मकवानपुर । देशमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आंशिक बदलीको अवस्था रहेको छ ।
पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै अन्य स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
यस्तै नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको असर आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा देखिने छ । उक्त असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौसम्म आइपुग्ने मौसमविद् बताउँछनन् । “पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौमा पनि थोरै बदली भई छिटपुटसम्म वर्षा हुनसक्ने छ, चिसो पनि केही बढ्ने छ ” मौसमविद शान्ति कंडेलले भनिन् ।
प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसको सामान्य असरमात्रै पूर्व तथा मध्यतिर पर्ने जनाइएको छ । यसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने देखिन्छ ।

