मकवानपुर । मकवानपुरको हेटौंडामा सहकारी र सहकारी संस्थाका सदस्यबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री मेला हुने भएको छ ।
‘उत्पादन, बजारीकरण तथा लगानीको आधार, उद्यम प्रवर्द्धन हाम्रो पूर्वाधार’ भन्ने नाराका साथ हेटौंडामा आगामी १६ पुसदेखि १८ पुससम्म हेटौंडामा प्रदर्शनी तथा बिक्री मेला हुने भएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजनामा हेटौंडा २ स्थित संघको आफ्नै भवन परिसरमा सामाग्री प्रदर्शनी तथा बिक्री मेला हुनेछ ।
सहकारी मार्फत उद्यम गर्ने सदस्यलाई प्रोत्साहन गर्ने तथा सहकारीका व्यवसायी सदस्यको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी मेला आयोजना गरिएको संघले आइतबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको छ । मेलाले उत्पादक र उपभोक्ता बीच पुलको रुपमा काम गर्ने र सहकारीका सदस्यको उत्पादनको बजार प्रवर्द्धन गर्ने विश्वास लिइएको संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।
मेलामा कृषि सहकारीका साथै बहुउद्देश्यीय कृषि सहकारीहरुले समेत उत्पादन गरेका हस्तकला सामग्री, खाद्य सामाग्री, मसला सामग्री, डेरी परिकारसहित करिब ४० वटा स्टल रहने बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
सहकारीले बचत र ऋणकाे काराेवार मात्र गरिरहेकाे नभै सहकारी मार्फत उद्यममा पनि कार्य गरिरहेकाे छ भन्ने सन्देश दिनका लागि मेला आयाेजना गर्न लागेको उनले बताईन । मेलामा सरिखेतको खाेरियामा छरेकाे मासकाे दाल, काेगटेको सिस्नोकाे पिठाे, मार्खुको मकैकाे खाेस्टाबाट बनेकाे चकटी लगायतका स्थानीय उत्पादनको प्रदर्शनी रहने छन् ।
संघकाे २० ओै स्थापना दिवसकाे अवसरमा हुने प्रदर्शनी तथा मेलामा विविध कार्यक्रम समेत हुनेछ । १६ गते हाजिर जवाफ प्रतियाेगिता, १७ गते सहकारी शिर्षकमा वक्तृत्वकला तथा +२ स्तरीय सहकारी निबन्ध प्रतियाेगिता र १८ गते नवनिर्मित भवनकाे उद्घाटन तथा मेलाकाे समापन गरिने श्रेष्ठले जानकारी दिइन ।
संघको आफ्नै भवन
जिल्ला बचत तथा ऋण सहकारी संघको २ तले भवन निर्माण गरिएको छ ।
१८ पुसमा संघकाे स्थापना दिवसकाे दिन नवनिर्मित भवनकाे बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डाेरमणि पाैडेलले उद्घाटन गर्ने भएका छन् । संघले १ कठ्ठा १४ धुर जग्गामा दुई तले भवन निर्माणकाे लागि २ करोड ५ लाख खर्च भएको जनाएको छ ।
उक्त भवन निर्माणको लागि बागमती प्रदेश सरकारले ३३ लाख, बकैया गाउँपालिकाले ७ लाख, मनहरी गाउँपालिकाले ५ लाख, इन्द्रसराेवर गाउँपालिकाले २ लाख र थाहा नगरपालिकाले २ लाख रुपैया सहयाेग गरेको अध्यक्ष श्रेष्ठले बताइन् ।

