मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेकाे हाम्रो घर बालगृहको अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको सुरु भएको छ । ग्रामिण जीवनस्तर मञ्चले हेटौंडा संचालन गर्दै आईरहेको बालगृहकाे अक्षयकाेष स्थापनाकाे उद्देश्यले बिहीबारबाट सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे हाे ।
महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले राज्यले गर्नुपर्ने महत्वपूर्ण काम सार्वजनिक संघसस्थाले गर्नु नमूनायोग्य भएको बताए । यस्ता पवित्र कामलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । अविभावकहरुबाट विमुख भएका बालबालिकाको अविभावक भएर हाम्रो घरले समाजमा उदाहरणीय काम गरेको बताउँदै मन्त्री ठकुरीले निकै पवित्र उदेश्य राखेर सुरु गरेको महायज्ञलाई सबै नागरिकले दिल खोलेर सहयोग गर्न अनुरोध गरे । बालगृहको दिगोपनको लागि महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्दै मन्त्री ठकुरीले आफूले सरकार मार्फत बालगृहलाई सहयोगको लागि पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
२०६५ सालदेखि संचालनमा आईरहेको बालगृहलाई थप व्यवस्थित र दिगोपनका लागि अक्षयकोष स्थापनार्थ महायज्ञ सुरु गरिएकाे हाे । २०७० सालबाट आफ्नै भवनबाट सेवा दिईरहेको बालगृहमा हाल १० बालिकासहित २७ जनाले आश्रय पाईरहेकोमा दाताहरुको दानविना संचालन गर्न कठिनाइ हुँदै आएकाेले पुण्य काम मार्फत अक्षयकोष स्थापनार्थ सप्ताहको आयोजना गरेको संस्थाकी अध्यक्ष इन्दिरा डल्लाकोटी न्यौपानले बताईन् । ‘अहिलेसम्म दुखःसुख गरेर बालगृह संचालन गर्दै आयौं’ उनले भनिन् महायज्ञबाट बालबालिकाको लागि भविष्यमा थप काम गर्न सकिने लक्ष्य लिएका छौं ।
उद्घाटनको दिन २० हजार रुपैंया संकलन भएकाे बताउँदै उनले जिल्लाका सबै स्थानीयतह, जनप्रतिनिधिहरु तथा संघसस्था, उद्योग व्यवसायीका प्रतिनिधिहरुलाई सहयोगको लागि अपिल समेत गरेकी छिन् । फागुन ९ गतेसम्म संचालन हुने महायज्ञमा पण्डित रामचन्द्र तिमल्सिनाबाट प्रमुख कथावाचन हुनेछ भने पण्डित हरिचन्द्र तिमल्सिनाले उपवाचनमा सघाउने आयोजकले जनाएको छ । महायज्ञ हरेक दिन विहान ७ बजेदेखि रातको ९ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा समाजसेजवी सिताराम बर्तौला, महिला उद्यमी मेनका श्रेष्ठ, हेटौँडा लेडी जेसिजकी कार्यकारी उपाध्यक्ष इन्दु बानिया लगायतको आतिथ्यता रहेको थियो ।

