मकवानपुर । पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा सप्ताहव्यापी राष्ट्रिय योग दिवस सुरु भएको छ ।
पतञ्जली योग जिल्ला समितिले ११ औं राष्ट्रिय योग दिवस २७ पुस (आज) बाट ३ माघसम्म सप्ताहव्यापी रूपमा मनाउने भएको छ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने नाराका साथ पतञ्जलि योग जिल्ला समितिले ११ औं राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाउने भएको हो ।
समितिका अनुसार पौष २७ गतेदेखि माघ ३ गतेसम्म विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ । जिल्लाभर रहेका योग साधना केन्द्र, विद्यालय तथा सार्वजनिक स्थलहरूमा कार्यक्रम आयोजना गरी योगप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले योग दिवस सप्ताहव्यापी मनाउन लागिएको समिति अध्यक्ष रामकृष्ण थापाले बताए ।
२७ पुष आइतबार आ–आफ्नो योग साधना केन्द्रमा विशेष सरसफाइ तथा फूल बिरुवा रोपण गरि योग सप्ताह सुरु गरिएको छ । आज बिहान वनदेवी योग साधना केन्द्रमा सञ्चालित सहयोग शिक्षक तालिमको समापन कार्यक्रम तथा हवन आयोजना गरिएको छ । यसै गरि २८ पुस सोमबार जिल्लाका विभिन्न विद्यालयहरूमा आहार–विहार सम्बन्धी प्रवचन तथा योग–ध्यान कार्यक्रम सञ्चालन गरिने छ ।
२९ पुस गते माघे सङ्क्रान्तिको सांस्कृतिक महत्वबारे जिल्ला योग भवनमा प्रवचन कार्यक्रम गरिने छ। त्यसैगरी ३० पुसमा धार्मिक पर्यटकीय स्थल कुष्माण्ड सरोवर धामको सरसफाइ कार्यक्रम गरिने छ। १ माघ गते रोयल पार्टी प्यालेसमा योग, ध्यान तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । २ माघमा पुनः विद्यालय केन्द्रित आहार–विहार विषयक विशेष चर्चा तथा योग–ध्यान कार्यक्रम गरिनेछ ।
यस्तै ३ माघमा हेटौंडा–१९ वस्तीपुर, हात्तीगौडामा अन्तरक्रिया तथा वनभोज कार्यक्रम आयोजना गरि सप्ताहव्यापी कार्यक्रमको समापन गरिने जिल्ला अध्यक्ष थापाले जानकारी दिए । समितिले यस अभियानले योगप्रतिको जनचेतना बढाउँदै स्वस्थ जीवनशैली निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

