मकवानपुर । हेटौंडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औं वर्षको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ ।
विद्यालयले आगामी माघ २ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव कार्यक्रम मनाउँदै छ । स्वर्ण महोत्सव मनाउने क्रममा विद्यालय परिसरमा बिहीबार र शुक्रबार आयोजना गरिएकाे निःशुल्क आँखा शिविरमा ९५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । शिविरको पहिलो दिन बिहीबार ५२१ जना विद्यार्थी तथा शुक्रबार ४२९ जना विद्यार्थीकाे आँखा परीक्षण गरिएकाे विद्यालयले जनाएकाे छ । ईसिडीदेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हाे ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा भएकाे आँखा शिविर शनिबार समेत हुने विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले जानकारी दिए । प्रअ कर्णका अनुसार शनिबारनै विद्यालयमा विद्यार्थीहरु लक्षित दन्त शिविरको समेत आयोजना गरिने छ । आँखा परीक्षणका क्रममा केही विद्यार्थीहरुको आँखामा समस्या रहेको पाइएको छ । जटिल समस्या देखिएका विद्यार्थीहरुको थप उपचारमा विद्यालयले सहजीकरण गर्ने उनले जानकारी दिए ।
यसैबिच विद्यालयको स्वर्ण महोत्सवका अवसरमा हेटौंडा २ स्थित सिद्धार्थ टोल विकास संस्था र सिद्धार्थ माविको एसएलसी २०५६ ब्याचका विद्यार्थीहरुको समुहले गरी एक लाख ६३ हजार ९७१ रुपियाँ सहयोग प्रदान गरेका छन् ।

