मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्ग पुनर्निर्माण सकिएको १७ महिनापछि स्थानीय सरकारलाई हस्तान्तरण गर्दै सर्वसाधारणको लागि खुला गरिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा न १५ मा पर्ने चुरियामाई सुरुङमार्ग पुनर्निर्माण कार्य २०८० साउन २२ गते सकिएको थियो । सुरुङमार्ग पुनर्निर्माणको लागि २०७८ साउन १४ गते शिलान्यास गरिएको थियो । आइतबार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई जोड्न चन्द्र शम्मशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्ग पुनर्निर्माणपछि अब सर्वसाधारणले तोकिएको शुल्क तिरेर वारपार गर्न पाउने छन् ।
प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणी पौडेल, हालका मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितीमा भौतिक पूर्वाधार मन्त्री अमन मास्केले हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामालाई चावि हस्तान्तरण गरे । सुरुङ मार्गको भने प्रदेशको पहिलो मुख्यमन्त्री पौडेलले रिवन काटेर उद्घाटन गरेका थिए । यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको हो ।
ऐतिहासिक यो यो सुरुङ मार्गमा २०२० सालसम्म सवारी नै आवतजात हुने गर्दथे । अहिले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको पौडेलले बताए । “यो सुरुङमार्ग पर्यटकीय र अध्ययन थलो हो” पौडेलले भने “अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको थियो ।”
चुरियामाई सुरुङ विक्रम संवत १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ । जसको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको थियो ।
माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक “दी हिमालयन किंडम अफ नेपाल”मा पनि चर्चा गरेका छन् ।
राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न समस्या थियो । चुरे पर्वत फोरेर घुमाउरो बाटो बनाउनुको विकल्पमा यो सुरुङमार्गबाट सीधा मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको तत्कालिन सदरमुकाम भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।
प्रजातन्त्र पुनस्र्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यस बीचमै यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । २०७२ सालको भुकम्पले यसका अझै बढी क्षति गराएपछि सुरुङमार्ग गुमानाम बन्दै आएको थियो । प्रदेश सरकारले त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको हो ।
पुरानो सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो । तर मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो । यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुनर्निर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गरिएको हो ।
३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७७ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ देखाउँदै दुई पटक म्याद थपेर काम गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका र बारा जिल्लासम्म सीमा जोडिने चुरियामाई मन्दिरमा बनाइएको सुरुङ भग्नावशेष थियो । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको पालामा ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण थालिएको थियो । २०७८ साउनमा थालिएको पुनर्निर्माण २०८० जेठमै वारपार गर्न मिल्ने बनाइएको थियो । १०६ वर्ष पुरानो सुरुङ पुनर्निर्माणसँगै एक अर्को इतिहास सुरु भएको प्रदेशका मुख्यमन्त्री बहादुरसी लामाले बताए ।
कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले भारतीय सिमानाको नजिकै रहेको सुरुङ मार्ग पर्यटकीय संभावना रहेको बताए । हस्तान्तरणपछि सुरुङलाई पर्यटकीय स्थलको रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले सहकार्य र समन्वय गर्ने पौडेलले बताए ।
अवलोकन शुल्क कति ?
उपमहानगरपालिकाले चुरियामाई सुरुङलाई पर्यटकीय स्थलका रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई ५० रुपैयाँ र विदेशीलाई १२० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ । विद्यार्थीहरुलाई २० रुपैयाँ प्रवेश शुल्क लाग्ने छ । पाँच वर्ष मुनिका बालबालिका, अपा· र जेष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।
चुरियामाई सुरुङ सञ्चालन कार्यविधि बनाएर उपमहानगरले पर्यटकीय स्थलको रुपमा विकसित गर्नेगरी अगाडि बढेको उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई नै सञ्चालनका लागि हस्तान्तरण गर्न सक्ने कार्यविधि नगरपालिकाले बनाएको छ ।
राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इञ्जिनियर डिल्लीजंग थापाले सुरुङमार्ग निर्माण गरेका थिए । नेपाली प्रविधि प्रयोग गरेर थापाले सुरुङमार्ग निर्माण गराएका थिए । करिब ५ सय मिटर लामो सुरुङ हुँदै मकवानपुरतर्फबाट प्रवेश गरेर बारा पुगिन्थ्यो । त्यतिबेला भारतबाट भीमफेदी हुँदै काठमाडौं पु-याउने साना सवारीसाधन ल्याउन सुरुङ बनाइएको थियो ।

