मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गरेसँगै नगरलाई बिहीबार बालमैत्री नगर घाेषणा गरिएकाे हाे ।
संघीय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा उपमहानगरपालिकालाई निकृष्ट बालश्रममुक्त, बाल विबाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिमका सुचक तथा तहगत चरणहरु पूरा गरी हेटौंडा बालमैत्री नगर घोषणा भएको हो ।
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताएका छन्। मन्त्री सिंहले समाजमा व्याप्त कुरीति हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहने र हेटौंडा उपमहानगरपालिकाले सो कार्यको सुरुवात गरि बालमैत्री घोषित हुन सफल भएको बताए ।
स्थानीय तहका सम्भावनाहरू पहिचान गरि विकास आयोजनाहरू व्यवस्थित ढङ्गबाट गर्नुपर्ने उनले उल्लेख गरेका छन्। उनले बालमैत्री घोषणा र यस्ता रचनात्मक गतिविधिले हेटौंडा महानगरपालिका परिणत हुन संभावनालाई प्रत्याभूति दिलाउन सफल रहेको बताए। मन्त्री सिंहले स्थानीय तह, प्रदेश र सङ्घ सरकारले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्न लाग्नुपर्ने कुरामा जोड दिएका थिए। ‘उपमहानगरपालिको काम सरसफाइ मात्र होइन, अहिले युवाको, जनताको धेरै माग छ, सो मागलाई सम्बोधन गर्ने काम पनि उपमहानगरको हो’ – मन्त्री सिंहले भने।
उनले मन्त्री सिंहले हेटौंडा उपमहानगरपालिका भौगोलिक हिसाबले उपयुक्त र विकासको तिव्र गतिमा रहेकाले चाडैनै देशको महानगरपालिकामा परिणत हुने देखिएको बताएका छन् ।
उनले भने ‘हेटौंडा विकासको गतिले तीव्र रहेको भौगोलिक क्षेत्र हो । यसरीनै रचनात्मक कार्यहरु गर्दै जाँदा एकदिन सिंगो हेटौंडा देशकै राजधानीको रुपमा चिनिने छ ।’ बालमैत्री घोषणा पश्चात बालबालिकाका क्षेत्रमा तिनै तहका सरकार अझ बढी उत्तरदायी हुन आवश्यक रहेको उनले बताए । बालबालिकाको हक हितका लागि परिवार, समाज र सरकारले जिम्मेवारी बहन गर्दै पूरा गर्न बाँकी रहेका सूचकमाथि जोड दिन उनले आग्रह गरे ।
उपमहानगरपालिकालाई बालमैत्री घोषणा पश्चात घोषणामा मात्र सिमित नराख्ने प्रमुख लामाले बताएकी छन् । ‘घोषणा मात्र नभई यसको निरन्तरता र गुणस्तरीय बालमैत्री वातावरणको आवश्यक्ता महशुस गरी सिङ्गो उपमहानगरपालिकालाई बालमैत्री घोषणा पश्चात दिगोपनाको लागि नगरस्तरीय तथा वडागत रुपमा पञ्चवर्षिय रणनीतिक योजनासमेत तयार गरिएको उनले बताइन् । समाजका कुनाकाप्चामा हुने बाल हिंसालाई रोक्न र कँहि त्यस्ता घटना घटेमा नगरपालिकालाई खबरदारी गर्न उनले आग्रह गरिन्।
नगरले बालमैत्री नगरपालिका घोषणाका लागि २०७९ भाद्र ५ बाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र विविध बालमैत्री कार्यक्रमहरु सुरु गरेको थियो । नगरपालिकाले साढे दुई वर्षदेखि १९ वडामै सहजकर्ताहरु खटाएर सुचक पुरा गर्ने अभियानमा लागेको थियो ।
उपमहानगरपालिकामा घरधुरी तथ्यांक सर्वेक्षण २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ५० हजार १ सय ९५ रहेको छ । जसमा २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । कुल बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेका छन् । उपमहानगरपालिकामा टोल स्तरीय २ सय ६५ र विद्यालय स्तरीय १ सय ६ वटा बालसमुह गरि ३ सय ७१ वटा बालसमुह छन् भने १९ वडा स्तरीय र १ नगर स्तरीय गरि २० वटा बाल संजाल गरि ३ सय ७१ वटा बालबालिका संरचना क्रृयाशिल रहेका थिए् ।
बालमैत्री घोषणाका लागि आवश्यक ५१ सुचकहरुमध्ये ४३ वटा सुचकमा १०० प्रतिशत, १ वटा सुचकमा ९९.९४ प्रतिशत १ वटा सुचकमा ९९.८९ प्रतिशत, १ वटा सुचकमा ९९.८७ प्रतिशत, १ वटा सुचकमा ९९.१ प्रतिशत, १ वटा सुचकमा ९८.६३ प्रतिशत, १ वटा सुचकमा ९६.८४ प्रतिशत, १ वटा सुचकमा ९१ प्रतिशत र बाँकि १ वटा सूचकमा ८८.०६ प्रतिशत नतिजा हाँसिल भएको उपमहानगरपालिकाले जनाएको छ ।
बाल बचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी र त्यसलाई निरन्तरता दिनेगरी नगरपालिका बालमैत्री बनाइएको हो ।
हेटौंडाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहित जनप्रतिनिधि, विद्यार्थी, क्लब, संघ संस्थाको प्रतिनिधिहरुको सहभागितामा नगरको विभिन्न स्थानबाट भएको र्याली तथा प्रभातफेरी हेटौंडा ५ क्याम्पाचौरमा पुगेर बाल मैत्री घोषणा कार्यक्रम परिणत भएको थियो।
हेटौंडा उपमहानगरपालिका मकवानपुरको बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुने चौथो स्थानीय तह हो। यस अघि मकवानपुरका मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा भइसकेका छन्।

