मकवानपुर । ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण छ मकवानपुरकाे मकवानपुर गढी दरबार । मकवानपुर गढीको आफ्नै छुट्टै इतिहास छ । आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहास मकवानपुर गढीले बोकेको छ ।
मकवानपुर गढी परिसरमा वंश गोपाल मन्दिर र भगवान् कृष्णकाे मुर्ती रहेकाे छ । उक्त मुर्तीलाई पहिले फलामे साङ्लोले बाँधेर राखिएको हुन्थ्यो । मन्दिरको केही तल रहेकाे गुफाबाट भगवान् कृष्ण ओहोरदोहोर गर्थे भन्ने जनविश्वास रहेकाे छ । भगवान कृष्ण चितवन लगाइएकाे तोरी खेतीमा खेल्न जाने गरेकाे समेत बताइन्छ । भगवान कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्न सक्ने भएकाेले गाउँलेले बाँधेर राख्ने गरेकाे किम्वदन्ती छ ।
सेन वंशका राजाहरूले १३औं शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मुकुन्द सेन कै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने जनविश्वास छ । सेन वंशका लोहाङ्गसेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका राजाहरूले करिब तीन सय वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई राज्य गरेका थिए ।
मकवानपुर गढी राजा तुला सेनको राज्य कालमा निर्माण गरिएको विश्वास गरिन्छ । गढीको तीन वटा भाग रहेका छन्, ठूलो गढी, सानो गढी र डुङ्गेगढी । ठूलोगढीमा दुई–दुई वटा दरबार, मन्दिर तथा पानी ट्याङ्कीहरू रहेका छन् भने ठूलो गढीको दक्षिण–पश्चिममा करिब तीन सय मिटरको दूरीमा सानो गढी र करिब २ किमि उत्तर पूर्वमा ढुङ्गे गढी छन् ।
परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ । हेटौंडा उपमहानगरपालिकाकाे बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडक हुँदै पुगिने गढी समुद्री सतहदेखि १०१७ मिटर उचाइमा पहाडी थुम्कोमा अवस्थित छ ।
मकवानपुर । मकवानपुरको मनहरी ज्यामिरेमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो मनहरी ९ ज्यामिरे स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौडा बाट चितवनतर्फ जादै गरेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरे तर्फ जादै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा मोटरसाइकल चालक सुर्य बहादुर मोक्तानको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक मनहरी ७ बस्ने ४० वर्षीय मोक्तान घाइते भएकोमा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते मोक्तानलाई मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर रिफर गरिएको थियो ।
दुर्घटना भएको स्थानमा बाटो अवरोध नभएको तथा मोटरसाइकल ट्रक र ट्रक चालक हेटौडा ११ थानाभर्याङ बस्ने ५४ वर्षीय बुद्धि बहादुर स्याङतानलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
मकवानपुर । पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा सप्ताहव्यापी राष्ट्रिय योग दिवस सुरु भएको छ ।
पतञ्जली योग जिल्ला समितिले ११ औं राष्ट्रिय योग दिवस २७ पुस (आज) बाट ३ माघसम्म सप्ताहव्यापी रूपमा मनाउने भएको छ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने नाराका साथ पतञ्जलि योग जिल्ला समितिले ११ औं राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाउने भएको हो ।
समितिका अनुसार पौष २७ गतेदेखि माघ ३ गतेसम्म विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ । जिल्लाभर रहेका योग साधना केन्द्र, विद्यालय तथा सार्वजनिक स्थलहरूमा कार्यक्रम आयोजना गरी योगप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले योग दिवस सप्ताहव्यापी मनाउन लागिएको समिति अध्यक्ष रामकृष्ण थापाले बताए ।
२७ पुष आइतबार आ–आफ्नो योग साधना केन्द्रमा विशेष सरसफाइ तथा फूल बिरुवा रोपण गरि योग सप्ताह सुरु गरिएको छ । आज बिहान वनदेवी योग साधना केन्द्रमा सञ्चालित सहयोग शिक्षक तालिमको समापन कार्यक्रम तथा हवन आयोजना गरिएको छ । यसै गरि २८ पुस सोमबार जिल्लाका विभिन्न विद्यालयहरूमा आहार–विहार सम्बन्धी प्रवचन तथा योग–ध्यान कार्यक्रम सञ्चालन गरिने छ ।
२९ पुस गते माघे सङ्क्रान्तिको सांस्कृतिक महत्वबारे जिल्ला योग भवनमा प्रवचन कार्यक्रम गरिने छ। त्यसैगरी ३० पुसमा धार्मिक पर्यटकीय स्थल कुष्माण्ड सरोवर धामको सरसफाइ कार्यक्रम गरिने छ। १ माघ गते रोयल पार्टी प्यालेसमा योग, ध्यान तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । २ माघमा पुनः विद्यालय केन्द्रित आहार–विहार विषयक विशेष चर्चा तथा योग–ध्यान कार्यक्रम गरिनेछ ।
यस्तै ३ माघमा हेटौंडा–१९ वस्तीपुर, हात्तीगौडामा अन्तरक्रिया तथा वनभोज कार्यक्रम आयोजना गरि सप्ताहव्यापी कार्यक्रमको समापन गरिने जिल्ला अध्यक्ष थापाले जानकारी दिए । समितिले यस अभियानले योगप्रतिको जनचेतना बढाउँदै स्वस्थ जीवनशैली निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औं वर्षको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।
विद्यालयले आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव कार्यक्रम मनाउँदै छ । स्वर्ण महोत्सव मनाउने क्रममा विद्यालय परिसरमा बिहीबार र शुक्रबार आयोजना गरिएकाे निःशुल्क आँखा शिविरमा ९५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । शिविरको पहिलो दिन बिहीबार ५२१ जना विद्यार्थी तथा शुक्रबार ४२९ जना विद्यार्थीकाे आँखा परीक्षण गरिएकाे विद्यालयले जनाएकाे छ । ईसिडीदेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हाे ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा भएकाे आँखा शिविर शनिबार समेत हुने विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले जानकारी दिए । प्रअ कर्णका अनुसार शनिबारनै विद्यालयमा विद्यार्थीहरु लक्षित दन्त शिविरको समेत आयोजना गरिने छ । आँखा परीक्षणका क्रममा केही विद्यार्थीहरुको आँखामा समस्या रहेको पाइएको छ । जटिल समस्या देखिएका विद्यार्थीहरुको थप उपचारमा विद्यालयले सहजीकरण गर्ने उनले जानकारी दिए ।
यसैबिच विद्यालयको स्वर्ण महोत्सवका अवसरमा हेटौंडा २ स्थित सिद्धार्थ टोल विकास संस्था र सिद्धार्थ माविको एसएलसी २०५६ ब्याचका विद्यार्थीहरुको समुहले गरी एक लाख ६३ हजार ९७१ रुपियाँ सहयोग प्रदान गरेका छन् ।
मकवानपुर । मकवानपुरको हेटौंडामा सार्वजनिक मैदान निर्माण हुने भएको छ । स्थानीय तह,प्रदेश तथा संघीय सरकारकाे सहयाेगमा सुविधा सम्पन्न मैदान निर्माण गरिने भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवी माविकाे पूर्वी क्षेत्रमा खेलकुद तथा अन्य कार्यक्रम गर्न मैदान निर्माण गर्ने गरि तयारी थालिएको हेटौंडा ४ नम्बर वडा अध्यक्ष एवम् भुटानदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
फुटबल, भलिबल, क्रिकेट, बाँस्केटबल लगायतका खेलहरू तथा सार्वजनिक कार्यक्रम सञ्चालन र नियमित व्यायम लगायतका विभिन्न क्रियाकलाप सञ्चालन गर्न सकिने गरि बहुउदेश्यीय मैदान निर्माण गर्न लागिएको सिग्देलले बताए। ‘तत्काल मैदानकाे सरसफाई कार्य अगाडि बढाईएकाे छ’ उनले भने ‘उपमहानगरपालिका, वडा, प्रदेश र संघीय सरकारबाट सहयाेग जुटाएर सुविधा सम्पन्न मैदान निर्माण गर्ने उद्देश्यले छलफल भैरहेको छ ।’
‘खेल मैदान निर्माण पश्चात विद्यालय तथा क्लबहरूले विभिन्न खेलकुदकाे कार्यक्रम आयाेजना गर्नसक्ने छन् विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले भने ‘अन्य संघ, संस्था, संगठन र दलहरूले विद्यालयकाे निति अनुसार अनुमति लिएर कार्यक्रम आयाेजना गर्न दिइनेछ ।’