मकवानपुर । पछिल्लो समयमा नेपाली युवाहरु बाध्यताले वा रहरले विदेशीने क्रम बढ्दो छ । आर्थिक अवस्था तथा विविध परिस्थितिले युवाहरु विदेशीने तथा उतै रमाउने गरेका समयमा मकवानपुरका एक जना युवा नेपाल मै सम्भावना देख्दै स्वदेश फर्किएर स्वरोजगार बन्दै छन् ।
केही गर्ने इच्छाशक्ति भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण मकवानपुरका प्रेम प्रसाद तिमल्सिना (कुवेर) ले दिएका छन् । सम्भावना देख्न र सदुपयोग गर्न सके स्वदेश मै श्रमकाे उपयोग गर्दै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण बनेका हुन् तिमम्सिना । १२ कक्षासम्म अध्ययन गरेर घरको आर्थिक अवस्थाका कारण रोजगारीको सिलसिलामा सन् २०११ मा विदेसिएका थिए उनी ।
८ वर्षकाे समय वैदेशिक रोजगारीमा बिताएर यहाँ गर्ने श्रमलाई स्वदेश मै लगाउन पाए केही गर्न पक्कै सकिन्छ भनि नेपाल फर्किएका मकवानपुरगढी गाउँपालिकाका तिमल्सिनाले केराको बाेटलाई उपयोग गर्दै कागज उत्पादन गर्दै आएका छन् । सन् २०११ देखि साउद अरबमा ड्राइभिङ गरेर ८ वर्ष बिताएर फर्किएका मकवानपुरगढी गाउँपालिका–३ का तिमल्सिनाले युट्युबमा हेरेकै भरमा नेपाली हाते कागज उद्योगबाट नेपाली कागज उत्पादन शुरु गरेका हुन्।
नेपालमै श्रम पसिना बगाएर केही गर्छु भन्ने हुटहुटी बोकेर फर्किएका तिमल्सिनाले काठमाडौंमा केही समय ट्याक्सी चलाए । आफैंले किनेर ५ वर्ष ट्याक्सी चलाए पनि कोरोना महामारीका कारण लकडाउन भयो । ‘नेपालमै केही गर्नु पर्छ सधैं विदेशी भूमिमा श्रम गरेर हुदैंन भनेर नेपाल फर्किएको कोरोनाकाे कारण भएकाे लकडाउनमा ट्याक्सी व्यवसाय पनि नराम्ररी प्रभावित भयो’ उनले भने ।
ट्याक्सी व्यवसाय प्रभावित भएपछि १८ महिने भेटेनरीसम्बन्धी अध्ययन गरेकाे बताउने उनले बाख्रापालन व्यवसाय थाले । बिचौलियाको हातबाट बिक्री गर्नुपर्दा उनलाई बाख्रापालनमा पनि चित्त नबुझेपछि उनलाई गाउँमै बसेर केही गर्नुपर्छ भन्ने लागेकाे बताउँछन् । ८ वर्ष विदेशमा बस्दा उनलाई आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने कुराले मन पिरोलिरहन्थ्यो। ‘विदेशमा मेरो काम राम्रै थियो तर मलाई आफ्नै देशमा केही गर्नुपर्छजस्तो लागेर ८ वर्षपछि स्वदेश फर्किए’ उनले भने ।
युट्युबमा हेर्दै जाँदा केराको थामबाट धागो, कागज, कपडालगायतकाे वस्तु उत्पादन गर्न सकिने थाहा पाएपछि केराको बोटबाट कागज उत्पादन शुरु गरेको उनी बताउँछन् । ‘ हाम्राे गाउँघरमा धेरै केराखेती हुन्छ। केराकाे घरी बेचिसकेपछि त्यसको बोट काटेर फाल्छौं तर यसलाई उपयोगमा ल्याउन सके धेरै कुरा बनाएर सदुपयोग गर्न सकिने रहेछ’ तिमल्सिनाले भने, ‘युट्युबमा हेरेर मैले थाहा पाएपछि यसलाई सदुपयोग गर्नुपर्छ भनेर उत्पादन गर्न थालेँ।’
करिब डेढ महिना अघिबाट ३ लाख रुपैयाँको लगानीमा कागज उत्पादन गर्न थालेका तिमल्सिनाले हालसम्म उद्योगमा ७ लाख लगानी गरिसकेका छन्। छोटो समयमै कागज उत्पादन थालेको उनको नेपाली कागज गढी गाउँपालिकाले ५ हजार पिस खरिद गरिसकेको छ। वार्षिक ५० हजारसम्म नेपाली कागज खरिद गर्दै आइरहेको गाउँपालिकाले स्थानीयले उत्पादन गरेको कागज खरिद गर्ने आश्वासन दिएकाे उनले बताए। उनले हालसम्म १ लाख रुपैयाँको कागज बिक्री गरिसकेका छन् भने कागज खरिदका लागि अर्डर आउने थालेकाे तिमल्सिनाले बताए।
पहिलो प्रयासमै कागज उत्पादन गर्न सफल भएपछि यसलाई अझै व्यवस्थित ढंगले अघि बढाउने उनले बताए। केराको थामबाट रेशा निकाल्ने र त्यसलाई पकाएर सफा गरेर घाममा सुकाएपछि नेपाली कागज बन्ने उनले बताए। तिमल्सिना केराबाट बनेको कागजलाई ब्राण्ड बनाउने सोच रहेको बताउँछन्। केराबाट बन्ने वाइन, कपडा, चिप्स, धागो, ग्रिन पाउडरलगायत सबै उत्पादन गरेर खेर गएको केराको बोटको महत्व बुझाउन मेशिनसहितको ठूलो उद्योग स्थापना गरेर गाउँपालिकाका १५/२० जनालाई रोजगारी दिने उनको लक्ष्य छ।
‘नेपालमा केही पनि छैन भनेर युवाहरु विदेश जान्छन् तर गर्न जाने नेपालमा पैसै पैसा छ,’ उनी भन्छन् ‘नेपालमा जस्तो अवसर कहीँ छैन‚ मात्रै सम्भावना देख्न र सदुपयोग गर्न सक्नुपर्छ।’
तिमल्सिनाकाे उद्योगमा मन्त्रीकाे चासो

मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मा अवस्थित रहेको तिमल्सिनाले सुरु गरेको नेपाली हाते कागज उद्योगकाे बागमती प्रदेशका एक जना मन्त्रीले चासो लिएकी छिन् । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकुमाया तामाङले उक्त उद्योगकाे अवलाेकन गर्दै चासो लिएकी हुन् । उद्योगमन्त्री तामाङ नेपाली हाते कागज उद्योगले कागज निर्माण गर्ने प्रक्रियासँगै उद्योगको अवस्था अवलोकन गरेकी हुन् ।
उनले कागज उद्योगको प्रवर्धन गर्दै, प्रदेश सरकारबाट आवश्यक सामग्री र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री तामाङले कागजको निर्माणलाई थप प्रोत्साहन गर्दै, नेपाली हाते कागजको प्रयोगलाई बढावा दिनका लागि मन्त्रीस्तरीय बैठकमा यस विषयमा छलफल गर्ने जानकारी दिइन् ।

