मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ माछा प्लान नजिकै सवारी दुर्घटानमा हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
शनिबार बेलुका माछा प्लानस्थित कान्तिलोकपथ सडक खण्डमा चौघडा तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको प्र.३-०२-०० ८ प २६२८ नम्बरको मोटरसाईकल र हेटौडा बजारबाट चौघडा बजार तर्फ जादै गरेको बा.प्र.०३-००५ प ५१६९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा स्कुटर चालक मकवानपुर हेटौडा १७ हटिया बस्ने ३४ वर्षीय रोहित तामाङ गम्भीर घाइते भएका छन् । उनकाे टाउको र दाहिने खुट्टामा चोट लागेकाे छ । उनलाई थप उपचारको लागी सीएमसी नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएकाे प्रहरीले जनाएकाे छ । यसैगरी स्कटर पछाडी सवार रोहीतकी श्रीमति २८ वर्षीय रमिला तामाङको दाहिने खुट्टामा चोट लागि घाइते भएकी छिन् भने निजहरुकाे छोरा ८ वर्षीय रोजन तामाङ मुख र दाहिने खुट्टामा चोट लागेकाे छ । दुवै जनाकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।
यस्तै मोटर साइकल चालक हेटौडा ३ बसामाडी बस्ने ३५ वर्षीय गोपी तामाङको टाउको र आँखाको भागमा चोट लागि घाइते भएका छन् । प्रहरीका अनुसार उनकाे अवस्था मध्यम रहेकाे छ । मोटर साइकल पछाडी सवार हेटौडा १९ नेवारपानी बस्ने ३० वर्षीय बिष्णु प्रजा घाइते भएका छन् । उनकाे बाँया आँखाको निधार, मुख र दाहिने हातमा चोट लागेकाे छ भने अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुकाे हेटौंडा अस्पतालमा उपचार भइरहेकाे बताइएकाे छ ।
२६२८ नम्बरको मोटरसाईकल र ५१६९ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएकाे समयमा चौघडा तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ७ ख ४२९५ नम्बरको ट्रकको (ट्रेलर खालको) बम्परको भाग मुनी २६२८ नम्बरको मोटरसाईकल परेकाे थियाे । मोटर साइकल, स्कुटर र ट्रक तथा ट्रक चालक हेटौंडा १३ पदम पोखरी बस्ने अन्दाजी २९/३० वर्षीय सुकराम घलान जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ ।

