हेटौंडामा सहकारी उत्पादन सामग्री प्रदर्शनी हुने
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा सहकारी र सहकारी संस्थाका सदस्यबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री मेला हुने भएको छ ।
‘उत्पादन, बजारीकरण तथा लगानीको आधार, उद्यम प्रवर्द्धन हाम्रो पूर्वाधार’ भन्ने नाराका साथ हेटौंडामा आगामी १६ पुसदेखि १८ पुससम्म हेटौंडामा प्रदर्शनी तथा बिक्री मेला हुने भएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजनामा हेटौंडा २ स्थित संघको आफ्नै भवन परिसरमा सामाग्री प्रदर्शनी तथा बिक्री मेला हुनेछ ।
सहकारी मार्फत उद्यम गर्ने सदस्यलाई प्रोत्साहन गर्ने तथा सहकारीका व्यवसायी सदस्यको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी मेला आयोजना गरिएको संघले आइतबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको छ । मेलाले उत्पादक र उपभोक्ता बीच पुलको रुपमा काम गर्ने र सहकारीका सदस्यको उत्पादनको बजार प्रवर्द्धन गर्ने विश्वास लिइएको संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।
मेलामा कृषि सहकारीका साथै बहुउद्देश्यीय कृषि सहकारीहरुले समेत उत्पादन गरेका हस्तकला सामग्री, खाद्य सामाग्री, मसला सामग्री, डेरी परिकारसहित करिब ४० वटा स्टल रहने बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
सहकारीले बचत र ऋणकाे काराेवार मात्र गरिरहेकाे नभै सहकारी मार्फत उद्यममा पनि कार्य गरिरहेकाे छ भन्ने सन्देश दिनका लागि मेला आयाेजना गर्न लागेको उनले बताईन । मेलामा सरिखेतको खाेरियामा छरेकाे मासकाे दाल, काेगटेको सिस्नोकाे पिठाे, मार्खुको मकैकाे खाेस्टाबाट बनेकाे चकटी लगायतका स्थानीय उत्पादनको प्रदर्शनी रहने छन् ।
संघकाे २० ओै स्थापना दिवसकाे अवसरमा हुने प्रदर्शनी तथा मेलामा विविध कार्यक्रम समेत हुनेछ । १६ गते हाजिर जवाफ प्रतियाेगिता, १७ गते सहकारी शिर्षकमा वक्तृत्वकला तथा +२ स्तरीय सहकारी निबन्ध प्रतियाेगिता र १८ गते नवनिर्मित भवनकाे उद्घाटन तथा मेलाकाे समापन गरिने श्रेष्ठले जानकारी दिइन ।
संघको आफ्नै भवन
जिल्ला बचत तथा ऋण सहकारी संघको २ तले भवन निर्माण गरिएको छ ।
१८ पुसमा संघकाे स्थापना दिवसकाे दिन नवनिर्मित भवनकाे बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डाेरमणि पाैडेलले उद्घाटन गर्ने भएका छन् । संघले १ कठ्ठा १४ धुर जग्गामा दुई तले भवन निर्माणकाे लागि २ करोड ५ लाख खर्च भएको जनाएको छ ।
उक्त भवन निर्माणको लागि बागमती प्रदेश सरकारले ३३ लाख, बकैया गाउँपालिकाले ७ लाख, मनहरी गाउँपालिकाले ५ लाख, इन्द्रसराेवर गाउँपालिकाले २ लाख र थाहा नगरपालिकाले २ लाख रुपैया सहयाेग गरेको अध्यक्ष श्रेष्ठले बताइन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा उद्घाेषण कला तथा क्षमता अभिबृद्धि दुई दिवसीय प्रशिक्षण कार्यक्रम भएकाे छ ।
महिला पतन्जली याेग समिति मकवानपुरकाे आयाेजनामा पतन्जली याेग साधक साधिकाहरुलाई शुक्रबार र शनिबार भएकाे कार्यक्रममा ५० जनाले प्रशिक्षण लिएका थिए ।
पतन्जली योग प्रदेश सदस्य ध्रुव प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यता तथा कार्यवाहक अध्यक्ष शकुन्तला सिंहकाे सभाध्ययक्षतामा भएकाे कार्यक्रममा प्रशिक्षक दिपकराज मिश्र, पतन्जली याेग जिल्ला समितिका कार्यवाहक अध्यक्ष राजन थापा, पतन्जलि जिल्ला याेग युवा संगठन प्रमुख राजु अधिकारी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ माछा प्लान नजिकै सवारी दुर्घटानमा हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
शनिबार बेलुका माछा प्लानस्थित कान्तिलोकपथ सडक खण्डमा चौघडा तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको प्र.३-०२-०० ८ प २६२८ नम्बरको मोटरसाईकल र हेटौडा बजारबाट चौघडा बजार तर्फ जादै गरेको बा.प्र.०३-००५ प ५१६९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा स्कुटर चालक मकवानपुर हेटौडा १७ हटिया बस्ने ३४ वर्षीय रोहित तामाङ गम्भीर घाइते भएका छन् । उनकाे टाउको र दाहिने खुट्टामा चोट लागेकाे छ । उनलाई थप उपचारको लागी सीएमसी नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएकाे प्रहरीले जनाएकाे छ । यसैगरी स्कटर पछाडी सवार रोहीतकी श्रीमति २८ वर्षीय रमिला तामाङको दाहिने खुट्टामा चोट लागि घाइते भएकी छिन् भने निजहरुकाे छोरा ८ वर्षीय रोजन तामाङ मुख र दाहिने खुट्टामा चोट लागेकाे छ । दुवै जनाकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
यस्तै मोटर साइकल चालक हेटौडा ३ बसामाडी बस्ने ३५ वर्षीय गोपी तामाङको टाउको र आँखाको भागमा चोट लागि घाइते भएका छन् । प्रहरीका अनुसार उनकाे अवस्था मध्यम रहेकाे छ । मोटर साइकल पछाडी सवार हेटौडा १९ नेवारपानी बस्ने ३० वर्षीय बिष्णु प्रजा घाइते भएका छन् । उनकाे बाँया आँखाको निधार, मुख र दाहिने हातमा चोट लागेकाे छ भने अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुकाे हेटौंडा अस्पतालमा उपचार भइरहेकाे बताइएकाे छ ।
२६२८ नम्बरको मोटरसाईकल र ५१६९ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएकाे समयमा चौघडा तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ७ ख ४२९५ नम्बरको ट्रकको (ट्रेलर खालको) बम्परको भाग मुनी २६२८ नम्बरको मोटरसाईकल परेकाे थियाे । मोटर साइकल, स्कुटर र ट्रक तथा ट्रक चालक हेटौंडा १३ पदम पोखरी बस्ने अन्दाजी २९/३० वर्षीय सुकराम घलान जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ ।
खुला कविता प्रतियोगितामा कास्कीका संजोग प्रथम
Tags: No Comments
मकवानपुर। राष्ट्रिय युवा कविता उत्सव–२०८१ अन्तरगत भएकाे खुला कविता प्रतियोगितामा संजोग बस्याल कास्की प्रथम भएकाे छ । मकवानपुरकाे हेटौंडामा शनिबार भएकाे खुला कविता प्रतियोगितामा बस्यालकाे ‘सावधान’ शिर्षककाे कविताले प्रथम स्थान हासिल गरेकाे हाे ।
प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित प्रतियोगितामा प्रथम भएका बस्यालले ४० हजार रुपैंयाकाे पुरस्कार प्राप्त गरे । यसैगरी प्रतियोगितामा कास्कीका कवि सुदर्शन पौडेलकाे कविता घर नफर्किएको छोराको सम्झनामाले द्वितीय भएकाे छ । पौडेलले ३० हजार रुपैंया हात पारे । उदयपुरकी सुमी पोखरेलकाे समयदर्शक यन्त्रको पर्दा नियाल्दा तृतीय भयो । कवि पोखरेल तृतीय हुँदै २० हजार रुपैंया हात पारिन् । प्रतियोगितामा कवि महेश कठायतले सान्त्वना पुरस्कार प्राप्त गरे । बझाङका कवि कठायतकाे देश शिर्षककाे कविता सान्त्वना हुदै १० हजार रुपैंया प्राप्त गरे ।
खुला कविता प्रतियोगिताकाे लागि देशभरबाट २ सय २३ कविता प्राप्त भएका थिए । प्राप्त कविता मध्ये मूल्याङ्कन समितिले उत्कृष्ट २० कविता छनोट गरि नामावली सार्वजनिक गरेकाे थियाे । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय युवा कविता उत्सव २०८१ मा उत्कृष्ट २० वटा कविता स्वयं कवि उपस्थित भई वाचन गरिएकाे थियाे ।
उत्कृष्ट २० मा पर्न सफल कविता र कविहरूको नामावली वर्णानुक्रमानुसार प्रकाशन गरिएको थियाे । प्रतियोगितामा विजेता कवि तथा कविताका अलावाका उत्कृष्ट २० मा अग्रिमा शिवाकोटी मकवानपुरकाे रित्तिदैछ ‘देश’, अभिषेक ओझा बाराकाे ‘विसंवाद’, कुष्मा लौडारी मकवानपुरकाे ‘डिजिटल संसारको मायाजाल’, तारानाथ पराजुली पर्वतकाे ‘पागल प्रकृतिप्रेमीको बयान’, दीपिन सिंजापति दैलेखकाे ‘आकाङ्क्षा’, प्रदीप कोइराला तनहुँकाे ‘म’, बाबुराम श्रेष्ठ यात्री सिन्धुलीकाे ‘आमा, देश र माटो’, भरत थापा धनकुटाकाे ‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, भीमप्रसाद खतिवडा अनुराग दोलखाकाे ‘जीवन एक पाठशाला’ शिर्षककाे कविता छानिएकाे थियाे ।
यसैगरी रञ्जिता अधिकारी धादिङकाे ‘परिवर्तन लेख्ने हातहरु’, राजु झल्लु प्रसाद धादिङकाे ‘खिया’, रुपा ढुङ्गेल मकवानपुरकाे ‘म शिक्षा मन्त्री भए’, सिजन श्रेष्ठ संखुवासभाकाे ‘उर्वशी’, सुन्दर शिरिष सिन्धुपाल्चोककाे ‘जहाज चढ्न मन छैन आमा’, सुबास सजल मकवानपुरकाे ‘डरलाग्दो अन्त्य मानव सभ्यताको’,सुमित्रा सुमी नुवाकाेटकाे ‘बुद्ध आऊ’ शिर्षकका कविता छनोटमा परेकाे थियाे ।
युवालाई उद्यम व्यवसाय गर्न प्रोत्साहित गर्नुपर्छः मन्त्री महर्जन
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्ने बताएका छन् । प्रदेश युवा परिषद्ले हेटौंडामा आयोजना गरेको ‘राष्ट्रिय युवा कविता उत्सव २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले यस्तो बताएका हुन् ।
युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनले बताए । ‘आफू खेलकुद क्षेत्रबाट आएकोले युवाहरुको भावना र मर्म बुझ्छु, विषयगत ज्ञान पनि छ तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो जुन युवाका लागि पर्याप्त छैन’ उनले भने । हामीले युवाहरुको क्षेत्रमा उल्लेख्य काम गर्न सकिरहेका छैनौँ । फलस्वरुप युवाहरुलाई स्वदेशमा टिकाउनै मुस्किल भएकाे उनले जानकारी दिए ।
त्यसैगरी परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुलाई नेतृत्व, व्यक्तित्व विकाससँगै रचनात्मक, सिपमुलक तालिमसँग जोड्न सहयोग समन्वय गरिने बताए । उनले भने ‘सकारात्मक सोचसँगै कार्यसँग जनसंख्याकाे ४३ प्रतिशत युवा जनशक्तिलाई जोड्न सके विद्यमानमा रहेका धेरै समस्या समाधान हुनेछ ।’
कवि मोमिलाका एकल कविता वाचन
‘राष्ट्रिय युवा कविता उत्सव २०८१’ मा साहित्यकार मोमिला जोशीका कविता सुनिए । कवि मोमिलाले आफ्ना १० वटा कविता प्रस्तुत गरेकी थिइन् । कविले भाव समर्पण, प्रेम, पीडा, प्यास र पानी, सूर्य समय, एउटा लालीगुराँस हराएको बेला, मात्र एउटा हाँगा काटिने, दोभन प्रहारबाट, नगरबधुको वक्तव्य, हिउँदको प्रथम वर्षात्, उकालोमा मेरो तस्बिर, तिमी र म, भीमसेन थापाको सुसाइड नोट शिर्षकको कविता सुनाएकी थिइन् ।
राष्ट्रिय युवा कविता उत्सवका अवसरमा पुस्तक प्रदर्शनी समेत गरिएको थियाे । किताबघर हेटौंडाले पुस्तक प्रदर्शनीकाे व्यवस्थापन गरेकाे थियाे ।
मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशकाे अध्यक्षमा काठमाडौ जिल्ला निवासी उपेन्द्र श्रेष्ठ ७४ मतान्तरसहित बिजयी भएका छन् ।
उनले कुल ८६ मत ल्याउंदा उनका प्रतिष्पर्धी नुवाकोट जिल्लाका विरोध खतिवडाले १२ मत प्राप्त गरे ।
महासंघको अध्यक्षबाहेक अन्य सबै पदमा निर्विरोध भएको थियो । उपाध्यक्ष, सचिब, सहसचिव र कोषाध्यक्षमा क्रमश: शारदा पौडेल, एम प्रसाद सुवेदी,मनिष सुब्बा र सुप्रभा अर्याल निर्विरोध भएका छन् । १८ सदस्यीय नयाँ समितिको कार्यावधी ३ बर्षको हुनेछ ।
शुक्रबारबाट सुरु भएको अधिवेशनमा शनिबार बिहान ११:०० बजेदेखि मतदान कार्यक्रम भएको थियो । डिजिटल प्रविधिबाट भएकाे मतदान कार्यकाे मतगणना समेत डिजिटल प्रविधिबाट नै भएकाे राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश व्यवस्थापक सीता मल्ल ठकुरीले बताइन् ।
महासंघमा आबद्द संस्था मध्ये ८३ वटाले समयमै नविकरण गरेका र निर्वाचनका लागि प्रतिनिधि चयन गरि पठाएका थिए । कुलमध्ये ५१% उपस्थिति भएमा बैधानिक मानिने भएकाेले यस अधिबेशनमा ७१ वटा संस्थाका १३७ जना प्रतिनिधि मध्ये १०३ जनाले मतदानमा सहभागिता जनाएका थिए ।
बागमती प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरु १ लाख २१ हजार ४ सय ४७ जना रहेका छन् ।