशत, १ वटा सुचकमा ९९.८७ प्रतिशत, १ वटा सुचकमा ९९.१ प्रतिशत, १ वटा सुचकमा ९८.६३ प्रतिशत, १ वटा सुचकमा ९६.८४ प्रतिशत, १ वटा सुचकमा ९१ प्रतिशत र बाँकि १ वटा सूचकमा ८८.०६ प्रतिशत नतिजा हाँसिल भएको उपमहानगरपालिकाले जनाएको छ ।
बाल बचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी र त्यसलाई निरन्तरता दिनेगरी नगरपालिका बालमैत्री बनाइएको हो ।
हेटौंडाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहित जनप्रतिनिधि, विद्यार्थी, क्लब, संघ संस्थाको प्रतिनिधिहरुको सहभागितामा नगरको विभिन्न स्थानबाट भएको र्याली तथा प्रभातफेरी हेटौंडा ५ क्याम्पाचौरमा पुगेर बाल मैत्री घोषणा कार्यक्रम परिणत भएको थियो।
हेटौंडा उपमहानगरपालिका मकवानपुरको बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुने चौथो स्थानीय तह हो। यस अघि मकवानपुरका मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा भइसकेका छन्।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेकाे हाम्रो घर बालगृहको अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सुरु भएको छ । ग्रामिण जीवनस्तर मञ्चले हेटौंडा संचालन गर्दै आईरहेको बालगृहकाे अक्षयकाेष स्थापनाकाे उद्देश्यले बिहीबारबाट सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे हाे ।
महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले राज्यले गर्नुपर्ने महत्वपूर्ण काम सार्वजनिक संघसस्थाले गर्नु नमूनायोग्य भएको बताए । यस्ता पवित्र कामलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । अविभावकहरुबाट विमुख भएका बालबालिकाको अविभावक भएर हाम्रो घरले समाजमा उदाहरणीय काम गरेको बताउँदै मन्त्री ठकुरीले निकै पवित्र उदेश्य राखेर सुरु गरेको महायज्ञलाई सबै नागरिकले दिल खोलेर सहयोग गर्न अनुरोध गरे । बालगृहको दिगोपनको लागि महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्दै मन्त्री ठकुरीले आफूले सरकार मार्फत बालगृहलाई सहयोगको लागि पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
२०६५ सालदेखि संचालनमा आईरहेको बालगृहलाई थप व्यवस्थित र दिगोपनका लागि अक्षयकोष स्थापनार्थ महायज्ञ सुरु गरिएकाे हाे । २०७० सालबाट आफ्नै भवनबाट सेवा दिईरहेको बालगृहमा हाल १० बालिकासहित २७ जनाले आश्रय पाईरहेकोमा दाताहरुको दानविना संचालन गर्न कठिनाइ हुँदै आएकाेले पुण्य काम मार्फत अक्षयकोष स्थापनार्थ सप्ताहको आयोजना गरेको संस्थाकी अध्यक्ष इन्दिरा डल्लाकोटी न्यौपानले बताईन् । ‘अहिलेसम्म दुखःसुख गरेर बालगृह संचालन गर्दै आयौं’ उनले भनिन् महायज्ञबाट बालबालिकाको लागि भविष्यमा थप काम गर्न सकिने लक्ष्य लिएका छौं ।
उद्घाटनको दिन २० हजार रुपैंया संकलन भएकाे बताउँदै उनले जिल्लाका सबै स्थानीयतह, जनप्रतिनिधिहरु तथा संघसस्था, उद्योग व्यवसायीका प्रतिनिधिहरुलाई सहयोगको लागि अपिल समेत गरेकी छिन् । फागुन ९ गतेसम्म संचालन हुने महायज्ञमा पण्डित रामचन्द्र तिमल्सिनाबाट प्रमुख कथावाचन हुनेछ भने पण्डित हरिचन्द्र तिमल्सिनाले उपवाचनमा सघाउने आयोजकले जनाएको छ । महायज्ञ हरेक दिन विहान ७ बजेदेखि रातको ९ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा समाजसेजवी सिताराम बर्तौला, महिला उद्यमी मेनका श्रेष्ठ, हेटौँडा लेडी जेसिजकी कार्यकारी उपाध्यक्ष इन्दु बानिया लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०८० काे प्रचार प्रसार तथा अन्तर्क्रिया कार्यक्रम भएकाे छ । बाैद्विक अपाङ्गताका अभिभावक महासंघ नेपाल, युएनपीआरपीडी, युएनडीपीकाे संयुक्त आयाेजनामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख अमृत अधिकारीले अपाङ्गता सम्बन्धी नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन पक्ष बलियाे बनाउदै लैजानु पर्ने बताए । ‘अपाङ्गता भएका व्यक्तिहरुले सम्मानित जिवनयापन गर्न पाउनु पर्छ’ उनले भने ‘तीनै तहकाे सरकारकाे दायित्वमा अपाङ्गताकाे क्षेत्र पर्नु पर्छ ।’ बागमती प्रदेमा प्रादेशिक नीति तर्जुमा भई मन्त्रिपरिषदमा पेश नभएकाे उनले जानकारी दिए । अपाङ्गताकाे क्षेत्रमा सरकार साथमा रहने हातेमाले गर्दै अघि बढ्ने प्रतिवद्दता समेत उनले व्यक्त गरे ।
यसैगरी अपाङ्ग सरोकार केन्द्र अध्यक्ष गणेशचन्द्र दवाडीले ५ वटा नीति र रणनितिहरु कार्यान्वयनमा रहेकाे अवस्थामा कार्ययाेजना बनेकाे भए कार्यान्वयन पक्ष सहज हुने बताए । बागमती प्रदेशकाे नीतिमै लिंक भएर अपाङ्गता क्षेत्रकाे बजेट तथा कार्यक्रम आउँदा कार्यान्वयनमा सहज हुने उनले बताए । ‘नीति आएर पनि कार्यान्वयनकाे अवस्था जस्ताकाे तस्तै रहने भने काम छैन’ उनले भने ‘राष्ट्रिय नीतिलाई प्रदेशसँगै लिङ्केज गराएर जानु पर्छ ।’
यस्तै राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश व्यवस्थापक सीता मल्ल ठकुरीले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क शिक्षा तथा राेजगारीकाे सुनिश्चितता हुनुपर्ने बताइन् । ‘याेजना बनाइन्छ तर कार्यान्वयन पक्ष फितलाे हुन्छ’ उनले भनिन् । अपाङ्गता भएका व्यक्तिहरुका सम्बन्धमा प्रादेशिक नीतिहरु बन्दै गरेकाे छ तथ बालमैत्री घेाषणा हुदै गर्दा के बाैद्विक अपाङ्गता भएका बालबालिका समेटिएका छन त ? उनले प्रश्न गरिन् । बालमैत्री घोषणा गर्दा हेटौंडा उपमहानगरपालिका चुकेकाे देखियो उनले भनिन् । ‘बाैद्विक अपाङ्गता भएका बालबालिकाहरु घरमा बस्न बाध्य छन्’ उनले भनिन् ‘कार्ययाेजनाहरु पेपरमा मात्र समिति भएकाे छ।’
मकवानपुर नेत्रहिन संघका अध्यक्ष केदार बजगाईंले अपाङ्गता भएकालाई पुर्व जन्मकाे पाप भन्ने गरेकाे बताए । ‘अपाङ्गमैत्री घर भएकाे छ कि छैन, अपाङ्गमैत्री समाज छ कि छैन यस्ता कुरामा ध्यान दिएर ऐन कानुन बनाउन सकिन्छ’ उनले भने । कार्यक्रममा अपाङ्गता अधिकारकर्मी सरिता लामिछानेले राष्ट्रिय निति २०८० सम्बन्धमा जानकारी गराएकी थिइन् ।
बाैद्विक अपाङ्ग महासंघ उपाध्यक्ष श्रद्वा पाैडेलकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा वहिरा महिला संघ सदस्य कञ्चन अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश उपाध्यक्ष खेल बहादुर थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
।
केराकाे बाेटबाट कागज उत्पादन, मन्त्री तामाङले लिइन् चासो
Tags: No Comments
मकवानपुर । पछिल्लो समयमा नेपाली युवाहरु बाध्यताले वा रहरले विदेशीने क्रम बढ्दो छ । आर्थिक अवस्था तथा विविध परिस्थितिले युवाहरु विदेशीने तथा उतै रमाउने गरेका समयमा मकवानपुरका एक जना युवा नेपाल मै सम्भावना देख्दै स्वदेश फर्किएर स्वरोजगार बन्दै छन् ।
केही गर्ने इच्छाशक्ति भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण मकवानपुरका प्रेम प्रसाद तिमल्सिना (कुवेर) ले दिएका छन् । सम्भावना देख्न र सदुपयोग गर्न सके स्वदेश मै श्रमकाे उपयोग गर्दै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण बनेका हुन् तिमम्सिना । १२ कक्षासम्म अध्ययन गरेर घरको आर्थिक अवस्थाका कारण रोजगारीको सिलसिलामा सन् २०११ मा विदेसिएका थिए उनी ।
८ वर्षकाे समय वैदेशिक रोजगारीमा बिताएर यहाँ गर्ने श्रमलाई स्वदेश मै लगाउन पाए केही गर्न पक्कै सकिन्छ भनि नेपाल फर्किएका मकवानपुरगढी गाउँपालिकाका तिमल्सिनाले केराको बाेटलाई उपयोग गर्दै कागज उत्पादन गर्दै आएका छन् । सन् २०११ देखि साउद अरबमा ड्राइभिङ गरेर ८ वर्ष बिताएर फर्किएका मकवानपुरगढी गाउँपालिका–३ का तिमल्सिनाले युट्युबमा हेरेकै भरमा नेपाली हाते कागज उद्योगबाट नेपाली कागज उत्पादन शुरु गरेका हुन्।
नेपालमै श्रम पसिना बगाएर केही गर्छु भन्ने हुटहुटी बोकेर फर्किएका तिमल्सिनाले काठमाडौंमा केही समय ट्याक्सी चलाए । आफैंले किनेर ५ वर्ष ट्याक्सी चलाए पनि कोरोना महामारीका कारण लकडाउन भयो । ‘नेपालमै केही गर्नु पर्छ सधैं विदेशी भूमिमा श्रम गरेर हुदैंन भनेर नेपाल फर्किएको कोरोनाकाे कारण भएकाे लकडाउनमा ट्याक्सी व्यवसाय पनि नराम्ररी प्रभावित भयो’ उनले भने ।
ट्याक्सी व्यवसाय प्रभावित भएपछि १८ महिने भेटेनरीसम्बन्धी अध्ययन गरेकाे बताउने उनले बाख्रापालन व्यवसाय थाले । बिचौलियाको हातबाट बिक्री गर्नुपर्दा उनलाई बाख्रापालनमा पनि चित्त नबुझेपछि उनलाई गाउँमै बसेर केही गर्नुपर्छ भन्ने लागेकाे बताउँछन् । ८ वर्ष विदेशमा बस्दा उनलाई आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने कुराले मन पिरोलिरहन्थ्यो। ‘विदेशमा मेरो काम राम्रै थियो तर मलाई आफ्नै देशमा केही गर्नुपर्छजस्तो लागेर ८ वर्षपछि स्वदेश फर्किए’ उनले भने ।
युट्युबमा हेर्दै जाँदा केराको थामबाट धागो, कागज, कपडालगायतकाे वस्तु उत्पादन गर्न सकिने थाहा पाएपछि केराको बोटबाट कागज उत्पादन शुरु गरेको उनी बताउँछन् । ‘ हाम्राे गाउँघरमा धेरै केराखेती हुन्छ। केराकाे घरी बेचिसकेपछि त्यसको बोट काटेर फाल्छौं तर यसलाई उपयोगमा ल्याउन सके धेरै कुरा बनाएर सदुपयोग गर्न सकिने रहेछ’ तिमल्सिनाले भने, ‘युट्युबमा हेरेर मैले थाहा पाएपछि यसलाई सदुपयोग गर्नुपर्छ भनेर उत्पादन गर्न थालेँ।’
करिब डेढ महिना अघिबाट ३ लाख रुपैयाँको लगानीमा कागज उत्पादन गर्न थालेका तिमल्सिनाले हालसम्म उद्योगमा ७ लाख लगानी गरिसकेका छन्। छोटो समयमै कागज उत्पादन थालेको उनको नेपाली कागज गढी गाउँपालिकाले ५ हजार पिस खरिद गरिसकेको छ। वार्षिक ५० हजारसम्म नेपाली कागज खरिद गर्दै आइरहेको गाउँपालिकाले स्थानीयले उत्पादन गरेको कागज खरिद गर्ने आश्वासन दिएकाे उनले बताए। उनले हालसम्म १ लाख रुपैयाँको कागज बिक्री गरिसकेका छन् भने कागज खरिदका लागि अर्डर आउने थालेकाे तिमल्सिनाले बताए।
पहिलो प्रयासमै कागज उत्पादन गर्न सफल भएपछि यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउने उनले बताए। केराको थामबाट रेशा निकाल्ने र त्यसलाई पकाएर सफा गरेर घाममा सुकाएपछि नेपाली कागज बन्ने उनले बताए। तिमल्सिना केराबाट बनेको कागजलाई ब्राण्ड बनाउने सोच रहेको बताउँछन्। केराबाट बन्ने वाइन, कपडा, चिप्स, धागो, ग्रिन पाउडरलगायत सबै उत्पादन गरेर खेर गएको केराको बोटको महत्व बुझाउन मेशिनसहितको ठूलो उद्योग स्थापना गरेर गाउँपालिकाका १५/२० जनालाई रोजगारी दिने उनको लक्ष्य छ।
‘नेपालमा केही पनि छैन भनेर युवाहरु विदेश जान्छन् तर गर्न जाने नेपालमा पैसै पैसा छ,’ उनी भन्छन् ‘नेपालमा जस्तो अवसर कहीँ छैन‚ मात्रै सम्भावना देख्न र सदुपयोग गर्न सक्नुपर्छ।’
तिमल्सिनाकाे उद्योगमा मन्त्रीकाे चासो

मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मा अवस्थित रहेको तिमल्सिनाले सुरु गरेको नेपाली हाते कागज उद्योगकाे बागमती प्रदेशका एक जना मन्त्रीले चासो लिएकी छिन् । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकुमाया तामाङले उक्त उद्योगकाे अवलाेकन गर्दै चासो लिएकी हुन् । उद्योगमन्त्री तामाङ नेपाली हाते कागज उद्योगले कागज निर्माण गर्ने प्रक्रियासँगै उद्योगको अवस्था अवलोकन गरेकी हुन् ।
उनले कागज उद्योगको प्रवर्धन गर्दै, प्रदेश सरकारबाट आवश्यक सामग्री र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री तामाङले कागजको निर्माणलाई थप प्रोत्साहन गर्दै, नेपाली हाते कागजको प्रयोगलाई बढावा दिनका लागि मन्त्रीस्तरीय बैठकमा यस विषयमा छलफल गर्ने जानकारी दिइन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, ठूलोगङ्गटेमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा बुधबारबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको महायज्ञको उद्घाटन बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता एवम् पशुपतिनाथ वेदाङ्ग विद्यापीठका प्राचार्य (क्याम्पस प्रमुख)प्रा.डा. विष्णुप्रसाद तिम्सिनाको विशेष आतिथ्यतामा भएको हो ।
महायज्ञ उद्घाटन गर्दै प्रदेश सभा सदस्य पुलामीले धार्मिक पर्यटनको संरक्षण र विकासका लागि काम गरिने बताए । ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान गर्न आयोजित महायज्ञको सफलताको शुभकामना दिदैं उनले भने ‘धर्म संस्कृतिले मानिसलाई नैतिक आचरणमा बस्न, आपसी सदभाव र भाईचाराको सम्बन्ध बढाउन सहयोग पुर्याइरहेको छ ।’ सबै धर्म, संस्कृति, मूल्य मान्यताको सम्मान गर्दै मिलेर अघि बढ्न उनले आग्रह गरे ।
महायज्ञको उद्घाटन अघि अङ्गारेश्वर मन्दिर परिसरबाट कलश यात्रा गरिएको थियो । ७ फागुनसम्म संचालन हुने महायज्ञमा नियमित सत्सङ्ग, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएकाे मूल समारोह समितिका संयोजक कृष्णदेव भण्डारीले बताए । महायज्ञमा पण्डित बद्रीविशाल शास्ती कथा वाचन गर्नेछन् । यस्तै पण्डित अनमोल धिताल उपवाचक रहेका छन् ।
महायज्ञबाट संकलन हुने रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) लगाउने लक्ष्य रहेको प्रचार समिति संयोजक चुडामणि रुपाखेतीले बताए ।
सप्ताह ज्ञान महायज्ञ अन्तरगत ३० माघ देखि ६ फागुनसम्म प्रत्येक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पाठ पारायण तथा हवन, विहान ११ बजेदेखि खिउँसो ४ः३० बजेसम्म कथा प्रवचन, साँझ ६ बजेदेखि ९ बजेसम्म महात्म्य प्रवचन तथा भजन किर्तन हुने आयोजकले जनाएकाे छ । यस्तै ७ फागुनमा कथा विश्राम, तिलार्चन, पूर्णाहुति, प्रसाद वितरण, तथा महायज्ञ समापन गरिने छ ।
महायज्ञको उद्घाटन मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित संघीय सांसद् दीपक बहादुर सिंहको प्रमुख आतिथ्यता हुने गरी कार्यक्रम तय भएकाेमा सांसद् सिंह उपस्थित नहुने भएपछि प्रदेश सांसद् पुलामीकाे प्रमुख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको संयोजक भण्डारीले जानकारी दिए ।
यस्तै, महायज्ञकाे संचालन तथा व्यवस्थापन गर्न विभिन्न ८ वटा समिति गठन गरिएको छ । अर्थ समिति संयोजकमा धर्मराज अर्याल, प्रचार समिति संयोजकमा चुडामणि रुपाखेती, पुजा समिति संयोजकमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समिति संयोजकमा माया राना, सरसफाइ समिति संयोजकमा ओम प्रसाद अधिकारी, समान खरिद समिति संयोजकमा शमशेर पुडासैनी,भण्डारण समिति संयोजक सिताराम वाइबा रहने गरी गठन गरिएको हो ।
महायज्ञमा करिब २ हजार भक्तजनहरुको उपस्थिति रहने अनुमान आयोजकले गरेकाे छ । महायज्ञमा दान गर्नेहरुकाे लागि सम्मान कार्यक्रम समेत गरिने बताइएकाे छ ।